महाकालीमा पक्की पुल निर्माण हुँदै

महाकालीमा पक्की पुल निर्माण हुँदै

महेन्द्रनगर : महाकाली नदीमा सुरु भएको चार लेनको पक्की पुल निर्माणले गति लिन थालेको छ। गत वर्षबाट निर्माण सुरु भएको पुल बर्खामा रोकिएको थियो। निर्माण कम्पनी कुमार सीएफसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बर्खालगत्तै पुल निर्माणले गति लिएको बताए। ‘सडक मार्गअन्तर्गत पुलसँग जोडिन आउने शाखा पुलको पाइलिङ कार्य भइरहेको छ’, उनले भने, ‘मुख्य पुल क्षेत्रमा पानीको बहाव केही कम हुँदै जान थालेको छ, त्यसपछि त्यहाँसमेत पाइलिङ गर्ने काम सुरु हुन्छ।’

गत आर्थिक वर्षमा मुख्य पुल निर्माणस्थलमा ३६ वटा पाइलिङ सकिएको छ। त्यहाँ ४ सय ८ वटा पाइलिङ गर्नुपर्ने छ। गड्डाचौकीदेखि मुख्य पुलमा आवतजावतका लागि निर्माण गर्नुपर्ने अन्य ८ वटा शाखा पुल निर्माण गर्नुपर्ने छ। पुल निर्माणसँगै गड्डाचौकीसम्म पुग्ने सडक निर्माणका लागि समेत आवश्यक काम अघि बढेको छ।

पुलसँगै निर्माण गरिने ८ किलोमिटर सडक निर्माण थाल्न त्यहाँ रहेका घर हटाउनुपर्ने हुन्छ। महाकाली पुल आयोजनाका प्रमुख प्रदीप भण्डारीले सडक मार्ग निर्माण गर्दा एक सय १३ घर त्यहाँबाट हट्ने बताए। ‘ती घरको मुआब्जा र केही ऐलानी जमिनको मुआब्जा बाँकी छ’, उनले भने, ‘छिट्टै मन्त्रिपरिषद्मा सबै विवरण पठाउँदै छौं, निर्णय भएलगत्तै काम सुरु हुन्छ।’

मुआब्जाबारे निर्णय भइनसकेका कारण त्यहाँका घर हटाउन सकिएको छैन। जसकारण सडक मार्ग विस्तार हुन नसकेको भण्डारीको भनाइ छ। घर भत्काउनु नपर्ने तर जमिनको मुआब्जा दिइसकेको क्षेत्रमा भने सडक निर्माण भइरहेको छ। केही जमिनको भने कागजी प्रक्रिया नपुगेकाले वितरणमा ढिलाइ भएको उनी बताउँछन्।

आयोजनाका अनुसार जमिन अधिग्रहण गरेबापत ५६ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा ४६ करोड वितरण भइसकेको छ। उनका अनुसार भीमदत्त नगरपालिकाको ११ र १२ नम्बर तथा महाकाली नगरपालिका–१ नम्बर वडा गरी एक सय १३ घर र त्यहाँको जमिन सडक मार्ग निर्माण गर्ने क्रममा अधिग्रहण हुनेछ। ‘यो पुल बने देशकै मुख्य नाका बन्नेछ’, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले भने।

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ८९ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने गत आर्थिक वर्षमा ९९ करोड ६५ लाख रकम विनियोजन गरिएको थियो। ३ अर्ब २७ करोड लागतमा पुल निर्माण हुनेछ। ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको पुलको लम्बाइ ८ सय मिटर र चौडाइ २३ दशमलव ८ मिटर छ।

०७४ भदौ १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका थिए भने कुमार सीएफसी जेभीले निर्माण जिम्मा पाएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.