बढ्दै मधुमेहका बिरामी, कसरी हुन्छ रोकथाम ?

बढ्दै मधुमेहका बिरामी, कसरी हुन्छ रोकथाम ?

कक्षा आठमा अध्ययनरत सुरेश (नाम परिवर्तन) पढाइका साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए। तर, आश्चर्य लाग्ने गरी अचानक उनको दिनचर्या नै बदलिन थाल्यो। शिक्षकले पढाइरहेका बेला पिसाब फेर्न भन्दै कक्षा कोठा बाहिर निस्कन थाले। त्यस सँगसँगै छिनछिनमै पानी पिउनेक्रम पनि बढ्यो। पछि–पछि त घरबाट लगेको पानीको बोतल स्कुल नपुग्दै बाटैमा रित्तिन थाल्यो। दिनभरिमा ५/६ चोटी स्कुलकै धाराबाट बोतल भरेर पानी पिउँथे, उनी। फेरिएको दिनचर्याले वजन पनि क्रमशः घट्दै गयो। बढी नै थकान महसुस हुन थाल्यो। 

एकदिन स्कुलबाट घर आइपुग्दा उनी चाँडो–चाँडो सास लिन थाले। अभिभावकले नजिकैको अस्पतालमा जँचाउन लैजाँदै गर्दा बाटैमा सुरेश बेहोस भए। अस्पतालको इमर्जेन्सीमा पुग्दा पत्ता लाग्यो, सुगर निकै बढेर शरीरमा एसिड उत्पन्न भएको रहेछ। डाक्टरले उनलाई प्रकार १ मधुमेह भएको जानकारी दिन्छन् र तुरुन्तै सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी इन्सुलिन र अन्य उपचार सुरु गर्छन्। उनको बिस्तारै होस आयो। राम्रोसँग सास पनि फेर्न थाले। सुरेशको अवस्था हेर्दा उनलाई अबदेखि जीवनभर इन्सुलिन लिनुपर्ने हुन्छ। अस्पतालका मधुमेह रोग विशेषज्ञले अभिभावकलाई इन्सुलिन लगाउने विधि र खानपानमा गर्नुपर्ने हेरविचारका बारेमा जानकारी दिएर घर पठाएका छन्। सुरेश भन्छन्, ‘अलि ठूलो भएपछि बालबालिकालाई हुने मधुमेहका बारेमा सामाजिक सञ्जालबाट जनचेतना फैलाउँछु।’

४१ वर्षीय मुकेश (नाम परिवर्तन) बैंकर हुन्। बिहान उठ्नेबित्तिकै पूजाआजा गर्छन्। त्यसपछि चियासँगै हल्का नास्ता गर्छन् र केहीबेर मोबाइलमा भुलिन्छन्। त्यसको लगत्तै खाना खाएर मोटरसाइकलमा अफिसतर्फ लाग्छन्। अफिसमा आएका सेवाग्राही सँगसँगै दिनभरमा उनी ५–६ कपसम्म चिया खान्छन्। कामको चाप हेरेर कहिले दिउँसो एक बजे त कहिले ४ बजेट होटलबाट चाउमिन, मम मगाउँछन्। घर पुग्दा ५ बजिसकेको हुन्छ। त्यसपछि केहीबेर उनी मोबाइल हेर्दै सोफामा आराम गर्छन्। शारीरिक परि श्रमको काम खासै नगर्ने हुँदा वजन बढेर ९० किलो पुगेको छ। श्रीमतीले जिम र मर्निङ वाक गर्न सुझाव दिए पनि जाँगर चल्दैन।

अचानक मुकेशको वजन आफैं घट्न थाल्छ। पहिले फिटिङ हुने प्यान्ट अब उनलाई खुकुलो हुन थाल्छ। त्यस सँगसँगै छिनछिनमै प्यास लाग्ने र छिनछिनमै पिसाब फेर्न जानुपर्ने पनि हुन थाल्छ। यी लक्षणहरू देखिँदा पनि मुकेश बेवास्ता गर्छन्। स्वास्थ्य जाँच गराउँदैनन्। त्यसपछि उनले आँखा धमिलो देख्न थाल्छन्। जसले गर्दा उनलाई लेखपढ गर्न र अफिसको काम गर्न पनि अप्ठ्यारो हुन थाल्छ। आँखा जाँच गराउँदा मोतियाबिन्दु भएको थाहा हुन्छ। 

