नेपाल फर्कौं महाअभियान

नेपाल फर्कौं महाअभियान

तपाईं कार्यरत देशमा तपाईं एकजना नभए पनि केही फरक पर्दैन तर तपाईं नहुँदा नेपाललाई धेरै ठूलो फरक पर्छ।


हालै संवाद भएकाले यहाँ त्यही नै उल्लेख गर्न चाहें। डा. राजेन्द्र पंगेनी वालिङ, स्याङ्जाका बासिन्दा हुन्। नेपाली गाउँमा बित्ने जसरी नै बित्यो उनको बाल्यकाल र त्यसैगरी नै पाए शिक्षादीक्षा। भाग्य, कर्म र प्रतिभाको मेल, उनले सुरुमा क्यान्सरबारे विद्यावारिधि गर्न बेलायतमा छात्रवृत्ति पाए।

अहिले अमेरिकामा विद्यावारिधिपश्चात्को अनुसन्धान गरिरहेका छन्। उनले मलाई एकपटक केही नेपाली मिलेर ‘नेपाल फर्कौं महाअभियान’ सुरु गर्ने सोचमा रहेको बताएका थिए। उनका अनुसार कतिपय साथी त अर्कोपटकको चुनावलाई लक्षित गरेर समयमै नेपाल फर्किने र आफ्नै जन्मथलोमा गएर सुसंस्कृत राजनीतिका लागि समय र ऊर्जा उत्सर्ग गर्ने योजनामा छन्।

त्यसको केही समयपछि अमेरिकाबाटै उनका मित्र डा. राजेन्द्र दुलालले फोन गरे। ‘स्वास्थ्य अर्थशास्त्री’ दुलाल पनि उनका मित्र पंगेनीजस्तै नेपाल फर्किने सोच बनाइरहेका छन्। अमेरिकाकै टेक्ससमा कार्यरत भौतिकशास्त्री डा. ज्ञानेन्द्र बोहोरा अनि युरोपमा शिक्षादीक्षा लिएर धेरै वर्ष जर्मनीमा काम गरेकी कर्मा लामा तामाङ पनि नेपाल फर्किएर पू्र्णकालीनरूपमा राजनीतिमा होमिने योजनामा छिन्।

माथि उल्लिखित नाम केही प्रतिनिधि उदाहरण मात्र हुन्। नेपाल फर्किने सोच बताइरहेका सयौं र नेपाल फर्किसकेका कैयौं नेपाली मैले भेटेको छु। विदेशमा बस्ने अन्य हजारौं र सम्भवतः लाखौं नेपालीले नेपाल फर्किने सोच बनाइरहेको हुनुपर्छ। म पनि लामो समय विदेशमा काम गरेर, त्यहीं जन्मिएका १० र ७ वर्षका छोराछोरीलाई लिएर नेपाल फर्किएकाले नेपाल फर्किन चाहने धेरै नेपालीले सरसल्लाह गर्न मसँग सम्पर्क गर्नु स्वाभाविकै हो।

त्यसरी सरसल्लाह गर्ने साथीहरूसँग मैले आफ्नो अनुभवका आधारमा नेपाल फर्किनका लागि सामान्यतया तीनवटा तयारी उल्लेख गर्ने गरेको छु। ती तीन तयारी नेपाल फर्कौं महाअभियानमा सामेल हुने सबैका लागि सान्दर्भिक हुनेछ। तीन तयारीको चर्चा गरेपछि मात्र त्यसको आवश्यकताबारे चर्चा गर्नेछु।

फर्किने दृढता र योजना

विदेश गएका कैयौं नेपालीमा नेपाल फर्किने चाहना भए पनि पर्याप्त दृढता हुँदो रहेनछ। चाहना र दृढताबीच धेरै ठूलो अन्तर छ। चाहना गर्दागर्दै ढिलो हुन सक्छ, जिन्दगी बित्न सक्छ तर दृढता भयो भने चाहना फत्ते गरेरै छोड्ने सम्भावना प्रबल रहन्छ। त्यसैले विदेश गइसकेपछि नेपाल फर्किन्छु भन्ने हो भने समयमै त्यो दृढता बोकेर तयारी सुरु गर्नु आवश्यक हुन्छ। यो आलेखमा म आफ्नै केही उदाहरण पनि दिनेछु, जसलाई अन्यथा लिइने छैन भन्ने अपेक्षा गर्छु।

लन्डन गएदेखि नै नेपाल फर्किनुपर्छ भन्नेमा म दृढ थिएँ। विदेश गएर अलिकति पढेका, देखेका र सिकेका नेपाली परिस्थितिअनुकूल भएको खण्डमा समयमै नेपाल फर्किनुपर्छ भन्ने मेरो सधैंको मान्यता रह्यो। मेरा पूर्व सहकर्मी सुमन खरेलले कान्तिपुर टेलिभिजनमा प्रसारण हुने उनको लोकप्रिय ‘सुमनसँग’ कार्यक्रममा मसँग कुराकानी गर्दा मैले बिर्सिसकेको एउटा अनपेक्षित प्रसंग उप्क्याए, ‘तिम्रो घरमा पुरानो टेलिभिजन अनि पुरानो सोफा सेट हुन्थ्यो र किन नयाँ नकिनेको भनेर प्रश्न गर्‍यो भने ‘नेपाल फर्किने हो, नयाँ किनेर के गर्नु भन्थ्यौ।’

अहिले फर्केर हेर्दा यस्ता साना तर दृढता झल्किने धेरै उदाहरण छन्, जसले मलाई नेपाल फिर्ता ल्यायो। तर योजना भएन भने दृढतामात्रै पनि अपर्याप्त हुन्छ। फर्किन्छु भन्ने तर रहर लागेका सबै काम गर्दै जाने हो भने समय बित्दै जाँदा तिनै रहरको जञ्जालमा फसिन्छ र थाहै नपाई फर्किन नसक्ने अवस्थामा पुगिसकिएको हुन्छ।

मैले केही साथी भेटेको छु, जो नेपाल गएपछि केही न केही त गरिहालिन्छ नि, पहिले जान त जाऊँ, धेरै योजना बनाउन थाल्यो भने गइँदै गइँदैन भनेर भावनामा बहकिएर नेपाल फर्किएका छन् र पछुताएका छन्। विकल्पसहितका योजना भएन भने आफू र परिवार सबैलाई चोट पुग्न सक्छ। तसर्थ समयमै योजना बनाउन सुरु गर्न आवश्यक हुन्छ। सबैभन्दा पहिलो योजना त बाँकी जीवन पेसागत र आर्थिकरूपमा कस्तो, कसरी, कुन लक्ष्यका साथ बिताउने भन्ने नै हो। त्यसमा पनि विकल्प एक, दुई र तीन गरेरै योजना बनाउनुपर्छ किनभने एउटै मात्र योजना छ र त्यसले काम गरेन भने निराशा उत्पन्न हुन सक्छ।

बुबाआमा बनिसकेकाहरूका लागि योजनाको अर्को महत्वपूर्ण पक्ष छोराछोरीको पढाइ हो। विदेशमा बस्ने धेरै बुबाआमाले ‘नेपाल गएर के गर्नु, छोराछोरी पढ्न फेरि यतै आइहाल्छन्’ भनेको सुनिन्छ। नेपालको शिक्षा अहिलेकै दुरवस्थामा रहेसम्म उनीहरूले व्यक्त गरेका चिन्ता सही नै हो। तर हालको अवस्थामा नेपालका कैयौं निजी विद्यालयको स्तर चिन्ता गरिहाल्नुपर्ने खालको छैन।

बरू अमेरिकामा पढेका राम्रा विद्यार्थीलाई त्यहाँका राम्रा कलेजमा छात्रवृत्ति पाउन मुस्किल होला, तर नेपालमा राम्रो नतिजा ल्याउने सयौं विद्यार्थीले हरेक वर्ष अमेरिकाका राम्रा कलेज तथा विश्वविद्यालयमा पूर्ण, झन्डै–झन्डै पूर्ण र आंशिक छात्रवृत्ति पाउने गरेका छन्। जिन्दगीभर आफू उत्कृष्ट स्कुल, कलेज र विश्वविद्यालय गएर कम उमेरमै उल्लेख्य उपलब्धि हासिल गरेका डा. स्वर्णिम वाग्लेले नेपाल फर्किएपछि आफ्नो छोरालाई काठमाडौंकै स्कुलमा पढाइरहेका छन्। साथसाथै नेपालको निजी शिक्षाबाट पनि चित्त नबुझाउने कैयौं बुबाआमाले आफ्ना छोराछोरीलाई भारतका राम्रा विद्यालयमा पनि राख्ने गरेका छन्। तर नेपाल फर्किने हो भने छोराछोरीको शिक्षाबारे समयमै सोच्नुपर्ने हुन्छ।

