बैतडीका बजारमा म्याद नाघेका सामग्री

बैतडीका बजारमा म्याद नाघेका सामग्री

बैतडी : जिल्लाका सडकसँग जोडिएका पसलहरूमा प्रशस्त मात्रामा म्याद सकिएका सामग्री भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पसलहरूमा अनुगमन पसलैपच्छिे म्याद सकिएका सामग्री भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले बताए।

उनले भने, ‘हामीले सदरमुकाम मात्रै नभएर सदरमुकाम बाहिरका बजारहरूमा पनि अनुगमन गर्‍यौँ। सडकसँग जोडिएका पसलहरूमा समेत प्रशस्त मात्रा म्याद सकिएका अखाद्य वस्तुहरू भेटिएका छन्।’

महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डका बजारहरूमा अनुगमन गर्दा ५० हजार बराबर म्याद नाघेका सामग्री फेला परेका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। ‘हामीले आइतबार मात्रै डिलाशैनी गाउँपालिकाको वडा नं ५ र ६ तथा दोगडाकेदार गाउँपालिकाका विभिन्न ठाउँमा बजार अनुगमन गर्दा म्याद सकिएका सामग्री बरामद गर्‍यौँ। बरामद गरेका सामग्री नष्ट पनि गरिसकेका छौं।’

सडक छेउकै पसलहरूमा म्याद नाघेका सामग्री पाइनुले ग्रामीण क्षेत्रमा झन् समस्या हुन सक्ने देखिएको छ। उपभोग्य सामग्रीको बारेमा उपभोक्ता समेत सचेत नहुँदा र अनुगमन पनि नियमित नहुँदा समस्या हुने गरेको छ। ‘बढी जसो भारतीय बजारबाट आयात गरिएका सामग्रीहरू म्याद सकिएका भेटिएका छन्। फिर्ता पनि नहुने भएकाले भारतीय सामग्री बढी जसो म्याद सकिएका भेटिएका हुन्’, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘बजारको अवस्था नाजुक देखियो। सबै जसो पसलमा म्याद सकिएका सामग्री भेटिए। उपभोक्ताहरूले पनि सामग्री किन्दा मिति हेर्ने बानी विकास गर्नु आवश्यक छ।’

बजारमा पिठो, चिउरा, बिस्कुट, चियापत्ति, पेय पदार्थ, चाउचाउ, तेल, मसलासहित शृंगारका सामग्री पनि म्याद नाघेका भेटिएका छन्। सडक छेउका साना पसलदेखि ठूला खाद्य स्टोरहरूबाट अखाद्य वस्तु बिक्री हुने गरेका हुन्। समय समयमा बजार अनुगमन नहुँदा पनि व्यापारीहरुले मनोमानी तरीकाले सामग्री विक्री गर्ने गरेका छन्।

पसलैपिच्छे म्याद सकिएका वस्तु खुलमखुला बिक्रीवितरण हुने गरे ता पनि स्थानीय प्रशासनले म्याद नाघेका बस्तु बिक्री गर्नेलाई कारबाही गर्न सकेको छैन। म्याद नाघेका वस्तु भेटिएका सामग्री जफत गरेर जलाउने र आइन्दा यस्ता अखाद्य वस्तु बिक्री नगर्न चेतावनी दिन बाहेक अन्य कारबाही गर्न सकेको छैन्।

‘प्रत्येक वर्ष चाडपर्वको बेला मात्रै अनुगमन गर्ने र म्याद सकिएका सामग्री पाइएका पसलेहरूलाई यस्तो नगर्न भनेर निर्देशन मात्रै दिन्छन्’, दशरथचन्द नगरपालिका १ का अमरबहादुर टेरले भने, ‘अखाद्य वस्तु विक्री गर्नेलाई कानुनी कारवाही नगर्दा सम्म म्याद सकिएका सामग्री विक्री गर्ने रोकिने छैन। बजार अनुगमन कार्यलाई पनि नियमित रुपमा अघि बढाउन आवश्यक छ।’

पसलहरुमा अखाद्य सामग्री विक्रीका साथसाथै व्यापारीहरूले मूल्य सूचि समेत नराखेको पाइएको छ। धेरैजसो पसलहरुमा मूल्यसूचि, साइनबोर्ड नराखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। उनले भने ‘पसलहरू दर्ता नभएका पाइएका छन्। यसका लागि स्थानीय सरकारले पनि पहल गर्नु आवश्यक छ।’

पहाडी क्षेत्रमा म्याद सकिएका सामग्रीहरू विक्री वितरण गर्नका लागि तराइका जिल्लाहरूबाट पठाइने गरिएको छ। ‘म्याद सकिनै लागेका सामग्री पहाडका व्यापारीकहाँ विक्री गर्न पुर्‍याइन्छ। व्यापारीहरूले सामग्रीको म्याद हेर्ने चलन छैन्। यसले समस्या निम्त्याएको छ।’

जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले भने, ‘उपभोक्ता अधिकारका बारेमा व्यापारी र उपभोक्ता दुवैलाई ज्ञान हुनु जरुरी छ। उपभोक्ता अधिकारका बारेमा थाहा नहुँदा सम्म समस्या भइरहन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.