मुख्यमन्त्रीको समीकरण भत्काउने मेरो अभियान हुन्छ

मुख्यमन्त्रीको समीकरण भत्काउने मेरो अभियान हुन्छ

मन्त्रिपरिषद् बैठकमा अभद्र व्यवहार गरेको आरोपमा बर्खास्त गरिएका प्रदेश ३ भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितसँग अन्नपूर्ण पोष्ट दैनिकका लागि रामकृष्ण अधिकारीले गरेको कुराकानी:


प्रदेश सरकारमा मन्त्रीको कार्यभार सम्हालेको नौ महिना पुग्दानपुग्दै मन्त्रीबाट बर्खास्तगीमा पर्नुभयो त?

उहाँ र म प्रतिस्पर्धी। उहाँ दलको नेता बन्ने बेलामै हामीले एक ठाउँ बसेर मुख्यमन्त्री उहाँ हुने, मैले भौतिक पूर्वाधारमन्त्री भएर वरिष्ठ मन्त्रीका रूपमा काम गर्ने सहमति बनेको थियो। त्यही सहमतिअनुसार उहाँ संसदीय दलको नेता बन्नुभयो। उहाँलाई उपत्यकाका सबै सांसदहरूले भोट दिएर मुख्यमन्त्रीको बाटो खुला गरेको हो। त्यही पूर्ववत् निर्णयकै आधारमा म मन्त्री भएको हुँ। तर वरिष्ठ मन्त्री बनाइएन। मैले त्यसबेलै भनेको थिएँ, यो सरकारको म्याच मिल्दैन। उहाँको र मेरो काम गराइको शैली नै मिल्दैन। गाडा चलाउनेहरूसँगै हेलिकप्टर चलाउने पाइलट राख्दा अप्ठ्यारो हुन्छ। तर सबैतिरबाट मिलेर जाने कुरा आएपछि उहाँलाई नेता मानेर हामी हिँडेका हौं। तर उहाँले मलाई सधैं प्रतिस्पर्धी देख्नुभयो। विभिन्न बहानाबाजी गरेर मलाई पाखा लगाउने षड्यन्त्र बुन्न थाल्नुभयो। त्यसैको एउटा कडीमा अहिले यो प्रकरण अगाडि आएको हो।

मुख्यमन्त्रीले तपाईं मन्त्रिपरिषद् बैठकमै अमर्यादित रूपमा प्रस्तुत भएको, आफ्नो मन्त्रालयको काममा असक्षम भएको र अनियमितता गरेको आरोपमा बर्खास्त गर्नुभएको भनिन्छ त?

मलाई अपदस्थ गर्न लगाएका कथित आरोप मात्र हुन् ती। अमर्यादित, असक्षम र अनियमितताको मुख्य तीन आरोप ममाथि उहाँले लगाउन खोज्नुभएको छ। अक्षमताको कुरा अलिक बढी उठाउनुभएको छ। जिरो पर्सेन्ट पर्फमेन्सको आरोप लगाउनुभएको छ। दसैं अगाडिसम्म हाम्रो संगठन कस्तो भन्ने नै थिएन। कर्मचारी थिएनन्। बल्ल संरचना बनेको छ। उहाँलाई कर्मचारी ल्याउन, संरचना निर्माण गर्न केन्द्रबाट अटेरी भए सामूहिक आवाज उठाऔं भनेको हो मैले। भएन। बल्ल दसैंअगाडि संरचना निर्माण भयो। यो अवस्थामा पर्फमेन्स भएन भन्ने प्रश्न उठाउनै सकिँदैन। तर फेरि कामै नभएको भन्ने होइन। बजेट आइसकेपछि रसुवाबाहेकका १२ जिल्ला घुमेर मैले पाएको १३ अर्बमध्ये (दुई अर्ब एसियाली विकास बैंक र वल्र्ड बैंकले खर्च गर्ने) बाट ११ अर्बमध्येको दसैंअगाडि नै साढे चार अर्बको टेन्डर गर्ने डकुमेन्ट तयार भएको छ। अहिलेसम्म यसरी कुनै प्रदेशले टेन्डर निकालेको छैन। हाम्रो प्रदेशकै पनि कुनै मन्त्रीले निकालेको छैन। तर मेरोमा त्यो प्रक्रिया अगाडि बढेको थियो। तर उहाँलाई प्रतिस्पर्धामा मभन्दा यो अगाडि आउने भयो भन्ने लागेपछि त्यस्तो अरोप लगाउन थाल्नुभएको हो।

तपाईंले सम्हालेको मन्त्रालयमा जुन स्पिरिटमा काम हुनुपर्दथ्यो, त्यो भएन। आफ्नो मन्त्रालयमा नबसी जिल्ला–जिल्ला घुम्ने काम मात्र तपाईंले गर्नुभयो, यो कुरा उठाउँदा तपाईंले क्याबिनेटमै गालीगलौजमा उत्रेर ‘थ्रेट’ नै दिनुभयो रे त?

