डोटीमा कर्मचारी अभाव, एउटै सचिवलाई ४ वडाको जिम्मा

डोटीमा कर्मचारी अभाव, एउटै सचिवलाई ४ वडाको जिम्मा

डोटी : डोटी आदर्श गाउँपालिका निवासी गणेश राज ओझा वडा सचिव हुन्। उनले आफ्नै गाउँपालिकाका चारवटा वडामा सचिवको जिम्मा लिएका छन्। उनी वडा नम्बर ३, ४, ६ र ७ मा काम गर्दै आइरहेका छन्। प्रत्येक वडामा एक÷एक जना सचिवको दरबन्दी रहेपनि सचिव अभावका कारण ओझा एक्लैले ४ वडाको जिम्मेवारी समाल्नुपर्ने बाध्यता आएको हो।

आदर्श गाउँपालिकामा जम्मा ७ वडा रहेका छन्। ७ वडामा तीनवटा वडामा मात्र दरबन्दीमा सचिव रहेका छन्। बाँकी ४ वडामा सचिव छैनन्।'चारवटा वडामा काम गर्न साह्रै समस्या भइरहेको छ,' सचिव ओझाले भने, 'अन्यत्र सरुवा गरौं भन्दा पनि मानिरहेका छैनन्।'

'प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा सरुवा भइसकेको थियो तर गाउँपालिकाबाट सहमति नदिँदा सरुवा भएन, ओझाले भने, 'सचिवको कमी छ भन्दै अध्यक्षले सहमति नै दिएनन्।' उनले भने,'न त अतिरिक्त सेवा सुविधा छ, काममा मात्र खटिनुपर्छ।'

डोटीमा जम्मा ६५ वटा वडा छन्। ६५ वडामा ३४ वटा वडामा मात्र दरबन्दीमा सचिव रहेका छन् भने बाँकी ३१ वडा सचिवबिहीन छन्। प्राय सबै सचिवले अतिरिक्त वडाको काम सम्हालेका छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई समेत समस्या भइरहेको छ।

शिखर नगरपालिका- ६ मा काम गर्दै आएका सचिव खगेन्द्रप्रसाद भट्टले वडा नम्बर ५ को कामकाज समेत सम्हालेका छन् । 'प्रत्येक दिन दुईवटै वडामा भ्याउन नसकिने भएकाले सेवाग्राहीलाई समस्या भएको छ, 'भट्टले भने, 'एक वडाबाट अर्को वडामा जान करिब पाँच घण्टा लाग्ने गर्दछ।'

यो एउटा उदाहरण मात्रै हो, डोटीका अन्य गाउँपालिकाका वडामा पनि एक वडा कार्यालयबाट अर्को वडा कार्यालयमा जानै एक दिन लाग्छ। अधिकांश वडा कार्यालयको अधिकांश कामकाज कार्यालयका प्राविधिक तथा कार्यालय सहयोगीले गर्नुपर्ने बाध्यता रहेको छ । सबै वडामा नायब सुब्बास्तरका सचिव हुनुपर्ने व्यवस्था रहेपनि अधिकांश वडामा खरिदारस्तरकै कर्मचारी सचिवको रुपमा काम गरिरहेका छन्।

डोटीको एक मात्र पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकामा नौ वडा रहेका छन्। नौ वडामा दुईवटा वडामा मात्रै सचिव रहेका छन् भने सातवटामा विकासे कर्मचारीले काम चलाइ रहेका छन्। सरकारी दरबन्दीमा निजामती कर्मचारी हुनुपर्ने भएपनि कर्मचारी अभावका कारण विकासे कर्मचारीले काम चलाउनु परिरहेको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ।

डोटीका जोरायल गाउँपालिकाका जम्मा छ वडामा ३ वटामा मात्रै सचिव रहेका छन् भने तीन वडामा दरबन्दी रिक्त रहेको छ। त्यसैगरी बड्डीकेदार गाउँपालिकाका जम्मा पाँच वडामा तीनवटामा मात्रै सचिव रहेका छन् भने दुई वडामा दरबन्दी रिक्त रहेको छ। बोगटान गाउँपालिकाका जम्मा ७ वटा वडामा ५ वडामा मात्रै सचिव छन् भने अन्यमा दरबन्दी रिक्त रहेका छन् ।

शिखर नगरपालिकाका ११ वटा वडामा छ वडामा मात्रै सचिव रहेका छन् भने ५ वडा सचिवबिहीन छन्  पूर्वीचौकी गाउँपालिकाका ७ वडामा ४ वडामा मात्रै सचिव रहेका छन् भने बाँकी वडामा सचिव छैनन् । त्यसैगरी केआईसिंह गाउँपालिकाका ७ वटा वडामा २ वटा वडा सचिवबिहीन रहेका छन् भने ५ वडामा सचिव रहेका छन्।सायल गाउँपालिकाका छ वडामा ३ वटामा सचिव रहेका छन् भने ३ वडा सचिवबिहीन रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.