डाक्टरले अप्रेसनको सल्लाह दिन्छन् र अप्रेसन अघि केही जाँचहरू गर्न भन्छन्। तिनै जाँचमा उनको खालीपेटको सुगर २१० र खाना खाइसकेपछि ३१२ देखिन्छ/मधुमेह भएको रिपोर्ट आउँछ।

त्यसलगत्तै मधुमेह र हर्मोन रोग विशेषज्ञ (एन्डोक्राइरोलोजिस्ट) लाई भेट्छन्। डाक्टरले उनलाई प्रकार २ मधुमेह भएको बताउँछन्।

र, केही औषधि र खानपानमा फेरबदलको सल्लाह पनि दिन्छन्। आजकल उनी बिहान उठ्नेबित्तिकै योगा गर्छन्। अफिसबाट आइसकेपछि इभिनिङ वाक जान्छन्। उनी भरसक गुलियो पदार्थ खाँदैनन्। वजन पनि पहिलेभन्दा धेरै नियन्त्रणमा आएको छ। उनी आफूलाई पहिले झैं फुर्तिलो र स्वस्थ भएको महसुस गर्दै छन्।

माथिका यी दुई प्रतिनिधिमूलक घटनाहरू मधुमेह (डायबिटिज/सुगर) सँग सम्बन्धित छन्। सुरेशलाई प्रकार १ (मधुमेह) र मुकेशलाई प्रकार–२ (मधुमेह) लागेको हो। 

कस्तो रोग हो, मधुमेह (डायबिटिज )? 

संस्कृतमा ‘मधु’ भन्नाले मह वा चिनीलाई जनाउँछ भने ‘मेह’ भन्नाले पिसाबलाई जनाउँछ। यस बिमारीमा शरीरमा चिनीको मात्रा बढेपछि पिसाबमा पनि चिनी देखिने भएकाले यसलाई मधुमेह भनिएको हो। शरीरमा इन्सुलिनको उत्पादनमा कमी वा इन्सुलिनको कार्यमा अवरोध हुँदा मधुमेह हुने गर्दछ। 

मधुमेह मुख्यतः चार प्रकारका हुन्छन्। प्रकार–१, प्रकार–२, गर्भावस्थाको मधुमेह र अन्य किसिमको मधुमेह (वंशाणुगत, प्याङक्रयाजको बिरामीले हुने मधुमेह, हर्मोन गडबडिले हुने मधुमेह र औषधिको दुष्प्रभावले हुने मधुमेह )। 

इन्सुलिन भनेको के हो ? 

हाम्रो शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्ने हर्मोन इन्सुलिन हो। इन्सुलिनको उत्पादन प्याङक्रयाज (अग्नाशय) ग्रन्थीमा रहेका बिटा–सेलहरूबाट हुन्छ। सेल (कोशिका) भनेको हाम्रो शरीरको सबैभन्दा सानो एकाइ हो। इँट्टा–इँट्टा जोडेर घर बनेजस्तै हाम्रो शरीर र भित्री अंगहरू पनि खर्बौं सेलहरू मिलेर बनेका हुन्छन्। त्यस्तै सेलहरूमध्ये एक प्याङक्रियाजमा भएको बिटा–सेल पनि हो। प्यानक्रियाज भित्र यी बिटा–सेलहरू अन्य सेलहरूसँग मिसिएर सानोसानो समूह बनाएर बसेका हुन्छन्। जसलाई प्याङक्रयाटिक आइलेट भनिन्छ। 

प्रकार –१ र प्रकार –२ मधुमेह बीच के फरक छ? 

