सुत्केरी भैंसी भेट्न मेयर गोठमा, पाडोपाडीको जन्म दर्ता गर्ने किसानलाई भत्ता
बनेपा : 'समृद्धिका लागि भैंसी संरक्षण' अभियान भन्दै काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न सुत्केरी खर्च बोकेर गोठमै पुगेका छन्। नगरमा भैंसीपालन गर्ने किसानलाई आकर्षित गर्ने उद्देश्यले मेयर भैंसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता गर्दै किसानलाई प्रोत्साहन गर्न सुत्केरी खर्च बोकेर गोठमै पुग्ने गरेका हुन्।
परम्परागत पशुपालमा रहेका किसानलाई व्यवसायिक पशुपालनमा लग्न प्रोत्साहनस्वरुप नगरपालिकाले भैंसी सुत्केरी खर्च उपलब्ध गराउने गरेको पनौती नगरका प्रमुख भीम न्यौपानेले बताए। 'किसानलाई भैंसीपालनमा आकर्षित गर्दै व्यवसायिकतामा लैजान र आत्मनिर्भर बनाउने उद्देश्यका साथ भैंसी सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेका हौं।'
उनले थपे, 'नगरले चालू आर्थिक वर्षमा आठ लाख बजेट विनियोजन गरेर भैंसीको सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य लिएको छ।' न्यौउपानेका अनुसार व्यवसायिक कृषि र पशुपाललाई नगरले प्राथमिकतामा राखेर युवा तथा किसानलाई अनुदान, प्रोत्सान भत्तामार्फत प्रधान गर्दै रोजगारीको सृजना गर्नुका साथै वैदेशिक पलायन रोक्ने प्रमुख लक्ष्य रहेको हो।
किसानले भैंसी सुत्केरी भत्ता लिनका लागि अनिवार्य विमा गर्नुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ। जसमा पाडीको जन्मदर्ता गरी त्यसको स्याहारसुसार गरेर सोही पाडी सुत्केरी भएमा २० हजार पालन पोषण भत्ता पाउने पनौती नगरका पशुपन्छी चिकित्सक मणी सापकोटाले बताए।
उनले भने,'पैंसा पाउने आसमा किसानले व्यवसायिक भैंसी पालन गर्नुका साथै संरक्षण गर्छन् भन्ने उद्देश्यले भैंसी सुत्केरी भत्तावाफत पाँच हजार दिने गरेका छौं। सापकोटाका अनुसार नगरमा ४ हजार छ सय ४७ वटा भैंसी छन्। उनले तीन वर्ष भित्रमा दश हजार भन्दा बढी पुर्याउने लक्ष्य रहेको बताए।

काभ्रेको पनौती नगरपालिका प्रमुख भीम न्यौपाने किसानको घरमा भैंसी सुत्केरी भत्ता विरण गर्दै।तस्बिर : श्रीराम केसी
भैंसीको संख्या बढ्नासाथ दूधमा नगर आत्मनिर्भर हुनुका साथै किसानको आयस्तरमा सुधार हुने अपेक्षा लिएको छ। सापकोटाका अनुसार भैंसी सुत्केरी भत्ता पाउ भनि २ सय ४७ वटा निवेदन कार्यालयमा आएको जानकारी दिए। नगरमा दैनिक ४५ हजार लिटर दूध उत्पादन हुने गरेको बताए।
किसान यस अभियानबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको बताउँछन्।'भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थो अब त्यो समस्या हटेको छ, भैसीको विमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको छ,' पनौती १२ की भावना थापाले भनिन्, 'अब थप दुईवटा भैंसी थपेर पाडापाडी पनि हुर्काउँछु।'
त्यस्तै सोही वडाका यज्ञ विक्रा खत्री पनि दसौं वर्षदेखि भैंसी पालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैंसी पाल्न छोडेको बताए।'विभिन्न समस्या र दूधको मुल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न सकिन चारवटा भैंसी मासुको मुल्यमा बेचेर छोडेको थिए।' उनले थपे, 'तर नगरले भैंसी पालनमा ल्याएको अनुदान, विमा र सुत्केरी प्रोत्साहनले पुन: व्यवसायिक भैंसीपालनमा लागेको छु।'
किसानले घरमा पालिएको भैंसी र भैंसीले जन्माएको पाडोको फोटोसहित वडाको सिफारिस र नागरिकताको प्रतिलिपी पेश गरेमा नगरले रकम प्रदान गर्ने प्रमुख न्यौपानेले बताए। पछिल्लो समय मासु प्रयोजनका लागि सहरमा भैंसी राँगाको माग बढेसँगै भैंसीपालन व्यवसाय संकटमा पर्दै गएको र दूधको उत्पादनमा कमी आएको भन्दै भैंसीपालन व्यवसायमा किसानको आकर्षण बढाउन भैंसीलाई सुत्केरी भत्ता अभियान सञ्चालन न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस !