२१ महिनापछि तोकिएको केन्द्रमा गाउँपालिका

२१ महिनापछि तोकिएको केन्द्रमा गाउँपालिका

बेनी : धवलागिरी गाउँपालिकाले स्थापना भएको २१ महिनापछि तोकिएको केन्द्रबाट नियमित सेवा प्रवाह सुरु गरेको छ ।

सदरमुकाम बेनीको इन्द्रेणी टोलमा कोठा भाडामा लिएर सञ्चालन गरिएको सम्पर्क कार्यालय बुधबार मुनामा सारिएको हो । अब गाउँपालिकाको सबै गतिविधि र सेवा प्रवाह मुनाबाट सञ्चालन हुने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् ।

२०७३ फागुनमा स्थानीय तह घोषणा हुने क्रममा केन्द्रको विवाद थियो । जनप्रतिनिधि चुनिएपछि २०७४ साउनमा भएको गाउँसभाले मुनाको घट्टेखोलामा स्थायी केन्द्र कायम गर्ने निर्णय गरेको थियो ।

‘बैंक, कर्मचारी र पूर्वाधारको अभावमा बेनीमा सम्पर्क कार्यालय राख्नुपर्ने बाध्यता थियो’, अध्यक्ष पुनले भनिन्, ‘सम्र्पक कार्यालय बन्द गरेर मुनामा आएका छौँ ।’ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ७ वटा वडा रहेको धवलागिरीका कर्मचारी र जनप्रतिनिधिहरु गाउँसभा, बैठक, तालिम, गोष्ठी, अनुगमन गर्नेबाहेकको अवस्थामा अधिकांश समय सदरमुकाम बेनीमै रहने गरेका थिए ।

गत असार अन्तिम साता ताकममा प्रभु बैंकले शाखा विस्तार गरेपछि शिक्षक, कर्मचारी, उपभोक्ता समितिको तलब भुक्तानी र आर्थिक कारोबार सहज भए पनि दरबन्दी अनुसारका कर्मचारी, इन्टरनेट, विद्युत लगायत समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

तत्काललाई ३ नम्बर वडाको भवनमा स्थापना गरिएको कार्यालयबाट सेवा चालु गरेको गाउँपालिकाले स्थायी पूर्वाधारको व्यवस्था गरेपछि घट्टेखोलामै सर्ने जनाएको छ । मुना र घट्टे खोला एउटै वडामा पर्छन् । २ बस्तीको दूरी करिब २ किलोमिटर मात्र अन्तर छ ।

गाउँपालिकाको लागि २२ रोपनी जग्गा खरिद र दानमार्फत प्राप्त भइसकेको छ । थप १० रोपनी जग्गा जुटाएर मापदण्ड पुरा गरी भवन निर्माणको काम अघि बढाउन प्रदेश र संघीय सरकारसँग पहल गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

गाउँमै कार्यालय स्थापना भएपछि बल्ल स्थानीय तहको महसुस गर्न पाउने स्थानीयबासीको अपेक्षा छ । कर्मचारी र अध्यक्ष, उपाध्यक्ष अधिकांश समय सदरमुकाममा बसेकोमा स्थानीयबासीले गुनासो गरेका थिए । ससानो कामका लागि पनि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यसअघि केन्द्र विवाद रहेको रघुगंगा गाउँपालिकाले पनि करिब १४ महिना सदरमुकाममा सञ्चालन गरेको सम्र्पक कार्यालय गत वैशाखमा स्थायी केन्द्र मौवाफाँट सारेको थियो । पाखापानी तोकिएको रघुगंगाको केन्द्र गाउँसभाबाट स्थानान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.