बगरमै पार्क बनाएर महाेत्सव मनाइँदै

बगरमै पार्क बनाएर महाेत्सव मनाइँदै

सिमरा : बगरमा के बनाउन सकिन्छ ? सामान्यतः यसको जवाफ सजिलो छैन । बारा जिल्लामा भने खोलाछेउ अर्थात् बगरमा एक महोत्सव नै गरिँदै छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको औराह र डुमरवाना जोड्ने दुधौरा खोला छेउको बगरमा यतिबेला महोत्सवको तयारी भइरहेको छ । यही कात्तिक ३० गतेदेखि आयोजना हुन लागेको बारा महोत्सव अनौठो तरिकाले मनाउने तयारी भएको छ ।

सिमरास्थित बजार क्षेत्र र भिडभाडबाट करिब तीन किलोमिटर पूर्वतर्फ रहेको दुधौरा खोलाको बगरमा एस फाउण्डेशन नेपाल बाराले महोत्सवको आयोजना गर्न लागेको हो ।

मंसिर १० गतेसम्म आयोजना हुने महोत्सवको उद्देश्य व्यापार व्यवसाय प्रवद्र्धन गर्ने मात्र नभइ बाढीले उजाड बनाएको बगरलाई हरियाली र रिभर पार्क बनाउने पनि बताइएको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा पनि विकास पुग्ने अपेक्षा गरिएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–४ र १४ नम्बर वडाको बीचमा रहेको दुधौरा खोलाको बगरलाई यसरी पर्यटकीय गन्तब्य बनाउँदा स्थानीय उत्पादनले पनि बजारमा महत्व पाउने अपेक्षा गरिएको छ ।

आयोजक फउण्डेशनका अध्यक्ष वेदप्रसाद भट्टका अनुसार सहरी क्षेत्र छोडेर ग्रामीण भेगमा महोत्सवको आयोजना गर्दा स्थानीयमा पनि उत्साह जाग्छ । महोत्सवलाई सफल बनाउन ठूलै चुनौती भए पनि स्थानीय क्षेत्रको विकासका लागि बगरमै महोत्सव आयोजना गर्न लागेको बताइएको छ ।

‘बाढीले बगाएर उजाड भएको स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिन्छ भनेर हामीले बगरमै महोत्सव गर्न लागेका हौँ,’ अध्यक्ष भट्टले भने ‘सहरी क्षेत्र छोडेर बगरमा महोत्सव गर्न लागेको भन्दै टिकाटिप्पणी पनि भइरहेका छन् । तर उद्देश्य बुझेपछि सबैबाट सकारात्मक सहयोग पाएका छौँ ।’

साथै महोत्सवका लागि बगरमा पार्क नै बनाउने तयारी भएको छ । यसका लागि महोत्सवको कुल मुनाफाको ५० प्रतिशत रकमलाई पार्क निर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।

‘कृषि, पर्यटन उद्योग बाराको पहिचान, दुधौरामा रिभर पार्क निर्माण हाम्रो अभियान’ नाराका साथ आयोजित महोत्सवको खर्च करिब ५८ लाख अनुमान गरिएको छ ।

महोत्सवमा एक सय ६ वटा स्टल रहने छन् । आयोजकका अनुसार महोत्सवमा कृषि क्षेत्रको लागि विज्ञसहितको स्टल पनि राखिने छ । यान्त्रिक उपकरणसहित विज्ञले कृषिका विषयमा जानकारी गराउने गरी व्यवस्था मिलाइएको अध्यक्ष भट्टले बताए ।

महोत्सव स्थलमा बाराको पर्यटकीय गन्तब्यका बारेमा समेत जानकारी लिन सकिने आयोजकको भनाइ छ । पर्यटकीय गन्तब्य जानकारी गराउनका लागि श्रब्यदृश्य र तस्बिरको छुट्टै स्टल रहने अध्यक्ष भट्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.