मधेसमा दीपावलीसँगै छठ पर्वको पनि रौनक
वीरगन्ज : दिपावलीसँगै तराइ मधेसमा छठ पर्वको रौनक पनि सुरु भइसकेको छ । असोज महिनाको कृष्ण पक्षको औंशी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दिपावली मनाइन्छ ।
लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत रुपमा रुपमा सुरु हुन्छ । छठ पूजा तराइ मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । दिपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोश्रो ठूलो चाडको रुपमा लिइन्छ ।
तराइ मधेसका बजारहरुमा अहिले दिपावलीको लागि किनमेल गर्नेहरुले छठ पूजाका लागि पनि बन्दोवस्ती गरिसकेका छन् । दिपावली सकिएलगत्तै चार दिन पछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्ग्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दीयो, कपडा, फलफूल, तेल, मशला जस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकहरुको घुइँचो छ ।
वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोकसम्म सडकमा पसलेहरुले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामाग्री र माटाका सामाग्रीहरुका करिब दुई सयको संख्यामा पसलहरु संचालन गरिसकेका छन् ।
दिपावली र छठको सरसामान एकै पटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीयहरु दुबै चाडका सामाग्री किनमेलका लागि बजार धाउँदै छन् । सोमबार वीरगन्जको घण्टाघर चोकमा छठका लागि बाँसको चोयबाट बनाइएको टोकरी किन्दै गरेकी वीरगन्ज बगहीकी सुरसती देवीले भनिन्, ‘अहिले दिवालीमै किन्यो भने छठका बेला फेरि बजार धाउनु पर्दैन ।’
छठका बेला बजारमा दिपावलीको भन्दा अझ बढी भिडभाड हुने भएकाले दिपावलीकै किनमेलका बेला छठको लागि सामान किनेको पनि उनले बताइन् । घण्टाघर चोकमा बाँसको टोकरी र नाङ्ग्लोको पसल थापेका वीरगन्ज बजार छपकैयाका हरिन्द्र महराले पनि छठ पूजा गर्नेहरुले दिपावलीकै बेलादेखि छठका सामानको किनमेल सुरु गरिसकेको बताए ।
‘छठपूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा (टोकरी) र सुपली अनिवार्य चाहिन्छ, उनले भने,’ तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उनले बताए ।
छठ पर्वका लागि नदी, पोखरी, ताल लगायत जलाशयमा छठीघाटको सरसरसफाइ र सजावटको काम पनि सुरु भइसकेको छ । नदी, तलाउ, पोखरी लगायत जलाशयमा सरसफाइ गरेर त्यहाँ आकर्षक ढङ्गले टेन्ट पण्डाल र झिलीमीली बिजुदी बत्तीहरुले सजाउने काम भइरहेको छ ।
तीन दिनसम्म उपवास बसी मनाइने छठ पूजा पछिल्लो समय तराइ मधेसमा मात्रै नभइ नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दुहरुको पर्व भनिएको भए पनि छठी माता प्रतिको आस्थाबाट प्रभावित भइ तराइ मधेसका मुस्लिम धर्मावलम्बीहरुले पनि छठ पर्वको ब्रत लिएर छठीमाताको पूजा आरधना गर्दै आएका छन् ।
भोजपुरी भाषा र संस्कृतिका जानकार उमाशंकर द्विवेदीका अनुसार छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराइ मधेसलाई जोड्ने साझा पर्वको रुपमा विकास हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !