पवित्र छठमा पैसाको प्रभाव

पवित्र छठमा पैसाको प्रभाव

वीरगन्ज : विशेषगरी तराई मधेसमा मनाइने छठ पर्व बर्सेनि भड्किलो र खर्चिलो बन्दै गएको छ । छठपर्वमा नदी,खोला, तलाउ, पोखरी लगायतका जलाशय र त्यसवरिपरिको स्थानलाई सफा गरी पवित्र बनाएर छठघाट तयार पारिन्छ । 

त्यही छठघाटको जलाशयमा सूर्य र छठी मातालाई अर्घ दिँदै छठ पूजा मनाइन्छ । तर पछिल्लो एक दशकदेखि छठ घाट (जलाशय) को सरसफाइ, सजावट र भड्किलो श्रृंगारका नाममा लाखौँ रुपैयाँ खर्च गर्ने चलन निक्कै बढेको छ । 

वीरगन्जमा मात्रै यसपालि ६० भन्दा बढी स्थानमा छठ घाट बनाइएको छ । एउटा छठ घाटको सरसफाइ र सजावटमा मात्रै तीन देखि १२ लाख रुपैयाँसम्म खर्च गरिएको छ । औसतमा एउटा छठ घाटको सजावट खर्च पाँच लाख रुपैयाँ मात्र पनि मान्ने हो भने पनि वीरगन्जमा यसपालिको छठ घाट सजावटमा मात्रै तीन करोड भन्दा बढी रकम खर्च गरिएको छ ।

एक दशक पहिलेसम्म वीरगन्जमा घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरी, इनर्वा पोखरी, लक्ष्मण वाको पोखरी, जिल्ला प्रहरी कार्यालय छेउको पोखरी, बहुअरबी गरी एक दर्जन जलाशयमा मात्र छठ घाट स्थापना गरेर छठ पूजा गरिन्थ्यो । 

तर एक दशक यता वीरगन्ज महानगरका पाँच दर्जन भन्दा बढी जलाशयमा छठ घाट स्थापना गरेर छठ पूजा मनाउन थालिएको छ । 

यसपालि घडीअर्वा, रानी घाट, नगवा, मुर्ली, छपकैया, बहुअरबी, इनर्वाका साथै आदर्शनगरको स्वीमीङ पुल, रानीघाटकै रामगढवा, अशोकवाटिका, बजार छपकैया, श्रीपुरका गरी ६० भन्दा बढी स्थानका जलाशयमा छठ घाट बनाइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी बताउँछन् ।

'अहिलेसम्म मैले महानगरका ५६ वटा छठघाटको स्थलगत निरीक्षण गरेर त्यहाँको तयारीको बारमा जानकारी लिइसकेको छु, नगवामा मात्रै नौ वटा छठ घाट बनाइएको छ', उनले भने, 'मलाई लाग्छ यसपालि महानगरमा मात्रै ६० भन्दा बढी छठ घाट बनाएर छठको तयारी भइरहेको छ ।

एक दशक यता एउटै टोलमा पनि छुटटा छुट्‍टै छठ घाट बनाएर छठ पूजा मनाउने होडबाजी चलेका कारण छठ पर्व खर्चिलो बन्दै गएको हो । 

त्यसमा पनि छठ घाटमा आकर्षक टेन्ट पण्डाल लगाउने, झिलिमिली विद्युतीय बत्ती र फुलले सजाउने, गीतसङ्गीत बजाउनका लागि ठुला ठूला साउण्ड सिस्टम जडान गर्ने प्रतिस्पर्धा बढ्दै गएको छ । जसका कारण छठ पर्व झन् भड्किलो र खर्चिलो बन्दै गएको हिन्दु धर्म संस्कृतिका जानकार बताउँछन् । 

वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सरसफाइ र सजावटमा मात्रै यसपालि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल गुप्ताले जानकारी दिए ।

यस्तै रानी घाट छठघाटको सजावटमा यसपालि पाँच लाख ५० हजार रुपैयाँ खर्च गरिएको छठ पूजा व्यवस्थापन समितिका सल्लाहकार किरण कलवारले जानकारी दिए । 

लक्ष्मण वाको छठ घाट सजावटमा पनि यसपालि पाँच लाख ५० हजार र आदर्शनगरको स्वीमीङ पुल छठघाटमा पाँच लाख रुपैयाँ खर्च गरिएको छ । 

खर्चको होडबाजीले छठको मौलिकता ओझेलमा 

पवित्रता, भक्ति र तपस्याको पर्व छठ पर्वमा प्रकृति (छठी माता ) र पुरुष (सूर्य भगवान्) को पूजापाठ गरिने भए पनि पछिल्लो समय खर्च गर्ने होडबाजीले छठ पूजालाई पर्व भन्दा बढी उत्सव र मेला बनाउँदै लगेको छ । यसले गर्दा खर्चको होडबाजी बढेको भोजपुरी भाषा र संस्कृतिविद् उमाशङ्कर द्विवेदी बताउँछन् । 

'छठीमाताका लागि के गरिब के धनी सबै एक समान हुन्छन्, तर पछिल्लो समय छठ घाट सजाउने नाममा होडबाजी गरेर लाखौँ रुपैयाँ खर्च गर्न थालिएको छ, जुन छठमा भित्रिएको विकृति नै हो', उनी भन्छन्, 'छठ पूजा पवित्रताको पर्व हो, तर यसलाई पर्व नभई उत्सव र मेलाका रूपमा मनाउन थालिएको छ, यसले छठ पूजाको आफ्नो मौलिकतालाई समाप्त पारिरहेको छ ।' 

छठ घाट सजावटमा भइरहेको लाखौँको खर्चको छठपूजासंग धार्मिक रूपले कुनै साइनो नरहेको भन्दै उनले यो सबै खर्च फजुल मात्र भएको बताए । 

भोजपुरी भाषमा नेपालमा पहिलो पटक विद्यावारिधि गरेका डाक्टर विश्वम्भर शर्मा पनि छठ पूजा भड्किलो र खर्चिलो बन्दै गएकाले यसले छठपूजाको मौलिकता ओझेलमा पर्दै गएका बताउँछन् । 

'छठ पूजा कुनै उत्सव होइन यो पवित्रता र प्रकतिको पूजा गर्ने पर्व मात्रै हो,' शर्मा भन्छन्,‘ तर पछिल्लो समय खर्चका नाममा वैभव प्रदर्शन गरेर छठ पूजालाई पर्व नभई उत्सव बनाउन थालिएको छ ।'

सजावटको नाममा लाखौँ रुपैयाँ खर्च गरेर छठघाटलाई छठ पूजा गर्ने धार्मिक स्थल नभई कृत्रिम एवं देखावटी सजावट गरेर बिहेको मण्डप जस्तो बनाउन थालिएको भन्दै उनी भन्छन्, 'यसले छठ पर्वको आफ्नो मौलिकता सकिँदै गएको छ, यसलाई जोगाउन जरुरी छ ।' 

छठघाटको सजावटमा केही वर्ष यता देखि भइरहेको खर्च, फजुल लाग्न थालेको लक्ष्मणवा छठ पूजा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वर यादव स्वयम‍् स्विकार्छन् । 

'हाम्रो गाउँमा वर्षौँ देखि छठ पूजा हुँदै आएको छ, २०५८ साल देखि यता मात्रै पण्डाल र झालरबत्ती सजाउन थालिएको हो, त्यो बेला एक लाखको हाराहारीमा मात्रै खर्च हुन्थ्यो', यादवले भने, 'तर त्यो खर्च बर्सेनि बढ्दै गएर यसपालि पाँच लाख ५० हजार जति पुगेको छ ।' 

बर्सेनि भइरहेको खर्च फजुल लाग्न थालेकाले आगामी वर्षदेखि सजावटको खर्चमा कटौती गर्ने सोच आफूहरूले बनाएको यादवले बताए ।   

मधेसमा छठ घाट सजावटमा लाग्ने खर्च, स्थानीय वासी, व्यापारी, उद्योगी, सङ्घसंस्था, सरकारी कार्यालयबाट चन्दा सहयोग मागेर जुटाउने गरिएको छ ।यसका साथै स्थानीय तह र जनप्रतिनिधिले पनि आर्थिक सहयोग गर्ने गरेका छन् । 

वीरगन्ज महानगरपालिकाको कार्यालयले मात्रै यसपालि महानगरका विभिन्न स्थानका छठघाटमा आर्थिक सहयोगका लागि २० लाख रुपैयाँ विनियोजन गरेको महानगर प्रमुख सरावगीले जानकारी दिए । 

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पनि वीरगन्ज महानगर भित्रका करिब १५ स्थानका छठघाटमा आर्थिक सहयोग गरेको बताउँछन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.