छोराछोरीको स्कुल सँगसँगै उनीहरूको उमेरले नेपाल आउने विषयलाई अझ प्रभावित पार्छ। विदेशमै जन्मिएको, हुर्किएको या सानै छँदा विदेश लगिएको हो भने उनीहरूको उमेर बढ्दै गएपछि नेपाल ल्याउन दुई कारणले कठिन हुन्छ। पहिलो, घरमा सिकाएको भए पनि उनीहरूको नेपाली भाषा अत्यन्तै कमजोर हुन्छ र नेपाल आएर उनीहरूले नेपाली सुधार्न महाभारतकै लडाइँ गर्नुपर्छ। स्कुलको पढाइबाहेक घरमै शिक्षक राखेर नपढाइकन सुखै छैन। त्यसले केटाकेटीको अन्य विषयको पढाइको स्तरमा असर पार्न सक्छ। तर यो कार्य असम्भव रहेनछ भन्ने मेरै छोराछोरीको अनुभवले पनि देखायो।

दोस्रो, विदेशमा छोराछोरी हुर्काउँदा जति ठूला हुँदै जान्छन्, उनीहरूले आफूलाई ‘म नेपाली मूलको फलानो’ भन्न थाल्छन्, जुन उनीहरूको गल्ती होइन। साथसाथै उनीहरूले जुन देशमा हुर्किएको हो, त्यसैलाई आफ्नो घर सम्झिन थालिसकेका हुन्छन्। उनीहरूका साथीसंगी त्यहीं हुन्छन्।

खेल्ने, डुल्ने, पढ्ने, खाने, सिनेमा हेर्ने, संगीत सुन्ने, बानी–व्यहोरा, रहनसहन सबैमा उनीहरू त्यहींकै शैलीमा अभ्यस्त भइसकेका हुन्छन्। त्यहाँबाट टपक्क टिपेर नितान्त फरक परिवेशमा ल्याएर राखिदिनु उनीहरूमाथि ठूलो अन्याय हुन्छ। मैले आफूले नेपाल फर्किन बनाएको योजनामा पहिलो सन्तानको उमेर कुनै पनि हालतमा लन्डनमा १० वर्ष कट्न दिन्न भनेर सोचेको थिएँ।

छोरा १० वर्ष भएपछि अब त ढिलो हुन लाग्यो भनेर मेरी पत्नी र छोराछोरी मभन्दा डेढ वर्ष पहिल्यै नेपाल फर्किएका थिए। कुनै कारणवश अर्को दुई वर्ष मैले छोराछोरी नेपाल ल्याउन ढिलाइ गरेको भए फर्किने कार्य सम्भवतः असम्भव हुने थियो। यी सबै विषयमा विचार पुर्‍याइएन भने फर्किने दृढता र योजना भए पनि त्यसलाई कार्यान्वयन गर्न सकिँदैन।

सहजता त्याग्ने, बेथिति खप्ने आँट

विकसित देशमा लामो समय सुरक्षित पेसा या स्थापित व्यवसाय गरेर बसेको व्यक्तिका लागि स्थायीरूपमा नेपाल फर्किन र बस्न सजिलो छैन। त्यो भन्न हिच्किचाउनै पर्दैन।

सबैको आँट र परिस्थिति एउटै हुँदैन। फर्किन असमर्थ नेपाली घर, परिवार, समाज वा नेपालको माया नभएर नफर्किएका होइनन्। तर वास्तविकता के हो भने उनीहरूले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजनिक यातायात, पद्धतियुक्त सेवा, स्वच्छ वातावरण, व्यवस्थित र तुलनात्मकरूपमा सहज जीवन आदि सबै कारणले जिन्दगीको अर्थ र आनन्द नै भिन्न रूपमा अनुभूत गर्न थालिसकेका हुन्छन्। त्यसैले त्यो सुविधा र सहजता त्यागेर त्यसको १८० डिग्रीविपरीतको परिस्थितिमा फर्किन दृढता र योजना मात्र पनि पर्याप्त नहुँदो रहेछ।

विकसित देशको सबै सुविधा त्याग्न, कैयौं अवस्थामा नसोचेको बेथिति खप्न र जस्तोसुकै प्रतिकूल अवस्था आए पनि बाँकी जीवन नेपालमै बिताउने गरी आफूलाई मानसिकरूपमा तयार पार्नुपर्ने हुन्छ। मैले एकजना यस्ता आमाबुबा भेटेको छु, जो अमेरिकामै बसेको भए सम्भवतः सन्तान गुमाउन बाध्य हुँदैनथे। उनीहरूले त्यो चरम अवस्थालाई पनि नेपाल बस्दा चुकाउनुपरेको मूल्यका रूपमा स्वीकार गरेका छन्।

सबै छोडेर सदाका लागि जाने बेलामा मैले जीवनमा केवल आफ्ना लागि गरिनँ, समाज र देशका लागि पनि गरें भन्ने अनुभूतिले दिने मुस्कान सम्भवतः सबैभन्दा शक्तिशाली र आनन्ददायी हुन्छ।

मैले विदेशबाट फर्किएका धेरै यस्ता व्यक्ति भेटेको छु, जो मोटरसाइकल या मोटरमा केही लिटर पेट्रोल हाल्न, केही घन्टामा हुने कामका लागि तीनचार दिन कार्यालय धाउन, निरन्तरको धुलो र धुवाँ सहन अनि सुसंस्कृत देशमा सिकेर आएको इमान कायम राख्ने प्रयासमा पेसागत र आर्थिक वृत्ति विकासमा पुगेको आँच स्विकार्न तयार छन्। तर पनि ती खुसी छन्। घर भनेको घर हो, आफ्नो देश भनेको आफ्नै देश हो।

वृत्ति विकासको मोहत्याग

नेपाल फर्किन्छु भन्दाभन्दै पनि धेरै नेपालीलाई बाँधेर राख्ने अर्को एउटा कारण वृत्ति विकासको मोह हो। त्यसको शक्ति अनौठो हुने रहेछ। डाक्टरलाई ‘कन्सल्टन्ट’, ‘कन्सल्टन्ट’ लाई ‘मेडिकल डिरेक्टर’, लेक्चररलाई सहप्राध्यापक र सहप्राध्यापकलाई प्राध्यापक हुन मन लाग्छ। सानो शाखाको व्यवस्थापकलाई ठूलो विभागको र ठूलो विभागक‍ोलाई सिंगो कार्यालयको प्रमुख कार्यकारी बन्न मन लाग्छ। ‘फाइभ फिगर’ तलब हुनेलाई ‘सिक्स फिगर’ तलबको मोह हुन्छ। व्यवसाय गर्नेलाई सधैं व्यवसाय विस्तारको आकांक्षाले डोर्‍याउँछ।

‘अर्को केही वर्ष ‘यत्ति’ गरें भने त व्यापार बल्ल गज्जब हुन्छ अथवा अरू केही वर्ष मेहनत गरें भने त ‘त्यो’ ओहोदामा पुगिहाल्छु, त्यसो भयो भने तलब र इज्जत दुवै बढ्छ’ भन्ने सोचाइ स्वाभाविक हो। सँगसँगै, अहिलेको भन्दा राम्रो गाडी र घर किन्न सकिन्छ, छुट्टी मनाउन चाहेको ठाउँमा जान सकिन्छ, नेपाल फर्किए पनि इज्जत बढ्छ, नफर्किए यहीं ठूलै उपलब्धि हासिल गरेको मानिन्छ भन्नेजस्ता सोचाइ पनि आउने गर्छ। जीवनमा ठूलो उद्देश्य लिनु साह्रै राम्रो।

त्यसले जीवनलाई स्वस्थ, सुन्दर र चलायमान बनाउँछ। तर साँच्चिकै नेपाल फर्किने हो भने विदेशमै निरन्तर वृत्ति विकासको आकांक्षाले भने बाधा पुर्‍याउँछ। सधैं केही न केही पाउन बाँकी नै हुन्छ र पर्खिंदा–पर्खिंदै यस्तो विन्दुमा पुगिन्छ, जहाँबाट फर्किन गाह्रो हुन्छ या छोराछोरी ठूला भइसकेका हुन्छन् र उनीहरूलाई छोडेर आउन मिल्दै मिल्दैन।

छोराछोरी ठिकै उमेरमा हुँदा फर्किन नसकेपछि कैयौंले छोराछोरी कलेज जान्छन्, आआफ्नो तरिकाले स्थापित हुन्छन् अनि हामी पति, पत्नी अवकाशप्राप्त जीवनचाहिँ नेपालमा बिताउँछौं भनेको पनि सुनिन्छ। तर अवकाशप्राप्त समयतिर पुग्दा नेपालको फोहोरमैलाले पार्ने असर, अस्पतालको दुरवस्था, आपत्कालीन स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको अभाव, बुढेसकालमा पर्ने अन्य समस्या, लामो समय बाहिर बस्दा पुराना साथीभाइ आआफ्नो बाटो लागिसकेका र नयाँ साथी बनाउनुपर्ने अवस्था जस्ता चिन्ताले सताउन थाल्छ। अनि स्थायीरूपमा नेपाल फर्किने योजना त्यसै तुहिन्छ। त्यसपछि सो योजना बेलाबखत नेपाल आएर एकाध महिना बिताउनेमा सीमित हुन जान्छ।

तपाईंको खाँचो छ

गत असोज २६ र २७ गते गैरआवासीय नेपाली संघले संसारभरि छरिएर रहेका नेपालीको विज्ञतालाई नेपालमा सदुपयोग गर्ने उद्देश्यका साथ काठमाडौंमा पहिलो ज्ञान–सीप सम्मेलनको आयोजना गर्‍यो। यो सुरुवात मात्र थियो तर पनि संसारभरिबाट धेरै विषयमा विशिष्टता हासिल गरेका नेपाली सो सम्मेलनमा जम्मा भएका थिए। उहाँहरू सबैमा माथि उल्लिखित तीन चुनौती चिर्ने आँट हुन्छ भन्ने छैन। नेपालभित्रैका सबै नेपालीमा पनि त्यो हुँदैन।

झन् आजभोलि धेरैले आफूलाई ‘विश्व नागरिक’ का रूपमा हेर्छन् र उनीहरू आफूलाई कुनै पनि एउटा देशको सीमाभित्र बाँध्न चाहँदैनन्। जसमा त्यो आँट छैन, जसको आँट भए पनि स्थिति अनुकूल छैन अथवा जसले त्यसलाई आवश्यक महसुस गर्दैनन्, तिनले आआफ्नै ठाउँमा बसेर अनेक तरिकाबाट नेपाल र नेपालीलाई सघाउन सक्छन्, तर आँट भएका नेपालीले चाहिँ अब नेपाल फर्कौं महाअभियानमा सरिक नभइभएको छैन।

उहाँहरूलाई मेरो एउटा मात्र विनम्र आग्रह छः तपाईं एकजना अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा या तपाईं कार्यरत देशमा नभए पनि ती देशलाई केही फरक पर्दैन, तर तपाईं एकजना नेपालमा नहुँदा नेपाललाई चाहिँ धेरै फरक पर्छ। सौभाग्य भनौं या दुर्भाग्य, हामी देशबाट लिने होइन, दिने समयमा जन्मिएका छौं। विश्वको इतिहास हेरे प्रस्ट हुन्छ– देश बनाउन एउटा प्रतिबद्ध समूहको नेतृत्वमा एउटा पुस्ताले सकेको दिनैपर्छ अनि मात्र देश बन्छ। थिति बसेपछि सामान्यतया पद्धतिले आफैं सम्हालेर लैजान्छ। तर थिति बसाल्ने बेलामा हरेक इमानदार र क्षमतावान् नागरिकको महŒव हुन्छ।

विदेशमा बसेर पढेका, देखेका, बुझेका, काम गरेका नेपालीबिना नेपाल बन्दै बन्दैन भन्ने होइन। तर त्यो ‘एक्सपोजर’ पाएका नेपाली नेपालका लागि सख्त जरुरत छ। त्यस्ता नेपालीहरू तीन प्रकारका छन् – पेसागत रूपमा अत्यन्तै दक्ष, दक्ष र श्रमिकका रूपमा दक्ष। यी तीनै प्रकारका नेपालीको नेपाललाई खाँचो छ।

‘श्रमिकका रूपमा दक्ष’ शब्दावली मैले किन प्रयोग गरेको हुँ भने विकसित देशमा काम गरेपछि शौचालय सफाइ गर्ने होस् या ऐना पुछ्ने जे काम गरे पनि त्यो दक्षतापूर्वक नै गर्नुपर्ने हुन्छ। ती श्रमिकहरू जे गर्छन्, त्यसमा दक्ष हुन्छन्। उनीहरूले नेपाल फर्किएर केही गर्नेबारे सोच्न सक्छन्। तर उनीहरूलाई नेपाल फर्किन आग्रह गरिहाल्न सक्ने अवस्था छैन। केही नेपालीले खाडी क्षेत्र, दक्षिण कोरिया, इजरायलबाट फर्किएर नेपालमा कृषि, पशुपालन, ससा‍ना व्यापारजस्ता काम गरेका छन्।

