एसिडले अनुहार खायो, सरकारले न्याय

एसिडले अनुहार खायो, सरकारले न्याय

हेटौंडा : आँखाको चेपबाट अनायसै आँसु झर्दा उनी मुर्छित हुन्थिन् । एसिडले जलेको अनुहारमा आँसु पर्दा पनि नुन चुक छर्केजस्तो पीडा हुन्थ्यो । जीवनभरलाई पीडा दिने घाउ बोकेर न्यायको खोजीमा भौतारिरहेकी ती युवती एक्लै बस्दा भक्कानिन्छिन् । आँसु झर्दा अनुहार पोल्न त छाड्यो तर उनको मन कति जलेको छ, व्यक्त गर्न सक्दिनन् ।

अनायसै झरिदिने आँसु रोक्न आजभोलि उनी आफंैलाई सम्हाल्दैछिन् । तर मान्छेकै अनुहारमा आएको एक राक्षसले हजारौं सपना हत्या गरेको त्यो दिन जीवनमा उनले कहिल्यै भुल्न सक्दिनन् । जीवनमा संघर्ष गर्नुपर्छ भन्ने त उनलाई थाहा थियो तर किशोर अवस्थामै मृत्युसँग संघर्ष उनले सोचेकी पनि थिइनन् ।

भर्खरै उच्च शिक्षातर्फ पाइला टेक्दै गरेकी हेटौंडाकी बिन्दवासिनी कंसाकारको मनमा हजारौं सपना थिए । ती सपनाको पाना कोर्दै गरेकी उनलाई थाहा थिएन सुन्दर सपनाहरूका बीचमा पनि थुप्रै काँडा हुन्छन् । साढे पाँच वर्षअघि एसिड आक्रमणमा परी मृत्युको मुखबाट बचेकी कंसाकार सुन्दर अनुहार सपनीमा देख्छिन् तर वर्तमान पीडादायी छ । जीवनमा कति दुःख आए गए तर हिम्मतवाली कंसाकारले आफैसँग हार खाएकी छैनन् । एसिडले अनुहार जलेपछि दुई वर्षसम्म त उनी धक फुकाएर रुन पनि सकिनन् ।

‘आँखाबाट बगिदिने आँसुले चहराइरहेको अनुहारको घाउमा नुनचुक छर्केको महशुुस हुन्थ्यो’, उनले विगतको पीडा सम्झिइन् । कसैको प्रतिशोधमा धेरै महिला एसिडबाट जले होलान् । तर देशमा एसिड आक्रमणको घटना सार्वजनिक भएको यो पहिलो घटना थियो ।

२०६९ सालमा हेटौंडामै भारतीय युवा राज केशरीले एसिड आक्रमण गरेर उनलाई गम्भीर घाइते बनाएका थिए । एसिड आक्रमणलगत्तै भारत छिरेका केशरीलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । केशरी हेटौंडामा पसल सञ्चालन गरी बस्थिन् । पछिल्लो समय महिलामाथि एसिड आक्रमणको घटना बढ्न थालेपछि कंसाकार एसिडपीडित महिलालाई साथ दिन विभिन्न अभियानमा संलग्न छन् । साढे पाँच वर्षसम्म पनि सरकारले अपराधी पक्राउ गर्न नसकेपछि उनले आफ्नै पहलमा हेटौंडामा र्‍याली तथा हस्ताक्षर संकलन कार्यक्रम पनि आयोजना गरिन् ।

‘यो देशमा सरकार छ र न्याय पाइन्छ भन्ने मलाई अझै पनि आशा छ’, कंसाकारले सरकारलाई प्रश्न गरिन्, ‘कसैको आवेग र प्रतिशोधमा हामीले जिउँदै जलेर कति दिन बाँच्नुपर्ने हो सरकार ? ’ आफूलाई एसिड आक्रमण गर्ने केशरीलाई भेटेमा उसलाई पनि एसिडको पीडा दिन मन भएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । ‘भान्छामा तरकारी पकाउँदा एक थोपा तातो तेलले पोल्दा त कति पीडा हुन्छ, अनुहारभरि एसिडले पोलिँदा कस्तो पीडा होला ? ’, उनले भनिन्, ‘एसिड आक्रमण गर्नेलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने कुनै पनि नारी सुरक्षित रहँदैनन् ।’ खुलेआम एसिड बिक्री र कमजोर कानुनसँगै फितलो प्रशासनका कारण पीडितले न्याय नपाएको उनको दुखेसो छ ।

कहालीलाग्दो विगत र संघर्षमय भविष्यलाई वर्तमानमै न्याय दिलाउन चाहन्छिन् कंसाकार । तर प्रहरी प्रशासन धाउँदा धाउँदा साढे पाँच वर्ष भइसकेको छ, उनी थाकेकी छन् । ‘तर पनि मेरो मन अझै थाकेको छैन, हरेस पनि खाँदिनँ’, कंसाकारले भनिन्, ‘मलाई जीवनभर पीडा दिनेलाई कारबाही नभएसम्म म चुप लागेर घरमा बस्दिनँ ।’ विवाहको प्रस्ताव अस्विकार गरेपछि केशरीले उनलाई एसिड आक्रमण गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.