प्रकार १ मधुमेहमा रोग प्रतिरोधात्मक प्रणालीमा त्रुटि हुँदा आफ्नै शरीरको प्याङ्क्रयाजमा रहेको बिटा–सेलहरूविरुद्ध प्रतिक्रियाहरू हुन जान्छ। क्रमशः बेटा–सेलहरू नष्ट हुँदै जान्छन् र शरीरमा इन्सुलिनको उत्पादन घट्दै जान्छ। प्रायः यस प्रकारको मधुमेह २५ वर्षभन्दा कम उमेरमै देखिन्छ। र, यसको उपचारको लागि इन्सुलिन नै इन्जेक्सनमार्फत दिनुपर्ने हुन्छ। 

प्रकार–२ मधुमेहमा इन्सुलिनको उत्पादन ठिकै मात्रामा भए पनि यसको कार्यमा अवरोध हुन्छ र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन। यसको मुख्य कारण मोटोपन, अस्वस्थकर खानपान, व्यायामको कमी, वंशाणुगत समस्या, अनिन्द्रा र मानसिक तनाव हुन। यो धेरैजसो ४० वर्ष पछिको उमेरमा देखिने भए पनि हिजोआज बढ्दो मोटोपनले गर्दा प्रकार–२ मधुमेह २०–२५ वर्षको व्यक्तिहरूलाई पनि देखिन थालेको छ। यसको उपचारका लागि ट्याब्लेट र इन्सुलिन दुवै प्रयोग गर्न सकिन्छ।

मधुमेह कतिको व्याप्त छ ? 

समाजमा प्रायः देखिने मधुमेह भनेको प्रकार– २ मधुमेह हो। मधुमेह भएका ८० प्रतिशतभन्दा बढी व्यक्तिहरूलाई प्रकार –२ मधुमेह नै हुन्छ। भारतमा ११ दशमलव ४ प्रतिशत व्यक्तिलाई मधुमेह छ भने १३ दशमलव ४ प्रतिशत व्यक्तिलाई पूर्व–मधुमेह (प्रि–डायबेटिज) छ। संसारभर लगभग ५३ करोड ६६ लाख लाई प्रकार –२ मधुमेह छ। र यो संख्या आगामी २० वर्षमा ७८ करोड ३२ लाख पुग्ने अनुमान गरिएको छ। 

संसारभरका २० वर्षभन्दा कम उमेर भएका व्यक्तिहरूमध्ये अनुमानित १२ लाख ११ हजार ९ सय जनालाई प्रकार –१ मधुमेह छ।

लक्षणहरू के–के देखिन सक्छन् ? 

मधुमेहको लक्षण सधैं र सबै व्यक्तिमा देखा पर्छ भन्ने ग्यारेन्टी छैन। कुनै लक्षण नहुँदा–नहुँदै पनि कहिलेकाहीँ चेकजाँचमा मधुमेह भएको पत्ता लाग्न सक्छ। 

– तौल घट्नु
– धेरै प्यास लाग्नु
– मुख सुक्खा हुनु 
– धेरैपल्ट पिसाब लाग्नु
– धेरै भोक लाग्नु 
– गुप्तांग वा पिसाबको सङ्क्रमण भइरहनु 
– पिसाब फेरेको ठाउँमा कमिलाहरू देखा पर्नु 
– शरीरमा घाउ–खटिराहरू आइरहनु र चाँडो निको नहुनु
– आँखा धमिलो देख्नु
– धेरै थकान महसुस गर्नु

के–कस्ता जटिलताहरू आउन सक्छन् ? 

मधुमेह नियन्त्रणमा रहेन भने विभिन्न किसिमका जटिलता देखा पर्ने सम्भावना हुन्छ। अनियन्त्रित मधुमेहले हृदयघात, पक्षघात, मिर्गाैलामा खराबी, अन्धोपन, नशाहरूमा असर गर्नेलगायत विभिन्न जटिल समस्या निम्त्याउन सक्छ। तर, मधुमेह नियन्त्रण गरेमा अन्य रोग लाग्नबाट बच्न सकिन्छ। 

प्रकार–१ मधुमेहका चुनौतीहरू: बाल्यकालदेखि वयस्कसम्म

मधुमेह वयस्क व्यक्तिहरूलाई मात्र नभई बच्चा वा किशोर किशोरीहरूलाई पनि हुन सक्छ। प्रकार –१ मधुमेह (टाइप वान डायबेटिज) प्रायजसो २५ वर्ष उमेरभन्दा अघि नै देखापर्छ। यस किसिमको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा नहुने भएकाले यसको उपचारका लागि इन्सुलिन इन्जेक्सन जीवनभर लिनुपर्ने हुन्छ। र, वयस्क व्यक्तिहरूमा प्रयोग हुने मधुमेहका ट्याब्लेटहरू यसमा निस्प्रभावी हुन्छन्।