यद्यपि, आमरूपमा देशको अवस्थामा सुधार नभएसम्म उनीहरूले परिवार पाल्न, बालबच्चा पढाउन वैदेशिक रोजगारलाई त्यागिहाल्न सक्ने स्थिति छैन। तर उनीहरूको देशप्रेमप्रति जति नतमस्तक भए पनि त्यो अपर्याप्त हुन्छ। ४५/५० डिग्रीको तापक्रममा श्रम गरेर कमाएको थोरै रकमबाट पनि नेपालमा परोपकारका लागि सहयोग गर्ने सयौं नेपाली मैले भेटेको र त्यसबाट द्रविभुत भएको छु।

बाँकी रह्यो पेसागतरूपमा अत्यन्तै दक्ष र दक्ष नेपाली। ती नेपालीमा कोही, कोही गैरइमानदार होलान्, त्यस्ता मान्छे जहाँ पनि हुन्छन्। तर इमानदार संस्था, समाज र देशमा बसेर लामो समय काम गरेकाहरू अधिकांशतः इमानदार नै हुन्छन् भनेर अपेक्षा गर्न सकिन्छ, अन्यथा अदक्षको भन्दा दक्ष व्यक्तिको गैरइमानदारीले समाज र देशलाई बढी घात गर्छ। संसारको इतिहास हेर्ने हो भने अधिकांश अविकसित देशमा रूपान्तरणकारी छलांगको नेतृत्व अत्यन्तै दक्ष व्यक्ति या समूहले नै गरेका छन् र तीमध्ये कतिपय विदेशको शिक्षा र अनुभव लिएर फर्किएका व्यक्ति नै छन्।

डुबिसकेको चीनलाई पुनर्जन्म दिने देङ स्याओ पिङ हुन् वा भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरू, मलेसियामा महाथिर महमद हुन् या सिंगापुरका ली क्वान यु, सबैले कुनै न कुनै रूपमा विदेशी शिक्षा र अनुभव प्राप्त गरेका थिए। अफ्रिकामा त सन् २०११ मा ४० वटा देशको अध्ययन गरेर जर्मनीको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले तयार पारेको प्रतिवेदनले विदेशमा अध्ययन गरेका नेताहरूले देशको राजनीतिक, सामाजिक र आर्थिक विकासमा स्वदेशमै अध्ययन गरेका नेताहरूले भन्दा बढी सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको थियो। नेपालको रूपान्तरणमा विदेशमा रहेका नेपालीहरूले आमूल परिवर्तनकारी संवाहक (क्याटलिस्ट) को भूमिका निर्वाह गर्न सक्छन्।

नेपाल फर्कौं महाअभियानको सोच अत्यावश्यक र समयसापेक्ष छ। समाज र देशको रूपान्तरणका लागि व्यक्तिगत जीवनमा केही सम्झौता गर्दा त्यसले मृत्युशड्ढयामा मीठो मुस्कान दिन्छ भन्ने मेरो विश्वास हो। अरू बेला त हामी धेरैपटक मुस्कुराउँछौं तर सबै छोडेर सदाका लागि जाने बेलामा मैले जीवनमा केवल आफ्ना लागि गरिनँ, समाज र देशका लागि पनि गरें भन्ने अनुभूतिले दिने मुस्कान सम्भवतः सबैभन्दा शक्तिशाली र आनन्ददायी हुन्छ। त्यसैले आउनोस्।

सकिन्छ, राजनीति र सिंगो देश नै बदल्ने लक्ष्यका साथ आउनोस्। सकिँदैन, जे सकिन्छ त्यही बदल्ने लक्ष्य बोकेर आउनोस्। तर आउनचाहिँ आउनोस्। झुपडी नै भए पनि आफ्नो घर सुन्दर बनाउनु र सुविधासम्पन्न भए पनि डेरा सिँगार्नुमा आकाश–जमिनको फरक छ। मरुभूमिमा एउटा विशाल वृक्ष हुनु र घना जंगलमा एउटा रूख हुनुमा ठूलो अन्तर छ। नेपाल फर्कौं महाअभियानबारे जानकारी चाहनेहरूले डा. राजेन्द्र पंगेनीलाई [email protected]  अथवा ००१८७२९८५१९१९ मा सम्पर्क गर्न सक्नुहुन्छ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो। नेपालको जय होस्! 


ट्‍विटरः @RabindraMishra


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.