दशरथ रंगशालाकाे मर्मत सुस्त
काठमाडौं : नेपाली खेलकुदमा सर्वाधिक चासोका रूपमा हेरिएको दशरथ रंगशालाको मर्मत सुस्त हुँदा घरेलु र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता प्रभावित बन्दै आएका छन्। २०७२ सालको भूकम्पका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला जीर्ण बनेको थियो।
समयमै रंगशाला मर्मत नहुँदा नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)समेत पटकपटक सर्दै आएको छ। यसअघि साग आगामी फागुनमा आयोजना गरिने तय भएको थियो। रंगशाला लगायत संरचनाको तयारीका लागि अझै समय लाग्ने भएकाले साग फेरि ६ महिना पर सारिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा हालै बसेको बैठकले सागको नयाँ मिति तय गरेको हो। बैठकले सन् २०१९ को सेप्टेम्बर र अक्टोबर महिनामा नेपालमा साग आयोजन गर्ने निर्णय गरेको छ।
रंगशालामा पूर्ण रूपमा तयार हुन असारसम्म पर्खनु पर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले बताए। ‘साग आयोजनाका लागि पहिलो सर्त भौतिक संरचना हो। जीर्ण अवस्थामा रहेको रंगशालाको मर्मतले पूर्णता पाउन समय लाग्छ। फागुनसम्म प्यारापिट, कभर्ड हललगायत संरचना तयार भइसक्नेछ। भीआईपी प्यारापिट, रंगशालाको ट्र्याकलगायत संरचनामा अझै केही समय पर्खनुपर्छ’, उपाध्यायले भने।
अहिले चीन सरकारको प्राविधिक सहयोगमा रंगशालालगायत राखेप परिसरमा रहेको खेलकुदको संरचना निर्माण भइरहेको छ। खेलकुदको भौतिक संरचना निर्माणको काम राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाको जिम्मेवारीमा पर्छ। राखेपले दशरथ रंगशालाको प्यारापिट र कभर्डहल मर्मतका लागि चालू आर्थिक वर्षमा मात्र १८ करोड रुपैयाँ खर्च गरेको जानकारी पनि उपाध्यायले दिए।
राखेपका प्रमुख इन्जिनियरसमेत रहेका उपाध्यायका अनुसार २०७२ सालको भूकम्पका कारण भत्किएको भीआईपी प्यारापिट फास्ट ट्र्याकमा निर्माण गर्न नेपाली सेनासँग सैद्धान्तिक सहमति भएको थियो। तर सेनाले नमानेका कारण छाना भत्काएर पुरानै प्यारापिटमा जस्ताको छाना हालिन लागिएको छ। बनिसक्नुपर्ने समयमा भीआईपी प्यारापिटको छानो फाल्न मात्र नौ महिना लागेको उपाध्यायले बताए। ‘सरकारले चासो दिएमात्र समयमा काम हुने हो। राखेपले भीआइपी प्यारापिट भत्काउन त्रिपुरेश्वर सडकको ट्राफिक व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग मागे पनि गृहले सहयोग नगर्दा ढिलो भयो’, उपाध्यायले भने।
_20181111021339.jpg)
भीआईपी प्यारापिट मर्मत र जस्ताको छाना हाल्न टेन्डर भइसकेकाले असारसम्म दर्शकका लागि बस्नयोग्य हुनेछ। चीन सरकारकै सहयोगमा रंगशालाको फर्ड लाइट मर्मत, नयाँ स्कोर बोर्ड र साउन्ड सिस्टमको काम पनि भइरहेको छ। ट्र्याक एन्ड फिल्ड बनाउन चीन नै इच्छुक देखिएको छ। ट्र्याक निर्माणमा चीनले छिटो ठाउँ खाली गर्न आग्रह गरेकाले प्यारापिट निर्माण सकिएपछि चीनलाई नै ट्र्याक बनाउन दिने राखेपको तयारी छ।
राखेपले जीर्ण साधारण प्यारापिट निर्माण कार्य भूकम्पअघि नै सुरु गरेको थियो। २०६९ जेठदेखि साधारण प्यारापिटको रेट्रोफिटिङ सुरु गरिए पनि साधारण प्यारापिट अझै तयार भएको छैन। प्यारापिटको रेट्रोफिटिङ र मर्मतमा मात्र राखेपले पछिल्लो ६ वर्षमा वार्षिक १० देखि १३ करोड रुपैयाँ खर्च गर्दै आएको छ।
भूकम्पका कारण दशरथ रंगशालाको भीआईपी प्यारापिटसहित पौडीपोखरी, कभर्डहल, खेलाडी छात्रावास, मेडिकल सेन्टर र राखेप सचिवालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। राखेपको दैनिक काम चलाउन प्रशासनिक भवन (सचिवालय)को मुख्य खाँचो भएकाले यही आर्थिक वर्षमा सकिने गरी साढे तीनतले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण पनि सुरु भएको छ।
पौडी पोखरी परिसर र छात्रावास भवन भत्काउने काम सकिए पनि त्यहाँ के बनाउने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। संरचना निर्माणका लागि जनशक्ति, समय र बजेट पनि मुख्य विषय भएकाले एकैपटक सबै काम गर्न नसकिएको राखेपको भनाइ छ। सरकारले १३औं साग गेम्सका खेलहरू काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !