प्रदूषण गर्ने उद्योग बन्द गराउन माग
![प्रदूषण गर्ने उद्योग बन्द गराउन माग](https://annapurnapost.prixacdn.net/media/albums/Udhog-banda_20181024061719_eU0Rs7KDLz.jpg)
विराटनगर : सुनसरीको दुहवी नगरपालिकामा सञ्चालित दुई उद्योग तत्काल बन्द गर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका छन्। वातावरणीय प्रभाव मूल्यांकन विपरीत ती उद्योग सञ्चालन गरेको भन्दै स्थानीयले तत्काल बन्द गर्न माग गरेका हुन्।
सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत दुहवी नगरपालिका २ मा सञ्चालनको तयारीमा रहेका प्रिमियर स्टिल प्रालि र गीताञ्जली कन्स्ट्रक्सन प्रालिले वातावरणीय प्रभाव मूल्यांकन विपरीत उद्योग सञ्चालन गरेको भन्दै स्थानीयले तत्काल सञ्चालन बन्द गरी वातावरणीय मूल्यांकन गर्नुपर्ने माग गरेका छन्। ११ बुँदे माग अघि सार्दै स्थानीयले प्रदेश १ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसैयतको ध्यानकर्षणसमेत गराएका छन्।
स्थानीयले सरकारबाट ती उद्योग सञ्चालनको स्वीकृति गोप्यरूपमा र दबाबका आधारमा प्रक्रिया नपुर्याइ लिएको आरोप लगाएका छन्। प्रिमियर स्टिल औद्योगिक घरानाका पुनित राठी र सौरभ सारडाले सञ्चालन गरेका हुन्। गीताञ्जली कन्स्ट्रक्सन प्रालिको सञ्चालन दुहवीकै सपन दासले गर्दै आएका छन्। दुवै उद्योगका सञ्चालक कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारको नजिकका मानिएका छन्।
दुहवीका नागरिक अगुवा किशोर विश्वासको नेतृत्वमा उनीहरूले उद्योग बन्द गरी कानुनी प्रक्रिया पुर्याएर सञ्चालन गर्नुपर्ने माग गरेका हुन्। प्रक्रिया नपुर्याई सञ्चालन गरेको उद्योगका कारण स्थानीय स्तरमा ध्वनी ,धुवा“ र धुलोले दुहवीबासी नै प्रभावित भएकाले प्रक्रिया पुर्याउन माग गरेको विश्वासले जानकारी दिए।
गीतान्जली कन्स्ट्रक्सनको प्रदूषण गर्ने र फोहरको दुर्गन्धका कारण घरभित्रसमेत बस्न नसक्ने अवस्था सिर्जना भएको गुनासो स्थानीयको छ। एक अर्ब ४५ करोडको लागानीमा प्रिमियर स्टिल उद्योग नेपाल कै दोस्रो ठूलो स्टिल उद्योगका रूपमा सञ्चालनमा आउन लागेको हो।
वडा नम्बर २ मा रहेको नवीन शिक्षा निकेतन आधारभूत माध्यामिक विद्यालयदेखि एक सय मिटरको दूरीमा स्टिल उद्योग सञ्चालनको तयारी गरेको छ। प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावण मन्त्री जगदिश कुस्यौतले कानुन विपरीत सञ्चालनमा रहेको उद्योगबारे आफू गम्भीर रहेको बताए। उनले दुहवीका स्थानीयले गराएको ध्यानाकर्षणमा छलफल गरेर प्रक्रियागतरूपमा अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)