झलनाथ भन्छन् : मलाई माधवजीको गुटको फेद टुप्पो केही थाहा छैन

झलनाथ भन्छन् : मलाई माधवजीको गुटको फेद टुप्पो केही थाहा छैन

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । 

आइतबार झापाको बिर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले जुनरूपले काम गर्नुपर्ने हो त्यो गतिमा सरकार अघि बढ्न नसकेकाले आफ्नो गति र बेग बढाउनुपर्ने बताए । 

‘मुलुकमा अब विकास र समृद्धि हुने कुरामा शङ्का गर्नु हुँदैन', उनले भने, 'तर समृद्धि र विकासलाई गति दिन सरकारको बेग बढ्नुपर्छ ।’

देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले क्रान्ति, हडताल र सङ्घर्षको युग सकिएकाले अब विकास र समृद्धिको दिशामा जान अन्य कुरामा सरकार अलमलिन नहुने बताए । 

‘सरकारले समृद्धिका पाइला चल्न थालेको छ, ती पाइलाहरूमा अझै वेग थप्न जरुरी रहेको छ’, उनले भने, ‘अझै गति थपे मात्रै सरकार आफ्नो लक्षमा पुग्छ ।' 

सरकारको समीक्षा हुन्छ

सरकारले कतियप कुरामा गति ल्याउन नसकिरहेको प्रश्न उठिरहेकाले ती कुराको समीक्षा गर्न नेकपा लागिरहेको उनले बताए । ‘सरकारको गतिको विषयमा पार्टीमा छलफल भइरहेको छ, पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बसेर प्रक्रियाको समीक्षा गर्ने तयारीमा लागेका छौँ,’ नेता खनालले भने । 

उनका अनुसार यसअघि नै स्थायी कमिटीको बैठक बसेर छलफल गर्ने तयारी गरे पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण छलफल हुन नसकेको उनले बताए । 

अहिले अध्यक्ष तथा प्रधामन्त्री ओलीको पनि स्वास्थ्यमा सुधार आएको र अन्य नेता पनि फुर्सदिला बनेकाले चाँडै स्थायी कमिटी बैठक बोलाउने तयारी गरिएको खनालले बताए । 

गुटको कुरा वाहियात 

पार्टी एकताको विषयमा बोल्दै नेता खनालले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकता नभई गुट सुरु भएको भन्ने समाचार आएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘माधव नेपालको गुट सुरु भयो भन्ने समाचार आएको छ रे, मलाई यो गुटको विषयमा टुप्पो, फेद केही थाहा छैन,’ उनले भने,‘यो सबै वाहियात कुरा मात्रै हो ।’

नेतृत्वको कमजोरीले एकीकरण अलपत्र

नेता खनालले पार्टी एकीकरणको लामो समयसम्म पनि तल्लो तहसम्म एकीकरणको रूप दिन नसक्दा असन्तुष्टि चुलिएको बताए । 

‘पार्टी एकता गरेको छ महिना पुग्यो, यो सयममा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बनायौँ, तलका सबै कमिटी र वर्गीय सङ्गठन भङ्ग गरिएको छ', खनालले थपे, 'यसलाई एकीकरण गर्न नसक्दा पार्टी भित्र असन्तुष्टि चुलिएकै हो, यसमा नेतृत्व तह गम्भीर बन्नुपर्छ ।’

उनले यो विषयमा नेता कार्यकर्ता नै असन्तुष्ट रहेको बताउँदै यसको डिग्री मात्रै फरक भएको बताए । यो विषयको छिनोफानो पनि अब बस्ने स्थायी कमिटीको बैठकले लगाउने उनको भनाई छ । एकीकरण टुङ्ग्याउनुको अर्को विकल्प नरहेको बताउँदै खनालले नेतृत्वको कम्जोरीका कारण समय लागेको पनि दाबी गरे । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.