निर्दोषलाई फसाएको भन्दै प्रदर्शन
राजविराज : हत्या घटनामा निर्दोषलाई फसाएर दोषी उम्काउन खोजेको भन्दै सप्तरीका मेहतर समुदाय विरोधमा उत्रिएका छन्। उनीहरूले मंगलबार राजविराजमा प्रदर्शन गरेका हुन्। उनीहरूले प्रहरी यातना रोक्न, दोषीलाई कारबाही र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। नेपाल राउत मेहतर उत्थान समाज, मधेसी महिला वकालत मञ्च र महिला अधिकार मञ्चले नेतृत्व गरेका थिए। समाजका अध्यक्ष मनोज मेहतरले निर्दोषलाई यातना दिई हत्या स्वीकार गर्न बाध्य पारिरहेको दाबी गरे।
राजविराज–६ की ४५ वर्षीया आशादेवी देवको हत्या आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा ३० वर्षीया चनरदेवी मेहतर, ३५ वर्षीया मुन्नीदेवी साह, ३२ वर्षीय शंकर राउत मेहतर र २६ वर्षीय सुरज राउत मेहतर छन्। सुरजकी आमा कान्तिले निर्दोष छोरालाई हिरासतमा यातना दिएर झुठा मुद्दा चलाएको बताइन्। हिरासतमा हातखुट्टा बाँधेर आरोप स्वीकार गर्न आफूलाई दबाब दिएको बिक्की राउतले सुनाए।
अधिकार मञ्चकी अध्यक्ष आभासेतु सिंहले कार्यालयछेउमै हत्या हुँदा पनि १० दिनसम्म प्रहरीले थाहा नपाएको बताइन्। निर्दोषलाई कारबाही गरी अपराधीको मनोबल बढाइरहेको उनको भनाइ थियो। डीएसपी भावेश रिमालले भने १ सय अपराधी छुटे पनि निर्दोषलाई नफसाइने बताए। पक्राउ परेका चार जना दोषी पाइएकाले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको उनले सुनाए।