त्यो दिन म क्याबिनेटमा जान खोजेकै थिइनँ। मेरो चीन भ्रमणको तयारी पनि गर्नु थियो। मैले त्यही दिन बिहान मुख्यमन्त्रीसँग दुई घन्टा बढी समय आफ्नो मन्त्रालयको कामलगायत विषयमा कुरा गरेको थिएँ। उहाँलाई मेरो मन्त्रालयअन्तर्गतका योजनाहरूको डेटलाइनसहितको बुकलेटमा विस्तृत विवरण उपलब्ध गराएको थिएँ। तर मुख्यमन्त्रीले तपाईंसँग मन्त्रीहरू रिसाएका छन्, बैठकमा जसरी पनि आउनुहोस्, आफ्ना कुरा राख्नुपर्छ भनिरहनुभयो। मन्त्रीहरू मसँग रिसाएका छन् भनेपछि मैले सबै मन्त्रीहरूलाई सोधें, ‘के मसँग चित्त दुखाउनुभएको छ र मैले जिल्ला घुमेको, स्रोत खोजेको र योजनाहरू बनाएकोमा भनें।’ कोही रिसाएका रहेनछन्। त्यसपछि बैठकमा गइयो। फेरि उही कुरा आयो, पर्फमेन्स जिरो भयो भन्ने। उहाँ आफूले लिएको २० करोड रुपैयाँको योजनाका लागि भर्खर कार्यविधि आउने, संगठन छैन, कर्मचारी नियुक्तिमा छलफल गर्ने भन्ने अनि मेरोमा तुरुन्तै नतिजा आउनुपर्ने। यो उहाँको मसँग निहुँ खोज्ने बहानाबाजी मात्र थियो।

क्याबिनेट बैठक सकिएपछि तपाईंले मेरो एउटा कुरा भन्नु छ भन्दै गालीगलौजमा उत्रेको र विवाद भइसकेपछि कर्मचारीले नै समातेर लानुपर्ने अवस्थासम्म निम्तेको भनिन्छ नि?

त्यस्तो भएको होइन। दुईजनाका बीचमा भनाभन भएको हो। उहाँले मलाई असक्षम नै भनेर त्यहाँ घोषणा गर्नुभयो। मलाई अपदस्थ गर्न लाग्यो, राजधानी ताक्न लाग्यो भन्ने आरोप लगाएपछि भनाभन भएको हो। प्रदेश राजधानीको विषयमा म बोलेकै छैन। सांसदहरूको विषय हो। त्यसमा तपाईं पनि बोल्न पाउनुहुन्न। तपाईं विशेषाधिकार प्राप्त मान्छे, राजा–महाराजा होइन। अर्को म जिल्ला गएर षड्यन्त्र गरेर तपाईंलाई अपदस्थ गर्न लागेको होइन। तपाईंले लगाएको जिरो पर्फमेन्सको कुरामा तपाईंको २० करोड भर्खर कार्यविधि ल्याउँदै हुनुहुन्छ। मेरो १३ अर्बको सकियो। मैले बिहान १२ जिल्लाको रिपोर्टिङ गर्दा तपाईंजत्तिको सक्षम कोही छैन। तपाईंले मात्र मेरो नाक जोगाउनुहुन्छ भनेर उहाँले नै भन्नुभएको हो। क्याबिनेट बैठकमा मेरो उपादेयता छैन, चीन भ्रमणको तयारीमा लाग्नु छ, आउँदिन भन्दा मन्त्रीहरू रिसाएका छन्, आउनुहोस्, कुरा राख्नुहोस् भन्नुभयो। सबै मन्त्रीसँग बुझ्दा त्यस्तो पाइनँ। तपाईंले ममाथि झूटो आरोप लगाउन पाउनु हुन्न भनेपछि उहाँले जिल्ला–जिल्ला पुगेर मविरुद्ध षड्यन्त्र गर्ने भन्न थाल्नुभयो। त्यसपछि मैले यतिचाहिँ भनेको हो, ‘हेटौंडाभन्दा माथिको चेतना तपाईंसँग रहेनछ। त्यत्ति नबोलेको भए हुने रहेछ भन्ने लाग्छ।

प्रदेश दल नेता चयन हुनुअगाडि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगै बसेर भएको सहमति भएको हो?

