कर्णालीबासीलाई मुख्यमन्त्रीको आग्रह : पालको पर्खाइमा नबस्नू
कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन्। प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया गर्न शुक्रबार कालिकोट आएका मुख्यमन्त्री शाहीले जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
कर्णाली सरकारको गति एकातिर, चालू आर्थिक वर्षको बजेट अर्कातिर भएको बताउँदै उनले बजेट ठूला आयोजनामा केन्द्रीत गर्न नसकिएको बताए। उनले भने, 'बजेटलाई केन्द्रीत गरेर परिणाममुखी विकास गर्ने लक्ष्य थियो। पहिलो वर्ष चुनाव जितेर आएका सांसदले चुनावी वाचा कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीले कडाई गरिदिनुस् भने। अहिलेको बजेट पुरानै शैलीमा बिनियोजन भएको छ। यसलाई पारदर्शी रुपमा कार्यान्वयन गर्न चुनौती छ। सबैले सहयोग गरौँ। प्रदेश सरकारले विकास र सुशानलाई पहिलो प्राथमिकता दिएको छ।'
उनले चालु आर्थिक वर्षको जस्तै अर्को वर्ष बजेट नआउने बताए। उनले भने, 'अर्को वर्षदेखि बजेट परिणाममुखी बनाउँछौं, यो वर्ष सरकारले सपना देख्ने वर्ष, कानुन निर्माण वर्ष र अध्ययन वर्षका रुपमा लिएको छ।'
सबैले कर्णालीको समृद्धिका लागि सपना देख्न र विकासका लागि प्रदेश सरकारलाई सुझाव दिन पनि उनले आग्रह गरे। उनले सरकारले कर्णालीका १० जिल्लाको क्षेत्रफल, जनताको बसोबास, आवश्यकता पहिचान गरिरहेको समेत जानकारी दिए।
उनले कर्णालीमा छरिएर रहेका हरेक बस्तीमा विकास पुगाउन निकै समस्या रहेको बताउँदै एकिकृत बस्ती विकासका लागि सरकारले आवश्यक तयारी अगाडी बढाएको बताए। उनले भने, 'अहिलेका छरिएर रहेका बस्तीमा विकासका पूर्वाधार पुगाउन सरकारसँग लगानी छैन्।कर्णालीमा थप सडक, बत्ती, क्याम्पस र अस्पतालबारे थप अध्ययन सुरु गरिएको बताए।
उनले कर्णाली परनिर्भताको शिकार भएर हात खुट्टा भएकाहरु पनि अपांगता भएको बताए। उनले भने, 'बाबु मरेर घाटमा पुग्दासम्म पनि हामी बाबुकै भरमा बसेका छौं। अब युएनको पालको पर्खाइमा कर्णालीबासी बस्नु हुँदैन। हामीसँग ढुंगा, माटो, खर र काठ छँदैछ। त्यसैलाई प्रयोग गरेर सुन्दर घर निर्माण गर्नुपर्छ। ढुंगा, माटो, खर, काठ, हात खुट्टा भएर पनि अहिले घरबारबिहीन भएका छौँ।यो राम्रो होइन।'
उनले कर्णालीमा गुणस्तरीय काम गर्नका लागि विकासी योजनाका उपभोक्ता समितिले समेत धरौटी राख्ने व्यवस्था मिलाउन लागेको बताए। स्टिमेट अनुसार उपभोक्ता समितिले काम नगरे धरौटी जफत गरिने उनले बताए।
विकासी योजनाका बिचौलियाको पछि लागेर भेडा पाल्ने किसानको जाँगर समेत मरेको बताउँदै अब प्रदेश सरकारले विकासमा अनियमितता रोकी भेडापालक किसानलाई उत्साहित गर्ने बताए। उनले सरकारको बजेट कसैको खल्तीमा जान नदिइ सरकारकै कोषमा रहने गरी काम गरिने बताए।
कार्यक्रममा कालिकोटका सांसद कुर्मराज शाहीले प्रदेश सरकारले नयाँ घरबार बनाउनुपर्ने चुनौतीका कारण विकासले गति लिन नसकेको बताए। उनले मुलुकले विगतमा विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा विकास निर्माण पछाडी परेको बताउँदै अब आर्थिक क्रान्ति र मुलुकको समृद्धि अपरिहार्य रहेको बताए।
प्रतिक्रिया दिनुहोस !