राउटे भन्छन् - ‘नीति बनाइदेऊ’

राउटे भन्छन् - ‘नीति बनाइदेऊ’

काठमाडौं : लोपोन्मुख राउटेहरू सरकारसँग आफ्नो जातिको संरक्षण माग गर्न राजधानी आएका छन्। ‘दसैं आयो भनेर खसी र चामल माग्न मात्र आएका होइनौं, हामीलाई बाँच्न सक्ने नीति बनाइदिनु पर्‍यो भन्न आएका हौं’, राउटेको नेतृत्व गरेर आएका ठालू हरिबहादुर शाही भन्छन्, ‘नयाँ प्रधानमन्त्री भएदेखि नै हामीले भेटेर हामीलाई जोगाउने नीति बनाइदेउ भन्न खोजेका हौं। समय नै दिँदैनन्।’

धेरैपल्ट प्रधानमन्त्री केपी ओलीसँग भेटका लागि आउन खोजे पनि समय नै नमिलाइदिएको उनले गुनासो गरे। उनले आफूहरूले नुहाउन र खान नपाएको गुनासो गरे। चिसोमा बस्नु पर्ने भएकाले जनता मर्न थालेको दुखेसो पोखे। ‘हाम्रा जनता मर्न थाले, नुहाउन, खान र जिउभरी लाउन पाउनु पर्‍यो’ उनले भने, ‘जो जान्छन् फोटा मात्र खिच्छन्। केही दिँदैनन्। यहाँ पनि त्यस्तै रैछ।’

उनले काठमाडौंमा समेत नीति बनाउनेभन्दा सबै फोटा खिच्न मात्र आउने गरेको गुनासो गरे। ‘सरकार नै हाम्रो ठाउँमा आउन पथ्र्याे तर हामी नै आएका छौं’, उनले भने, ‘हामी राउटेलाई त खाली दुई मुठी चामल मात्र आयो भन्छन्।’

ठालू हरिबहादुरले मुखियाहरू आउन नसकेको बताए। उनीहरूको साटो आफूहरू आएको बताए। दुई दिन लगाएर उनीहरू काठमाडौं आएको बताए। उनीहरूले उपराष्ट्रपति नन्दबहादुर पुन, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग भेटेका छन्।

 ‘हाम्रा जनता मर्न थाले, नुहाउन, खान र जिउभरी लाउन पाउनु पर्‍यो।’
–राउटे ठालू हरिबहादुर शाही

उनीहरूले पशुपतिनाथ दर्शन गरे। राउटेको बसोवास सुर्खेतको गंगटियामा छ। घटस्थापनामा पूजा गर्नुपर्ने भएकोले मुखियाको साटो ठालू हरिबहादुरको नेतृत्वमा मुखिया मैनबहादुर शाहीका छोरा शिवराज, छोटे मुखिया वीरबहादुर शाहीका छोरा दीपक शाही र सुविराम शाही आएका छन्।

उनीहरू संसद्भवन छेउको सहकारी प्रशिक्षण केन्द्रको गेस्टहाउसमा बसेका छन्। राउटेले भान्जी भन्ने गरेका सत्यदेवी खड्का अधिकारीले प्रधानमन्त्रीसँग भेट गराउन प्रयासरत रहेको जानकारी दिइन्। फिरन्ते राउटेहरू दाङ, सल्यान, सुर्खेत, दैलेखलगायत मध्य र सुदूरपश्चिमी जिल्लामा डुल्ने र अस्थायी बसोवास गर्ने गरेका छन्।

जंगलमा बस्ने राउटेको जनसंख्या १ सय ४५ छ। सुर्खेतबाट उनीहरूलाई लिएर आएका यज्ञबहादुर बुढाले राउटेको अवस्था अत्यन्त कहालीलाग्दो रहेको बताए। ‘जंगलमा चिसोमा बस्छन्, महिला र बालबालिकाको स्थिति अत्यन्त दयनीय छ’, उनले भने। तत्काल राज्यले संरक्षण नगरे राउटे लोप हुने निश्चित रहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.