अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

वासिङटन : क्यानडा र अमेरिकाका व्यापार मध्यस्थकर्ताहरूबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमत भएका छन् । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा नयाँ सम्झौताको नाम अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए । हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले संयुक्त वक्तव्य पनि जारी गरेका छन् ।

एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा छ सातादेखिको तीव्र छलफलपछि अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोवास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा वार्षिक १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ । क्यानडाले आफ्नो दुग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्नेछैन ।

यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एनरीक पीना नीतोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनुअगावै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ । अमेरिकी कानुनबमोजिम यो सम्झौतापत्रमा हस्ताक्षर हुनु ६० दिनअघि अमेरिकी कंग्रेसमा प्रस्तुत गर्नुपर्छ ।

अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरूपमा अगाडि बढाउने विषयमा गत अगस्तमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार वासिङटनमा रहेर विवादित विषयमा छलफल गरिरहेका छन् ।

ट्रम्पले क्यानाडाली अधिकारीहरूको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहेका छन् र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए । यद्यपि क्यानडाका अधिकारीले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नरहेको भन्दै वक्तव्य दिएका थिए । अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिए ।

नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियमहरू कडा बनाइएको र डिजिटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ । यसबाहेक, व्यापार कानुन कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्युटी–फ्री बजारको फाइदा लिनबाट अरू मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको अमेरिकी अधिकारीको भनाइ छ ।

नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ तर स्टील र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.