प्रधानमन्त्री ओलीसँग यो प्रदेश सरकार आवधिक भन्ने हाम्रो बीचको कुरा थियो। प्र्रदेश संसदीय दलको नेता चयन गर्नु अघिल्लो रात भएको कुरा थियो त्यो। तर पछि उहाँ आफूले काम गर्न नसकेपछि मविरुद्ध षड्यन्त्र गर्न थाल्नुभयो। त्यसअनुसार नै अहिले यो कदममा उहाँ पुग्नुभएको हो।

तपाईंको बुझाइ मुख्यमन्त्रीसहितका केही मन्त्री तपाईंविरुद्ध योजनाबद्ध रूपमा नै लागेको भन्ने हो?

हो। मलाई एकपटक मनहरीमा गएर रक्सी खाने, कांग्रेससँग बसेर हाफ पाइन्टमा झुमेर बस्ने भन्नेसम्मका आरोप लगाउनुभयो। सानातिना कुरालाई एक ठाउँमा राखेर कुन दिन प्रहार गर्ने भन्ने उहाँहरूको योजना नै देखिन्छ। ‘मि टू अभियान’ अन्तर्गत मविरुद्ध अर्को खालको षड्यन्त्र सुरु भयो। जुन दिन मविरुद्ध त्यस्ता खालका समाचार प्रकाशन भए, त्यसको प्रतिवाद गर्न म काठमाडौं आएँ। तर उहाँसहित केही निश्चित मन्त्रीहरूले एक ठाउँमा बसेर खुसीयाली मनाउनुभयो। पछि फेरि धादिङ सल्यानटारमा पुगेर सपना बाँड्ने, सुनको टुक्रा हुन्छ भनेर जग्गाको भाउ बढाउने भनेरसमेत केही मन्त्रीले ममाथि आरोप लगाउनुभयो। बैठकमा आउँदिन भन्दा आउनैपर्छ भनेर बोलाउने अनि कुरा उकास्ने, उकासेपछि र निहुँ बनाएपछि तनाव भएको हो। उहाँले जे आरोप लगाउनुभएको हो, त्यो सार्वजनिक गर्दै हिँड्ने होइन, मैले ममाथिको आरोप क्यबिनेटमै खण्डन गर्ने हो। प्रतिवाद गरेको हो।

त्यसो भए मुख्यमन्त्रीसँगको अन्तरविरोध दल नेता चयनदेखिकै हो?

सुरुमा मन्त्री भए पनि मेरो अफिस भएन। अरूले अफिस पाए। साढे तीन महिनापछि मात्र मैले अफिस पाएँ। मेरा सीमित कर्मचारी थिए। त्यहाँको सचिव असाध्यै खराब थिए। सचिव फेरौं भनेर उहाँलाई धेरैपटक भनें। तर उहाँले चासै दिनुभएन। म आफैं लालबाबु पण्डितकहाँ धर्ना बसेर मलाई नयाँ सचिव पठाउनुपर्‍यो भन्न जानुपर्‍यो।

नयाँ कानुन बनाउन मैले युवराज संग्रौलाको टिम ल्यायौं र कानुन बनाउन थाल्यौं भने। तयार हुनुभएन। त्यसबेला पनि मलाई मुख्यमन्त्री जस्तो गरी बोल्न थाल्ने भनेर आरोप लगाउनुभयो। त्यही बेलादेखि जहिल्यै तपाईं अफिसमा बस्नुहोस् भनेर जिल्ला जान रोक्न खोज्नुभयो। उहाँलाई मेरो गतिशीलताले सांसदहरू प्रभावित हुनुहोला, जनप्रतिनिधिहरू प्रभावित हुनुहोला, स्थानीय तहमा योजना बढ्ला, सपना देखाउला र आफू लोकप्रिय भएर मलाई अपदस्थ गर्ला भन्ने भय रहेछ। त्यही भएर उहाँ मविरुद्ध योजनाबद्ध रूपमा नै लाग्नुभयो।

मुख्यमन्त्रीको मुल थ्रेट नै तपाईंले उहाँलाई अपदस्थ गर्छ भन्ने नै हो त?

