चार करोडको स्याउ र केरा भित्रियो
वीरगन्ज : दसैंतिहार र छठ पर्वलाई लक्षित गरी वीरगन्ज नाकाबाट चार करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ र केरा आयात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्म भारतबाट वीरगन्ज नाका हुँदै दुई करोड ८२ लाख ४७ हजार रुपैयाँको ६ लाख १३ हजार केजी स्याउ र एक करोड ३८ लाख ४८ हजारको केरा भित्रिएको छ।
आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा वीरगन्ज नाका हुँदै चार करोड ७५ लाख ७६ हजारको १८ लाख ४१ हजार केजी स्याउ र केरा भारतबाट आयात भएको थियो। यसमा तीन करोड १० लाख ३८ हजार रुपैयाको ६ लाख ९१ हजार दुई सय ३० केजी स्याउ र एक करोड ६५ लाख ३८ हजारको ११ लाख ५० हजार केजी केरा थियो।
गत वर्षको तुलनामा यसवर्ष ५४ लाख ८१ हजार रुपैयाँ कम मूल्यको स्याउ र केरा आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। पछिल्लो समय स्वदेशमा पनि यी वस्तुको उत्पादन बढेका कारण आयात घटेको हो। भारतभन्दा चीनबाट स्याउ आयात बढ्दै गएका कारण पनि भारततर्फको आयात कम देखिएको छ। वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका निवर्तमान अध्यक्ष विदुरप्रसाद कलवारुले नेपालमा केराखेती बढ्दा आयात घटेको जानकारी दिए।

वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने केरामध्ये हरियो र लामो आकारको केरा भारतको आसामबाट र पहेलो साना आकारको केरा हाजीपुर र मुजफरपुरबाट ल्याउने गरिएको अध्यक्ष कलवारले बताए। स्याउ भने काश्मीरबाट ल्याइन्छ। तर वीरगन्ज र यस आसपासका बजारमा पछिल्लो समय भारतीय स्याउले २५ प्रतिशत मात्र हिस्सा ओगटेको र ७५ प्रतिशत स्याउ चीनबाट काठमाडौं हुँदै वीरगन्ज र यस आसपासका बजारमा आउने गरेको अध्यक्ष कलवारको भनाइ छ। चीनको स्याउ सस्तो हुन्छ।
राजस्व बढ्यो
चालु आवको कात्तिक १५ सम्म भारतबाट भित्रिएको स्याउ र केराबाट मात्रै वीरगन्ज भन्सार कार्यालयले ४२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। स्याउ आयातबाट २८ लाख ८७ हजार र केराबाट १३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !