मनपरी भाडा असुल्ने सवारी कारबाहीमा

मनपरी भाडा असुल्ने सवारी  कारबाहीमा

गाईघाट : चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। चाडबाड विशेष सुरक्षा योजनाअन्र्तगत ट्राफिक प्रहरीले दसैं मानेर काठमाडौलगायतका अन्य सहर तथा गाउँ फर्कदै गरेका यात्रुसँग सवारी साधनले तोकिएभन्दा बढी भाडा असुल्ने गरेको गुनासो आएपछि कारवाही थालेको हो। 

यात्रुको चाप हेरी सवारी साधनले मनपरी भाडा लिएकाले कारवाही थालिएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज अमृतबहादुर कार्कीले बताए। कारवाहीअन्र्तगत बुधबार मात्रै १५ सवारी साधान परेका छन्। ती सवारी साधनलाई कारवाही गरी यात्रुबाट लिएको बढी भाडा समेत फिर्ता गरिएको कार्कीले जानकारी दिए। 

गाईघाटबाट वीपी लोकमार्गहुँदै काठमाडौं जाने बस, माइक्रो, सुमो, जीपका १३५ जना यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको उनले बताए।ट्राफिकले त्रियुगा नगरपालिका-६ स्थित जलजलेमा चेकजाँच गरी यात्रुबाट लिएको बढी भाडा फिर्ता गराएको हो।

चाडबाडको बेला अनिवार्य यात्रा गर्नुपर्ने यात्रुको बाध्यतालाई सवारीधनीले मौकाको फाइदाको रुपमा लिने गरेको सर्वसाधरणको गुनासो छ।गुनासो बढ्दै गएपछि विभिन्न नाकाहरुमा चेकजाँचलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए।उनले मौका छोपेर यात्रुसँग अनियमित तवरबाट बढी भाडा लिएको अवस्थामा सवारी साधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गराएको र जरिवानासमेत गर्ने गरेको बताए।

अनावश्यक भाडा लिएको जानकारी आउनसाथ तत्काल पुग्ने गरेको र जिल्लाको प्रमुखद्धार जलजलेमा ट्राफिक पोष्टले कडाई गरेको उनको भनाई छ। ट्राफिकले बढी भाडा लिने गाउँले डिलक्सलाई दोश्रो पटक पनि बढी भाडा लिएको भेटिएकाले ५ हजार जरिवाना गरेको छ । त्यस्तै माइक्रो, सुमो, जीप, बसले यात्रुसँग २६ हजार बढी भाडा असुलेको पाएपछि फिर्ता गराइनुका साथै जरिवाना समेत गरेको ट्राफिक  प्रहरी पोष्ट जलजलेका जवान गोविन्द पौडेलले बताए।

सरकारले तोकेको प्रतिव्यक्ति १ हजार भाँडा लिनु पर्नेमा उनीहरुले दसैंको मौका छोपी १ हजार ३ सय लिने गरेको पाइएको छ। एउटा बसलाई दोश्रो पटक भएकाले ५ हजार र १४ वटा सवारी साधन पहिलोपटक भएकाले २/२ हजारका दरले जरिवाना गरी यात्रुको बढी लिएको भाडा फिर्ता गराएको पौड्लले बताए। 

सरकारले गाईघाट र बेल्टारबाट काठमाडौंसम्मको भाडा दर प्रतिव्यक्ति १ हजार तोकको छ। तर, सवारी धनीले ३ सयसम्म बढी रकम लिएर मनोमानी ढंगले यात्रु ठग्ने गरेको गुनासो आएपछि ट्राफिकले सवारी साधन माथि निगरानी बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले पहाडी रुटका सडकमा अटो रिक्सा चलाउन प्रतिबन्ध लगाएको छ। साउने, खाँबु, रौता, मुर्कुचीलगायत रुटमा अटो रिक्सा चलाउन रोक लगाइएको इन्चार्ज कार्कीले जानकारी दिए। कच्ची, घुम्ती र साँघुरो सडक भएकाले पहाडी भेगका रुटमा दुर्घट्ना हुने बढी संभावना हुने हुँदा अटो रिक्सा र टेम्पोलाई सो रुटमा रोक लगाइएको प्रहरीको भनाई छ। 

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची लगायत रुटमा जानबाट अटो रिक्सालाई रोक लगाइएको छ। नियम उलङ्घन गरेर जबरजस्ती पहाडी सडकमा चलाए त्यस्ता अटो रिक्सा चालकलाई अधिकतम जरिवाना र कारबाही गर्ने ट्राफिक प्रहरीको भनाई रहेको छ।चाड पर्वको मौका छोपी साना तथा ठूला सवारी साधनले यात्रुलाई सास्ती दिने र बढी रकम असुल्ने गरेको गुनासो आउने गरेकाले कडा गरिएको उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.