निर्णय नै नभएको अस्पताललार्इ लिएर दुर्इ गाउँबीच झडप, फिल्म झैं बन्यो बेनौली (भिडियो)

निर्णय नै नभएको अस्पताललार्इ लिएर दुर्इ गाउँबीच झडप, फिल्म झैं बन्यो बेनौली (भिडियो)

बारा : नेपाल-भारत सीमासँग जोडिएको गाउँ बेनौलीमा सोमबार देखिएको दृष्य सामान्य थिएन।

मानिसहरू हातमा ढुङ्गा र लाठी बोकेर खेतमा उत्रिएका थिए। लाठी, बचाउ सामग्री र हतियार बोकेका सुरक्षाकर्मीहरू पनि खेतको माझमा थिए।

दृष्य हो बारा जिल्लाको पचरौता नगरपालिका बेनौलीको। नगरका दुई गाउँ बेनौली र बेलदारीका मानिसहरूबीच एक आपसमा झडप भयो। हातमा बाँसको भाटा, दाउरा बोकेर धान खेतमा गाउँलेहरू एकअर्कामाथि जाइलागे। गाउँलेलार्इ नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो।

हेर्दाहेर्दै बेनौलीको त्यो घटना सिनेमाको पर्दामा देखिने दृश्य जस्तो देखियो। बच्चादेखि महिला र बृद्धबृद्धासम्म झडपमा सामेल थिए। अवस्था नियन्त्रण बाहिर जाने देखेपछि प्रहरीले १३ सेल अश्रुग्यास समेत प्रहार गर्‍यो। घटनामा जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी रञ्जितसिंह राठौरको कमाण्डमा टोली खटिएको थियो। ठूलो क्षति हुन नपाउँदै प्रहरीले घटना नियन्त्रणमा लिन सफल भयो।

झडपमा बेलदारीका नन्दकिशोर यादव, रमेश यादव र जोगिन्दर राम घाइते भए। घातेमध्ये नन्दकिशोरको अवस्था गम्भीर छ। उनको उपचार वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भइरहेको छ। यादवको टाउकोमा गहिरो चोट लागेको छ।

अवस्था सामान्य बनेपछि प्रहरी सुरक्षा घेरामा आएर बेलदारी बासीले १३ बुँदे ज्ञापनपत्र नगरपालिकाका मेयर रमेशप्रसाद यादवलाई बुझाए। ज्ञापनपत्र बुझाएपछि अवस्था तत्काल सामान्य देखिएपनि विवाद र झडप हुनुको कारण भने समाधान हुन सकेको छैन। दुई गाउँबीच पुनः झडप हुन नदिन स्थानीय प्रशासन र जनप्रतिनिधिले प्रहरी प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता डीएसपी राठौरका अनुसार पचरौता नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने भन्दै बेलदारीबाट आएका मानिसलाई बाटोमै रोकेर केही व्यक्तिले कुटपिट गरेपछि घटनाले उग्र रुप लिएको थियो।

नगरपालिकाको वडा नम्बर ७ बेनौलीका वडाध्यक्ष दिनानाथ सहनीले विकासको काममा बाधा पुर्‍याउने र दुई गाउँलार्इ लडाउने काम गाउँका केही व्यक्तिले गरिरहेको दावी गरे। ज्ञापनपत्र बुझाउन आएका गाउँलेलार्इ बिच बाटोमै रोकेर कुटपीट गर्ने र त्यसबाट उत्पन्न विवादले नगरपालिकाको कामलाई असफल बनाउने प्रयास भइरहेको समेत सहनीले दावी गरे।

वडाध्यक्ष सहनीका अनुसार नगरपालिकाले निर्णय नगरेको अस्पताल निर्माणको विषय यतिबेला उठिरहेको छ। प्रदेश सरकारले २५ शैयाको अस्पताल बेलदारीमा बनाउने निर्णय गरेको र त्यही विषयलाई नगरपालिकासँग जोडेर केही व्यक्तिले स्थानीयलाई भड्काउने काम गरिरहेको सहनीको दावी छ।

'नगरपालिकाले बेलदारीमा अस्पताल बनाउन लाग्यो भनेर अफवाह फैलाएर बेनौलीका मानिसलार्इ उत्तेजित बनाउने काम भइरहेको छ’ उनले भने,'म आफै पनि बेनौलीको वडाध्यक्ष हुँ, यस्तो निर्णय कार्यपालिकामा भएकै छैन। त्यो अस्पताल नगरपालिकाले बनाउन लागेको पनि होइन र हाम्रो लगानी पनि छैन। प्रदेश सरकारले त्यहाँ बनाउने निर्णय गरेको छ, यसमा हाम्रो भूमिका केही छैन।’

बेनौलीका मानिसहरूले नगरपालिकाको केन्द्र अर्थात वडा नम्बर ७ भित्र अस्पताल बनाउनुपर्ने भएपनि नगरपालिकाले नेपाल–भारतको सीमा नजिक अस्पताल बनाउन लागेको कुरा सुनेपछि आफूहरूले विरोध गरेको बताएका छन्। बेनौलीवासी उमेश सिंहले नगरपालिकाको केन्द्र र पायक पर्ने स्थानमा अस्पताल बनाउनुपर्ने आफूहरूको माग रहेको बताए। 'हामीलाई युद्ध पनि लड्नु छैन, झगडा पनि गर्नु छैन, विकासले गति लेओस, सही ठाउँमा पूर्वाधार निर्माण होस् भन्ने चाहना मात्रै हो’, सिंहले भने।

पचरौता नगरपालिकाका मेयर रमेशप्रसाद यादवले भने अस्पतालको विषयमा नगरपालिकाले अहिल्यै कुनै निर्णय नगरेको बताए। नगरपालिकाको दोस्रो नगरसभाले सडक, शिक्षा र स्वास्थ्यका योजनालाई प्राथमिकतामा राखेको भएपनि तत्काल अस्पताल निर्माण गर्ने निर्णय नभएको र निर्माण गर्नुपरे सबैलाई पायक पर्ने स्थानमा बनाइने उनले बताए।

अस्पतालको विषयलाई जोडेर नगरपालिकाको बदनाम गर्ने र नगरवासीलाई लडाउने काम भइरहेको देखियो’ मेयर यादवले भने,'नगरवासी यस्तो कुरामा सचेत हुनुपर्छ।  दुई गाउँबीच हिंसा भड्काउने अफवाहमा नपर्न र संयमित हुन नगरवासीलाई आग्रह गर्छु।’

मेयर यादवले दुई गाउँका मानिसलाई लडाउने व्यक्तिको पहिचान गरी कारवाही गर्न र यस्तो घटना दोहोरिन नदिन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको बताए । प्रतिनिधिसभा सदस्य रामबाबु यादव, रामसहाय यादव, प्रदेशसभा सदस्य बच्चा यादव, पारस साह, जिल्ला समन्वय समितिका उपाध्यक्ष पवन ब्याहुत, पूर्वसांसद प्रमोद गुप्तासहितको टोलीले मंगलवार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई भेटेर घटनाको ध्यानाकर्षण गराएको र दोषीमाथि कारवाहीको माग गरिएको मेयर यादवले जानकारी दिए।

बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईले घटनालाई दोहोरिन नदिन र दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने विषयमा छलफल भएको बताए । गम्भीर प्रकृतिको घटना देखिएकाले त्यसैअनुसार छलफल भएको छ’ प्रजिअ भट्टराईले भने यस्तो घटना हुनदिनुहुँदैन। प्रशासनले पनि गम्भीर रुपमा लिएको छ। हामी दोषीलाई कारवाही गर्छौ।’ घटनामा संलग्न रहेका व्यक्तिविरुद्ध प्रहरीमा जाहेरी परेको जानकारी आफूले पाएको र कारवाहीका लागि अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ भट्टराईको भनाई छ।

नगरपालिकाको चौतर्फी विकासको माग राख्दै प्रदर्शनसहित ज्ञापन बुझाउन आएका स्थानीयलाई बीच बाटोमै रोकेर केही व्यक्तिले कुटपीट गर्दै टाउको फुटाएपछि बेलदारीका स्थानीय आक्रोशित बनेको र दुई गाउबीच झडपको स्थिति भएको डीएसपी राठौरले जानकारी दिए । 

'नगरपालिकाको कार्यालय हिँडेका बेलदारीका मानिसलाई बाटोमै घेरेर कुटपिट गरेपछि घटनाले उग्ररुप लिने स्थिति देख्यौ’ राठौरले भने 'त्यसलगत्तै प्रहरी परिचालन गरी सम्भावित झडपलाई समयमै नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाएका छौं।' डिएसपी राठौरले तत्काल घटना नियन्त्रणमा लिइएको र अब सार्वजनिक बाटो प्रयोग गरिरहेको व्यक्तिलाई छेकेर कुटपिट गर्ने र घटनामा दोषी देखिएका व्यक्तिलाई कारवाही गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.