इन्सुलिन इन्जेक्सन दिनमा ३ देखि ४ पटकसम्म लगाउनुपर्ने हुन्छ। र, इन्सुलिनको असर हुने समयअनुसार खाना–खाजा पनि ठीक समयमा खानुपर्ने हुन्छ। प्रायःजसो दिउँसोको मुख्य खाजाबाहेक अरू १–२ पटक हल्का नास्ता पनि खानुपर्ने हुन्छ। त्यसैगरी समय–समयमा सुगर पनि चेक गरिरहनुपर्ने भएको हुनाले सुगर नाप्ने मेसिन (ग्लुकोमिटर) पनि साथै हुन जरुरी हुन्छ। कहिलेकाहीँ सुगर निकै घट्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा ग्लुकोज पानीमा घोलेर पिउनुपर्ने हुन्छ। यो सबैको व्यवस्था मिलाउन प्रकार–१ मधुमेह भएका बच्चाहरूले स्कुल जाँदा आफ्नो किताब कापीको झोलासँगै इन्सुलिन, ग्लुकोमिटर, ग्लुकोज, पानी, खाना–खाजाको झोला पनि बोक्नुपर्ने हुन्छ। भर्खर–भर्खर आफ्नो बच्चालाई प्रकार–१ मधुमेह हुँदा इन्सुलिन कसरी लगाउने, घरमा इन्सुलिन कसरी भण्डारण गर्ने, यात्रा गर्दा इन्सुलिन कसरी लैजाने, सुगर कसरी चेक गर्ने, सुगर घडबड हुँदा इन्सुलिनको डोज कसरी मिलाउने, खानाको सन्तुलन कसरी मिलाउने, स्कुल वा खेलकुदमा पठाउँदा के सावधानी अपनाउने जस्ता थुप्रै कुराहरू अभिभावकले सिक्नुपर्ने हुन्छ।

बच्चालाई जीवनभर इन्सुलिन इन्जेक्सन लगाउनुपर्ने हुँदा कतिपय अभिभावकलाई चिन्ता, तनाव हुनु स्वाभाविक हो। आफ्नो बच्चाको भविष्यको चिन्ताले जो कोहीलाई पिरोल्छ। धेरै हेरचाह र निगरानी गर्नुपर्ने र उपचारको आर्थिक भार र आफूहरूले एकैचोटी धेरै कुराहरू सिक्नुपर्ने अवस्थाले अभिभावकहरूमा भावनात्मक परिवर्तन आउँछ। कतिपय अवस्थामा त अभिभावकलाई नै डिप्रेसन हुने सम्भावना पनि रहन्छ। कतिपय अभिभावकले आफूले इन्सुलिन इन्जेक्सन ठीक तरिकाले नदिएको हुनसक्ने र घर बाहिर पठाउँदा सुगर घटबढ हुनसक्ने डरले गर्दा आफ्नो बच्चालाई धेरै महिनासम्म पनि स्कुल नपठाउने गरेको पनि पाइएको छ। सही मार्गदर्शन नपाउँदा कहिलेकाहीँ अभिभावकले इन्सुलिन बन्द गरेर अन्य उपचारतिर लाग्दा बच्चाको स्वास्थ्य अवस्था जटिल पनि हुने गरेको छ। यस्तो अवस्थामा विशेषज्ञको उचित परामर्श र समान बिरामी भएका अरू व्यक्तिहरू सँगको चिनजानले पनि धेरै सजिलो बनाउने गरेको छ।