त्यही हो। मुख्यमन्त्रीसँग कुरा राख्नै पाउँदैन भन्ने जसरी उहाँ आइरहनुभएको छ।


>>> स्थापितबाट काम गर्ने प्रयत्नै भएन : डोरमणि पौडेलको अन्तर्वार्ता


प्रदेश राजधानीका विषयमा तपाईंहरूबीच भएको के थियो?

राजधानीको विषयलाई उहाँले प्रतिष्ठाको विषय बनाउन थाल्नुभयो। राजधानी सर्‍यो भने म यो पदमा बस्दिनँसम्म भन्नुभयो। उहाँले मलाई बारम्बार यो राजधानीको प्रकरण किन ल्याएको? भक्तपुरको भेलामा किन गएको? जस्ता कुरा उठाइरहनुभयो। अध्यक्ष केपी ओलीले यो विषय संसद्को अधिकारको विषय भएकाले यसमा प्रवेश गर्दै नगर भनेपछि मैले बोलेको छैन। तर उहाँमा यो विषयमा पनि मसँग भय रहेछ। त्यसपछि मैले उहाँलाई भनेको हो, तपाईंमा पक्षधरता देखियो, तपाईंले पक्षधरता देखाउनु हुँदैन। अरूलाई होच्याएर तपाईं अग्लो हुनुहुन्न भनेको हो मैले।

यहाँले मुख्यमन्त्रीमाथि अवैध रूपमा एसिया फाउन्डेसनबाट रकम भित्र्याएको र सूचना बेचेको जस्ता गम्भीर आरोप पनि लगाउनुभएको छ? यसको पुष्टि कसरी गर्नुहुन्छ?

यो मैले मात्र लगाएको आरोप होइन। सबै बुद्धिजीवीहरूले भनेका कुरा हुन्। देश दुनियाँ अहिले चलाख छ। हाम्रोमा अर्थ तथा योजना मन्त्रालय छ। योजना उसले बनाउने हो। तर अतिरिक्त नीति तथा योजना आयोग बनाइयो। त्यसमा मेरो गम्भीर आपत्ति रह्यो। मुख्यमन्त्रीले क्याबिनेटमै ल्याएपछि उहाँलाई आवश्यक रह्यो होला भनेर धेरै बोलिएन। आयोगमा दुईजनाले नियुक्ति पाए। उहाँ आफैं अध्यक्ष हुनुभयो।

त्यसको केही समयपछि प्रदेशभरिको पन्ध्रबर्से दीर्घकालीन योजना बनाउने कुरा ल्याउनुभयो। त्यसका लागि नयाँ अफिस खोल्नुभयो भैंसेपाटीमा। मलाई थाहा थिएन, एसिया फाउन्डेसनको सहयोग लिन थाल्नुभयो। क्याबिनेटमा कुनै निर्णय छैन। जानकारी दिइएको पनि छैन। यसो गर्न पाइन्छ? हाम्रो नीति तथा योजना आयोगको शाखा कार्यालय भनियो त्यसलाई। डेन्डिङ पेन्टिङसँगै उहाँको शयनकक्ष पनि बनाइयो त्यहाँ। भारतमा यसलाई सीआईएको संस्था भनिँदो रहेछ। यो विषयमा मैले उहाँसँग २० पटकभन्दा बढी प्रश्न उठाएँ तर सधैं पन्छिनु मात्र हुन्छ। त्यहाँ विज्ञको रूपमा मान्छे नै नियुक्त गरेको छ। उसलाई लगानी एसिया फाउन्डेसनले गर्छ। त्यो हाम्रो अर्थ मन्त्रालयलाई थाहा छैन। हाम्रो क्याबिनेटमा विषय प्रवेश नै छैन। मन्त्रीहरू कसैलाई थाहा छैन। म उहाँकै क्याबिनेट मन्त्री भएपछि मैले यो विषय उहाँलाई सोध्न मिल्दैन।

के भन्नुहुन्छ उहाँले यो विषयमा?

उहाँ यो विषयमा कुरै गर्ने चाहनुहुन्न। हामीले दसैंअगाडि ‘फाखेल’ को पहिरो पन्छाउन पाँच लाख रुपैयाँ अनुदान दिन पटकपटक क्याबिनेटमा छलफल गर्‍यौं। पाँच लाख दिन कार्यविधि के हुन्छ भन्नुपर्ने अवस्था छ। तर विदेशी संस्थासँग करोड–करोड सहयोग लिने विषयमा द्विपक्षीय सहमति सम्झौता केही हुनुपर्दैन? यसले देशको हित गर्छ या गर्दैन भनेर हेर्नुपर्दैन?

