विर्तामोड फाइनलमा
विराटनगर : झापाको विर्तामोड भेट्रान क्लब प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेष गरेको छ। विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा अर्को झापाली टोली काँकडभित्ता भेट्रान क्लबलाई २-० गोल अन्तरले पाखा लगाउँदै साविक उपविजेता विर्तामोडले फाइनलमा साविक विजेता धरान भेट्रान क्लबसंगको भेट पक्का गरेको हो।
रोमाञ्चक खेलमा छिमेकी टोलीलाई पराजित गर्न सुभाष आङथुपा र नरेन्द्रमणि लिम्बूले गरेको गोल विर्तामोडका लागि पर्याप्त बन्यो। पहिलो हाफ बराबरीमा खेले पनि मध्यान्तरपछि त्यसलाई कायम राख्न नसक्दा काँकडभित्ताको फाइनल यात्रा टुँगियो। ४८ औं मिनेटमा सुभाष आङथुपाले गोल गर्दै विर्तामोडलाई अग्रता दिलाउँदा काँकडभित्ता दवाबमा पर्यो।
गणेशकुमार सुब्बाले सेन्टरबाट ट्याकल गर्दै कर्नर लाइनबाट गरेको क्रसपासलाई आङथुपाले पोष्टको दिशा दिएका हुन्। ६७ औं मिनेटमा नरेन्द्रमणि लिम्बूले गोल थपेर विर्तामोडको जित निश्चित बनाए। नरेन्द्रले २५ यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुम्दा काँकडभित्ताका लागि जितको सम्भावना सकिन पुग्यो।
खेलमा हावी देखिएको विर्तामोडले सुरुवाती चरणमा भने गोल गर्न सकेन। काँकडभित्तालाई दवाबमा राखे पनि गोलको कुनै अवसर सिर्जना गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि आक्रामक बनेको काँकडभित्ताले पोष्ट प्रहारको राम्रो अवसर भने सिर्जना गर्न सकेन।
खेलको ७ औं मिनेटमा लक्पा लामाले गरेको प्रहारमा विर्तामोडका गोलरक्षक बाधक बन्दा काँकडभित्ताले सुरुवाती गोल गर्न सकेन। ५५ औं मिनेटमा हर्क गुरुङले सानो बक्सभित्र दिएको पासमा दिलकुमार कार्कीको प्रहार पनि गोलरक्षकका हातमा पुग्दा काँकडभित्ताले खेलमा फर्कने अवसरको सदुपयोग गर्न सकेन। ६० औं मिनेटमा दिलकुमारको क्रसपासमा रमेश बस्नेत हेडिङ गर्न चुक्दा काँकडभित्ताको हार निश्चित बन्यो।
२२ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले गरेको क्रसपासमा सुभाष आङथुपाको प्रहार पोलमाथिबाट बाहिरिंदा विर्तामोडले गोल गर्नका लागि दोस्रो हाफ कुर्नु पर्यो। पाएका दुईवटा अवसरलाई सदुपयोग गरेको उसले त्यसपछि भने पोष्ट प्रहार गर्न सकेन। खेलको म्यान अफ दी म्याच विर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए।
प्रतियोगिताको फाइनल खेल शनिबार विर्तामोड र धरान भेट्रान क्लबबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन्।
प्रतिक्रिया दिनुहोस !