प्रविधिले उत्पादन लागत घट्यो
तौलिहवा : कृषिमा यन्त्रको प्रयोगले लागत घटेपछि किसानको आम्दानी बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन धान वाणगंगा कार्यालयले किसानको सुविधाका लागि नयाँ यान्त्रिक प्रविधि प्रयोगमा ल्याएको छ। धान काट्ने जनशक्ति अभाव भइरहेका बेला परियोजनाले यान्त्रिक प्रविधि प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै सचेतना सुरु गरेको छ। मेसिन प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदासमेत हुने भएको छ ।
समयको बचत र कम लागतमा धान काट्ने मेसिन रिपरको प्रयोग र यसको प्रचारप्रसारका लागि वाणगंगा नगरपालिकामा सचेतना अभियान सुरु गरिएको धान सुपरजोन कार्यालय प्रमुख मुकुन्द भुसालले जानकारी दिए। ‘धान र गहँु काट्ने मेसिन रिपरको विस्तार र सचेतना अभियान सञ्चालन गरेका छौं’, कार्यालय प्रमुख भुसालले भने, ‘ससाना प्लट जग्गामा हाते मेसिन रिपर प्रभावकारी हुन्छ ।’
यसवर्ष धान जिल्लामा उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। धान सुपरजोन परियोजनाको कार्यक्षेत्र बुद्धभूमि नगरपालिकामा किसानले रिपरको प्रयोग बढी गरेको र वाणगंगा नगरपालिकामा यसको प्रयोग न्यून रहेकाले वाणगंगा नगरपालिकाका कृषक समूहलाई सचेतना गरिएको हो ।
परियोजना धान सुपरजोन वाणगंगा र सिमिट (सिसा) परियोजनाको संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधिको बारेमा सचेतना र प्रचारप्रसार गरिएको हो। परियोजनाले कृषि यान्त्रिक प्रविधि खरिदमा सूचीकृत समूहलाई ५० प्रतिशत अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
धान र गहुँ काट्न सहज हुने हाते मेसिन रिपरको ५० देखि ६० हजार रुपैयाँ सम्म बजार मूल्य छ। रिपरले एक घन्टामा ५ देखि १० कट्ठासम्म काट्न सकिन्छ। यसको प्रयोगबाट धान काट्दा पराल खेर नजानेलगायत फाइदा पुग्नेछ। कम्बाइन हार्वेस्टर प्रयोग गर्न नसकिने ठाउँमा रिपर मेसिनको प्रयोग प्रभावकारी भएको सिसा परियोजनाका क्षेत्रीय संयोजक सलिब आचार्यले जानकारी दिए। सिसा परियोजनाले लामो समयदेखि नेपालमा कृषि यन्त्रको प्रदर्शनी र जानकारी दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !