स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप

स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप

काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप लगाइएको छ। कोषले २०७५ असोजसम्म लगानी गरेको ८ अर्ब रकममा ठूलो अनियमितता भएको केन्द्रको निष्कर्ष छ। केन्द्रले चार महिना लगाएर तयार गरेको प्रतिवेदनमा कोषको लगानी ‘बलुवा पानी’ भएको उल्लेख छ।

कोषले भने केन्द्रबाट खटिएका टोलीले स्थलगत अध्ययन नगरी सहकारी संस्थाले लगानी गरेको कर्जाग्राहीको विवरण उतारेर प्रतिवेदन बनाइएको आरोप लगाएको छ। कतिपय जिल्लामा केन्द्रको टोली स्थानीय सहकारी संस्थासम्म पनि नपुगी आफू बसेको होटलमै सहकारीका पदाधिकारीलाई बोलाएर व्यवसायीको विवरण बनाएको पाइएको कोषको दाबी छ।

केन्द्रले तयार पारेको प्रतिवेदनले व्यवसायीको यथार्थ अवस्था चित्रण गर्न नसकेको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमको भनाइ छ। लगानी कोषको उद्देश्य र निर्र्देशिकाअनुसार काम भइरहेको उनको दाबी छ। कोषले स्वरोजगारका नाममा खर्चेको ठूलो रकम अनियमितता भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले अन्नपूर्णलाई बताए।

केन्द्रको अनुसन्धानमा कोषबाट स्वरोजगार बनेको भनिएका व्यक्ति त्यसअघि व्यवसायमा आबद्ध रहेको पाइएको थियो। कोषले झूटो दाबी गरेकाले उसले खर्चेको अर्बौं रुपैयाँको खोजी आवश्यक रहेको अर्यालको भनाइ छ। कोषमा भएको अनियमिततासहितको विवरण प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ।

कोषले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मार्फत सञ्चालन गरेका तालिम प्रभावकारी हुन नसकेपछि बन्द गरेको थियो। अहिले अभिमुखीकरण र अनुशिक्षण सञ्चालन गरिँदै आएको छ। तालिममा करोडौं खर्चिए पनि उपलब्धि शून्य भएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

‘करोडाैं रुपैयाँ खर्च भई उपलब्धि शून्य देखिएकाले तालिमको औचित्य पुष्टि हुन सकेन’, प्रतिवेदनमा भनिएको छ। कोषबाट तालिम सञ्चालन गर्न आव २०६५/६६ देखि २०६७/०६८ सम्म उद्योग वाणिज्य महासंघले १० करोड ८९ लाख ९८ हजार, नेपाल चेम्बर अफ कमर्सले ३८ लाख गरी ११ करोड २७ लाख ९८ हजार पेस्की लिएका थिए। पेस्कीमध्ये महासंघ र चेम्बर अफ कमर्सले ९ करोड ६८ लाख २६ हजार फस्र्योट गरिसकेको डा. कार्यकारी निर्देशक गौतमले बताए।

कोषले ७ अर्ब ७३ करोड ४ लाख २५ हजार लगानी गरेको छ। त्यसमध्ये हालसम्म ३ अर्ब ५९ करोड ३१ लख ३३ हजार असुली भएको छ। ४ अर्ब २२ करोड ७ लाख ४१ हजार लगानी भएको छ। यसमध्ये भाका नाघेको २७ करोड ५ लाख ६४ हजार असुल गर्न बाँकी छ। भाका नाघेको कर्जा असुल्ने काम भइरहेको कोषका सूचना अधिकारी सम्झना वाग्लेले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.