हाम्रो कानुनले विदेशी सहयोग लिँदा अर्थको स्वीकृत लिनुपर्ने भन्छ। तर यसमा केही स्वीकृत लिइएको देखिँदैन।

मुख्यमन्त्रीले तपाईंलाई बर्खास्तगी नै गरिसकेको सन्दर्भमा अबको तपाईंको स्टेप के हुन्छ?

हाम्रो जग, बलमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो। राजेन्द्र पाण्डे, अष्टलक्ष्मी, पशुपति चौलागाईं र मेरो नाममा मुख्यमन्त्रीको चर्चा थियो। उहाँ बीचमा आएको हो। उहाँ अष्टलक्ष्मीकहाँ गएर एकपटक भौतिक योजनामन्त्री भए पनि मलाई हुन्छ, म तपाईंको क्याम्पको मान्छे भनेर हिँड्नुभएको हो। तर हामीले बोकेको हो। तर अब समीकरण भत्किन्छ।

कसरी भत्किन्छ समीकरण, त्यसको चरण के हुन्छ?

अहिले म तपाईंसँग कुरा गरिरहेको छु। यो पनि एउटा चरण हो। उहाँ त्रसित मानसिकतामा हुनुहुन्छ। त्रसित मानसिकताले प्रदेशको प्रतिनिधित्व गर्न सक्दैन। मैले प्रतिवाद गरिरहनु पर्दैन। आफैं स्खलन हुन्छ। उहाँको हर्कतको अब म मेरो संसदीय दलमा दस्ताबेजसहित प्रतिवाद गर्छु। दासत्व स्वीकार गरिँदैन। यसलाई संसद्को विषय बनाइन्छ। संसद्मा बोलेको विषयलाई म अन्तर्राष्ट्रियकरण गर्छु।

दल नेता फेर्ने, अवश्विास प्रस्ताव ल्याउने कुरामा पनि जानुहुन्छ कि?

या विषयमा म पार्टी नेताहरूसँग सल्लाह गर्छु। मेरो पार्टीलाई घाउ नलगाउने गरी, भावनामा चोट नपुर्‍याउने गरी काम गर्छु।

बर्खास्त भएपछि तपाईंको पार्टी नेताहरूसँग छलफल, भेटघाट भएको छ कि छैन?

एक चरण नेताहरूसँग छलफल गरेको छु। प्रधनमन्त्रीले तिहारपछि छलफल गर्छु भन्नुभएको छ। अब होला। उहाँबाट बोलावट भएपछि भेट्न जान्छु। अध्यक्ष कमरेड प्रचण्ड, माधव नेपाल, वामदेव, विष्णु पौडेल सबैसँग भेटें। सबैतिर एउटै कुरा पुर्‍याइएको रहेछ मैले टेबुल ठटाएको, पिट्नै खोजेको भन्ने खालका। यस विषयमा प्रधानमन्त्रीले र प्रदेश दलले संसदीय समिति बनाएर छानबिन गरोस्।

नेताहरूको प्रतिक्रिया के पाउनुभयो?

तपाईंको आफ्नै स्वभाव हो। केही समय पर्खिनुस् भन्ने छ। उहाँसँग मसँग सम्मुखमा यस विषयमा कुरा गर्ने नौतिक साहस छैन। उहाँमा जागिरे मानसिकता मात्र छ। कुनै योजना कार्यक्रम छैन। वृद्धा श्रम उद्घाटन गर्ने काममा मात्र जनुहुन्छ। सहकारीको उद्घाटनमा दिनमै ६ वटामा जानुहुन्छ। उहाँको चाहना उहाँ जहाँजहाँ पुग्नुहुन्छ म सवारी मन्त्री बनिदिनुपर्ने रे। मेरो काम त्यो होइन। उहाँमा सर्वेसर्वा आफू भन्ने छ। उहासँग फरक मत राख्न नपाउने भन्ने पनि हुन्छ प्रजातन्त्रमा? अब यो समीकरण रहँदैन। मुलुकलाई घाटा नहुने, पार्टीलाई घाटा नपुग्ने र पार्टी अध्यक्षको सपनामाथि दायाँबायाँ नहुने गरी यो समीकरण भत्काउने हो। अबको मेरो अभियान त्यही हुन्छ। कुनै गोप्य गठबन्धन गर्दिनँ। गुट बनाउदिनँ। तर यो समीकरण भत्काउने हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.