प्रकार–१ मधुमेह समाजमा धेरै व्यापक नहुने भएकाले स्कुलमा शिक्षक शिक्षिकाहरूलाई पनि यसबारे धेरै थाहा नहुन सक्छ। कहिलेकाहीँ बच्चालाई उसको समयमा खाजा खान समय उपलब्ध नहुने, सुगर घटेको लक्षणहरूको पहिचान नहुने, साथीहरूले गिज्याउने, खेलकुदमा भाग लिन भेदभाव हुने र परीक्षा हलभित्र खाना वा इन्सुलिन लान नदिने जस्ता कुरा पनि हुने गरेका छन्। शिक्षक शिक्षिकालाई पनि बच्चाहरूमा हुने यो रोगबारे जानकारी गराउनु आवश्यक छ। यसले अभिभावकमा स्कुल पठाउँदा बच्चाहरू लाई जटिलता आउँछ कि भन्ने आशंका पनि कम हुन्छ। र, बच्चाको वृत्ति विकासमा पनि मद्दत मिल्छ। त्यसैगरी पारिवारिक जमघट, विवाह–व्रतबन्ध, उच्च शिक्षाका लागि अर्को सहर वा विदेश जाने इच्छा हुँदाहुँदै पनि अभिभावकहरूले केही जटिलता आइहाल्छ कि भन्ने डरले पठाउन नमान्ने गरेको पनि पाइएको छ। यदि व्यक्तिले प्रकार–१ मधुमेहको विभिन्न आयामहरूलाई राम्रोसँग बुझेको छ, आफ्नो खानपान र जीवनशैली अनुरूप इन्सुलिनको मात्रा मिलाउन सक्षम छ, कम सुगरको लक्षणलाई पहिचान गर्न र त्यसको व्यवस्थापन गर्न जान्दछ भने ऊ घर बाहिर रहे पनि सुगरलाई नियन्त्रणमा राख्न सक्छ। प्रकार–१ मधुमेह भएका बच्चाहरूलाई उच्च शिक्षाको लागि प्रोत्साहन गर्नु अत्यन्त आवश्यक छ। 

त्यसैगरी विवाहको बेला कतिपयले मधुमेह रोग लुकाउने गरेको पनि पाइएको छ। साथै प्रकार–१ मधुमेह भएका व्यक्तिले पनि अरू जस्तै सामान्य वैवाहिक जीवनयापन गर्न सक्छन् र सन्तान जन्माउन सक्छन् भन्ने जनचेतना फैलाउनु पर्ने आवश्यक छ।

जसले मधुमेह हुँदाहुँदै उच्च सफलता पाए

सन्तान वा आफूलाई मधुमेह छ भन्दैमा आत्तिनु पर्दैन। मधुमेह हुँदाहुँदै पनि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सफलता हासिल गरेर विश्वविख्यात हुन सफल भएका छन्। भारतीय क्रिकेटर हरभजन सिंह र युवराज सिंह, पाकिस्तानी क्रिकेटर वासिम अक्रम र मिस अमेरिका (१९९९) निकोली जोन्सन आफूलाई प्रकार–१ मधुमेह हुँदाहुँदै पनि आफ्नो क्षेत्रमा उच्च सफलता हासिल गरेका व्यक्तित्वहरू हुन्। 

आधुनिक उपचार, स्टेम सेल थेरापी 

मधुमेहको अर्को महत्वपूर्ण आधुनिक उपचार पद्धति हो, स्टेम सेल थेरापी। यो अनुसन्धानकै क्रममा रहे पनि यसका परिणामहरू निकै उत्साहजनक छन्। स्टेम सेल हामी सबैको शरीरमा हुने एक विशेष प्रकारको सेल हो, जुन आवश्यक परेमा शरीरको विभिन्न अंगको सेलमा परिणत हुने क्षमता राख्द छ। स्टेम सेलहरू मुख्यतः भ्रुण, बोनम्यारो वा बोसोबाट लिइन्छ। र, शरीरमा इन्जेक्सनमार्फत वा पेटमा सानो चिरा पारेर राखिन्छ। त्यसपछि स्टेम सेलहरू प्याङक्रयाजको इन्सुलिन बनाउन सक्ने बिटा सेल जस्तै सेलहरूमा परिणत हुन्छन् र इन्सुलिन बनाउन थाल्छन्। सुरुवाती अनुसन्धानहरूमा स्टेम सेल थेरापीपश्चात् मधुमेह नियन्त्रण हुने र इन्सुलिनको डोज घट्ने भएपनि दीर्घकालीन रुपमा इन्सुलिनचाहिँ लिइरहनुपर्ने देखिएको थियो। तर, हालै प्रकाशित अनुसन्धानमा नवीनतम प्रविधिको स्टेम सेल थेरापीपश्चात् एकजना प्रकार –२ मधुमेह भएका र एकजना प्रकार १ मधुमेह भएका व्यक्तिमा बिना इन्सुलिन पनि मधुमेह राम्रो नियन्त्रण भएको देखिएको छ। अरू अंग प्रत्यारोपण जस्तो स्टेम सेल कुनै मृत शरीरबाट लिइँदैन। यसको प्रयोगका लागि ठूलो अप्रेसन पनि गरिरहनुपर्दैन। र, स्टेम सेल थेरापीपश्चात् दीर्घकालीन रूपमा दबाइ सेवन गरिरहनु पनि नपर्ने भएकाले राम्रो नतिजा देखिएमा भविष्यमा यो उपचार निकै लोकप्रिय हुने देखिन्छ।

