स्थानीयको अवरोधमा अर्बौँको आयोजना राेकियाे

स्थानीयको अवरोधमा अर्बौँको आयोजना राेकियाे

परासी : पश्चिम नवलपरासीमा निर्माण हुन लागेको कालीगण्डकी प्रशारण कोरिडोर आयोजनाको सव–स्टेशन निर्माण कार्यमा स्थानीयले अवरोध गरेका छन् ।

सुनवल नगरपालिका–१३ बडेरास्थित सुर्यबस्तीमा निर्माण हुन लागेको सव–स्टेशन बस्तीभित्र निर्माण गर्दा त्यो जोखिमपूर्ण हुने भन्दै स्थानीयले अवरोध सृजना गरेका हुन् । जसका कारण निर्माणको काम अघि बढ्न सकेको छैन ।

आयोजना स्थापना हुँदा स्थानीयवासीसँग छलफल नगरी काम अघि बढाइएको र प्रसारणका क्रममा विस्तार गरिने विद्युत लाइनले बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले दुई हप्तादेखि साईट कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

सरकारको राष्ट्रिय गौरवको आयोजनामा रहेको प्रसारण लाइनको स्टेशनको काम अवरोध भएपछि समयमा काम सम्पन्न हुन नसक्ने देखिएको छ । निर्माणका लागि आएका समान समेत अवरोधका कारण निर्माण स्थलमा पु¥याउन नसकेको बताइएको छ ।

१०० एमभिए, २२० केभी क्षमता भएको सव–स्टेशन निर्माण गर्न करिब २० बिघा जग्गा अधिग्रहण गरिएको आयोजनाका ईन्जिनीयर आनन्द सुवेदीले बताए । जसमध्ये १२ बिघा जग्गा स्थानीयको खरिद गरिएको छ भने अन्य खोला किनारको ऐलानी जग्गा हो । चार वर्षअघि जग्गा अधिग्रहण गरे पनि स्टेशन निर्माण हुनेमा भने आफूहरुलाई जानकारी नभएको स्थानीयले गुनासो गरेका छन् ।

जनताको उठिबास हुने गरी स्टेशन निर्माण गर्न नहुने स्थानीय महेन्द्र कँडेलले बताए । स्टेशन बनेपछि जग्गा बिक्री नहुने र बैंक तथा वित्तिय संस्थाहरुले समेत धितो राख्न नमान्ने भएकाले त्यसको विकल्प खोज्नुपर्ने उनको माग छ ।

गाउँमा स्टेशन निर्माण हुने भएपछि बैंकहरुमा ऋण लिन जाँदा विद्युत लाईनका कारण ऋण दिन नसक्ने भन्दै बैंकले फिर्ता पठाउने गरेको अर्की स्थानीय लक्ष्मी ढकालले बताइन् । उनले विद्युत प्रसारण लाइनका कारण जग्गासमेत बिक्री हुन नसकेको गुनासो गरिन् । बस्तीबाट लाईन विस्तार नगरी खोला किनारबाट लैजानु पर्ने वा अन्य स्थानमा विकल्प खोज्नु पर्ने स्थानीयको माग छ ।

सव–स्टेशनको कुल लागत एक अर्ब १० करोड हो । स्टेशन निर्माण गर्न भारतको टाटा प्रोजेक्ट लिमिटेडले सन २०१७ को डिसेम्बरमा सम्झौता गरेको छ । २०१९ को अक्टोबरमा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको छ । साइट कार्यालय स्थापना गरेर काम सुरु गर्न नपाउँदै स्थानीयले अवरोध गरेपछि समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको छ ।

स्टेशन निर्माणका लागि आयोजनाले स्थानीयलाई प्रष्ट पार्न नसकेकाले छलफल भइरहेको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए । बस्तीलाई असर नपर्ने गरी कसरी निर्माण कार्य अघि बढाउन सकिन्छ भन्नेमा प्रशासन, जनप्रतिनिधि, आयोजना प्रमुख र स्थानीयबीच बुधबार छलफल भयो । त्यसका लागि स्थलमा गएर अनुगमन गर्ने र स्थानीयको सुझावका आधारमा निचोडमा पुगिने थापाले बताए ।

तार विस्तारका क्रममा पर्ने जग्गाधनीलाई भने उचित क्षतिपुर्ति दिने आयोजना प्रमुख चन्दनकुमार घोषले बताएका छन् । बीच सेन्टरबाट चार÷चार मिटरको दूरीमा तार रहने छ । दायाँ बाँया ११÷११ मिटर जग्गा छाडिने छ । त्यसक्रममा पर्ने १५ मिटरको जग्गाको क्षतिपुर्ति आयोजनाले उपलव्ध गराउने उनले जानकारी दिए ।

१५ मिटरको दुरीमा रहने भएकाले जग्गा वा त्यस वरपर रहने घरलाई कुनै असर नपर्ने घोषको भनाई छ । स्टेशनको प्रसारण जोड्नका लागि नजिकै १३२ केभिए प्रसारण लाइन आवश्य हुने  उनले बताए । उक्त स्थान अन्यन्त्र नभएकाले विकल्प खोज्न नसकिने घोषको भनाई छ ।

कालिगण्डकी नदी र आसपासका खोला नदीहरुमा विद्युत गृह र हाईड्रो पावरहरुले उत्पादन गर्ने विद्युतलाई विस्तार गर्नका लागि बडेरामा स्टेशन निर्माण गर्न लागेको आयोजनाले जनाएको छ । पहाडी क्षेत्रमा विद्युत कम खपत हुने र तराईमा माग बढी भएकाले आयोजनाले तीन स्थानमा स्टेशन निर्माण गरिरहेको ईन्जिनीयर सुवेदीले बताए । जसमध्ये उत्तरी क्षेत्रस्थित म्याग्दी दान र कुस्मामा स्टेशन निर्माण भइरहेको छ ।

म्याग्दीको ३८ कि.मि. दूरीबाट आउने प्रसारण लाइन कुस्मामा आउने छ । त्यस्तै कुस्माको ८८ कि.मि. दूरीको प्रसारण लाईन बडेरा स्टेशनमा आएपछि यहाँबाट बुटवल, नवलपरासी, चितवन र तराईका जिल्लामा विस्तार हुने सुवेदीले बताए ।

सरकारले तराई क्षेत्रमा हुने विद्युत कटौती र लोडसेडिङको समस्यालाई हटाउन आयोजना सुरु गरेको आयोजनाले जनाएको छ । स्टेशनबाट प्रसारण हुने विद्युत तराईका लागि प्रयाप्त हुने र अन्य विद्युत भारतमा बिक्री गर्ने उद्देश्यसमेत सरकारको रहेको बताइएको छ ।

एडिबीको सहयोगमा सञ्चालित कुल ९ अर्बको पूरा आयोजना अन्तरगत अन्य दुई स्थानमा भने स्टेशन निर्माणको काम धमाधम भएको छ । बडेरामा मात्रै स्थानीयको अवरोधका कारण हुन नसकेको हो । निर्माण कार्य सकिएको करिब डेढ वर्षमा स्टेशनबाट विद्युत प्रसार हुने आयोजनाले जनाएको छ ।

आयोजनामा भएको अवरोधबारे प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूहरु तयार रहेकाले काम सुरु गर्न आग्रह गरेका छन् । शान्ति सुरक्षाभन्दा पनि दिर्घकालिन समस्या समाधानका लागि स्थानीयस्तरमै छलफल आवस्यक रहेकाले त्यसका लागि पहल भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.