अनियन्त्रित मधुमेहले हृदयघात, पक्षघात, मिर्गाैलामा खराबी, अन्धोपन र अरू थुप्रै समस्याहरू ल्याउने भएकाले यसको प्रभावकारी उपचारको खोजी तीव्र रूपमा भइरहेको छ। आधुनिक किसिमका दबाइ र इन्सुलिनहरूको खोजी सँगसँगै मधुमेहको निराकरणको उपायबारे पनि तीव्ररूपमा अनुसन्धान भइरहेको छ। प्रारम्भिक परिणामहरू ज्यादै उत्साहजनक भएकाले अब चाँडै नै मधुमेह निराकरणको उपाय भेटिने सम्भावना बढ्दै गएको छ। 

नीतिगत तहबाट के गर्नुपर्छ ? 

अशिक्षा र आर्थिक विपन्नताका कारणले मधुमेह भएका बिरामीको उपचारमा पहुँच पुगेको छैन। त्यसैले संघीय, प्रादेशिक र स्थानीय सरकारका साथै गैरसरकारी र निजी क्षेत्रले मधुमेहको महामारी हुन नदिन जनचेतना फैलाउनुपर्छ। 

नेपालमा प्रकार–१ मधुमेहको स्तरीय उपचारमा सबै मधुमेह प्रभावित बालिबालिकाको पहुँचमा छैन। सस्तो मूल्यमा नियमित इन्सुलिन र प्रयोगशाला जाँच (ल्याब टेस्ट) को व्यवस्था उपलब्धता छैन। यसकोलागि स्वास्थ्य मन्त्रालयसँगै सरकारको पनि ध्यान जानु आवश्यक छ।  

(डा. ढकाल वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ हुन्)

मधुमेहबाट छुटकारा पाइन्छ त ? 

केही वर्षअघिसम्म पनि मधुमेहलाई कहिल्यै निको नहुने र नियन्त्रण मात्र गर्न सकिने बिमारीको रूपमा लिइन्थ्यो। त्यही अनुरूप (औषधि दबाइ) र इन्सुलिन जीवनभर लिइरहनुपर्ने अवस्था थियो। तर, अहिलेको आधुनिक उपचार पद्धतिबाट मधुमेहको दबाइ र इन्सुलिनबाट छुटकारा पाउन सम्भव भएको छ। यसका लागि धेरै नै प्रचलित उपचार पद्धति ‘लो केलोरी डाइट’ हो। यसमा बिरामीलाई डाक्टरको प्रत्यक्ष निगरानीमा निकै कम क्यालोरी भएको खाना दिइन्छ र तौलकम गराइन्छ। यसरी तौल कम हुँदा प्याङक्रयाजमा भएको बोसोको मात्रा घट्द छ। र प्याङक्रयाजले पहिलेको भन्दा बढी इन्सुलिन उत्पादन गर्न थाल्द छ। त्यसैगरी कलेजोमा पनि बोसोको मात्रा घट्द छ र बोसोले गर्दा इन्सुलिनको काममा हुने अवरोध घटेर जान्छ। र, इन्सुलिनले अझै राम्रोसँग काम गर्न थाल्दछ। यसरी इन्सुलिनको उत्पादन र कार्य दुवैमा वृद्धि हुँदा शरीरमा चिनीको मात्रा कम हुँदै जान्छ। बिस्तारै दबाइ (औषधि)बन्द गर्न सम्भव हुन्छ। यस्तो अवस्थालाई मधुमेहबाट मुक्ति वा मधुमेहको निराकरण नभनी ‘डायबेटिज रेमिसन’ भनिएको छ। किनभने मधुमेहको उपचार बन्द भएपछि यदि अस्वस्थकर खानपान, व्यायामको कमी, बढ्दो मोटोपन, अनिद्रा र मानसिक तनावको समस्या भयो भने फेरि दबाइ सुरु गर्नुपर्ने अवस्था आउन सक्दछ। डायबेटिज रेमिसन अहिलेलाई प्रकार–२ मधुमेह भएका व्यक्तिहरूमा मात्रै सम्भव भएको छ। र, अन्य प्रकार का मधुमेह (प्रकार १ मधुमेह, मोनोजेनिक मधुमेह) मा यो सम्भव भएको छैन।

प्याङक्रयाज प्रत्यारोपण पनि मधुमेह नियन्त्रणका लागि एक प्रभावकारी उपचार पद्धति हो। यसमा मृतः व्यक्तिको शरीरबाट प्यानक्रियाज निकाली मधुमेह भएको व्यक्तिको शरीरमा प्रत्यारोपण गर्ने गरिन्छ। यसरी प्रत्यारोपण गर्दा प्रत्यारोपण गर्न लागिएको प्यानक्रियाज र मधुमेह भएको व्यक्ति को शरीर एकआपसमा म्याच हुनु आवश्यक छ। त्यसो नभएमा प्रतिरोधि प्रतिक्रिया सुरु भई प्रत्यारोपित प्याङक्रयाजले काम नगर्न सक्छ। म्याच भएकै प्याङक्रयाज प्रत्यारोपण गर्दा पनि प्रत्यारोपित प्याङक्रयाजलाई जोगाउनका लागि जिन्दगीभर रोग प्रतिरोधात्मक क्षमतालाई दबाउने औषधिको सेवन गरिरहनुपर्ने हुन्छ। यी औषधिहरूले गम्भीर नकारात्मक असर गराउने सम्भावना हुने, प्रत्यारोपणका लागि ठूलो शल्यक्रिया गर्नुपर्ने र एक जना मृतः दाताको आवश्यकता पर्ने भएकाले यो उपचार पद्धति कम लोकप्रिय छ। दुवै मिर्गाैला फेल भइसकेका प्रकार–१ मधुमेह भएका व्यक्ति यदि मिर्गौला प्रत्यारोपण गर्न गइरहेका छन् भनेचाहिँ मिर्गौला साथै प्याङक्रयाज पनि एकैचोटि प्रत्यारोपण गर्न सकिन्छ। यसो गर्दा एउटै शल्यक्रियाबाट दुवै अंगहरू प्रत्यारोपण गर्न सकिन्छ। र, प्रत्यारोपित मिर्गौला जोगाउन खाइने दबाइहरूले प्याङक्रयाजको पनि सुरक्षा गर्दछ। सिंगै प्याङक्रयाज प्रत्यारोपण गर्नुको साटो प्याङक्रयाजभित्र रहेको आइलेट सेलमात्र पनि प्रत्यारोपण गर्न सकिन्छ। यसका लागि धेरैजना मृत व्यक्तिहरूको प्याङक्रयाजबाट आइलेट सेलहरू लिइन्छ। र, त्यसलाई प्रशोधन गरेर एकजना मधुमेह भएको व्यक्तिको शरीरमा इन्जेक्सनमार्फत दिइन्छ। यो उपचार विधिलाई अमेरिकी खाद्य र औषधि प्रशासन विभागले पनि मान्यता दिइसकेको छ। ठूलो शल्यक्रिया नचाहिने हुनाले यो उपचार पद्धति बिरामीहरूले रुचाउने गरेका छन्। तर, एकजना व्यक्तिका लागि आइलेट सेल प्रत्यारोपण गर्न धेरैजना मृत दाताहरूको प्याङक्रयाजको आवश्यकता पर्ने हुन्छ। र, बिरामीको शरीर हरेक दातासँग म्याच हुनुपर्ने भएकाले यो उपचार पद्धति सहजै उपलब्ध हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.