छोटी भन्सार कार्यालय स्तरोन्नती गरिँदै
बिर्तामोड : झापाको छोटी भन्सार कार्यालय स्तरोन्नतीगरी प्रमुख भन्सार बनाउने तयारी गरिएको छ। यससँगै झापामा मुख्य भन्सारको संख्या तीन पुग्ने भएको छ । भारत र नेपालको मोरङ जिल्लासँग सिमाना जोडिएको झापाको दक्षिणी गौरीगन्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय स्तरोन्नतीगरी प्रमुख बनाउने सरकारले तयारी थालेको हो।
मेची भन्सार कार्यालय काँकडभिट्टाले यो छोटी भन्सार कार्यालय रहेको स्थानको स्थलगत अवलोकन गरी प्रतिवेदनसमेत तयार गरेको छ। यो नाका हुँदै भारतसँग व्यापार गर्न सहज र छोटो दूरी हुने भएकाले आठमौजा छोटी भन्सारलाई स्तरोन्नतीगर्ने तयारी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए। उनले भने, ‘हामीले स्थलगत अवलोकन गरेका छौं, भारततर्फ नेपालको सिमानासम्म नै कालोपत्रे सडक आइपुगेको छ, नेपालतर्फ पनि ५÷६ किलोमिटर मात्र सडक कालोपत्रे गर्न बाँकी छ ।’ भन्सार कार्यालय र बन्दरगाह निर्माणका लागि पनि उपयुक्त स्थान भएकाले स्तरोन्नतीगर्न लागिएको अर्यालले बताए ।
भारतले आफ्नो क्षेत्रमा सडक निर्माण सम्पन्न गरी भन्सार र बन्दरगाह निर्माण गर्न जग्गा अधिग्रहण गरिसकेको छ। यता नेपालतर्फ सीमानाभन्दा पाँच किलोमिटर वर मात्र नेपाली भन्सार कार्यालय रहेकाले भन्सारलाई नाका छेउमा सार्नुपर्ने र बाँकी रहेका सडकलाई कालोपत्रे गर्नुपर्ने विषयलाई जोड दिँदै प्रतिवेदन तयार पारिएको छ ।
प्रतिवेदनका विषयमा मंसिर ३ र ४ गते नेपाल र भारतका भन्सार विभाग प्रमुखको काठमाडौंमा हुने बैठकमा छलफल हुने प्रमुख अर्यालयको भनाइ छ। मंसिर ३ र ४ गते नेपालले स्तरोन्नतीगर्न चाहेको छोटी भन्सार कार्यालयको सूची र सम्भावनाको प्रतिवेदन बैठकमा राख्नेछ ।
भद्रपुर छोटी भन्सार कार्यालयको स्तररोन्नति गरी प्रमुख भन्सार कार्यालय बनाइएको र अब यो छोटी भन्सार कार्यालयलाई पनि प्रमुख भन्सार कार्यालय बनाउने विषयमा दुवै देश सहमत भएका छन्। आठमौजा छोटी भन्सार कार्यालयबाट भारततर्फ जाँदा भारतको फत्तेपुरबाट एक सय १० किलोमिटरमानै किसनगन्ज पुगिन्छ। किसनगन्ज भारतको एक प्रमुख व्यापारिक केन्द्र हो ।
यो भन्सारलाई मुख्य भन्सार बनाउन सके नेपालमा सस्तो मूल्यमा सामान भित्याउन सकिन्छ। काँकडभिट्टा नाकाबाट बंगलादेश, भुटान, सिक्कम, दार्जिलिङतिर मात्र व्यापार गर्न सकिन्छ। यो नाकाबाट भारतको किसनगन्ज हुँदै मुख्य व्यापारिक क्षेत्रसँग जोडिन सहज हुनेछ ।
१३ वटा भन्सार कार्यालय रहेको झापामा मेचीनगरस्थित काँकडभिट्टा नाका सुुरुवातदेखिनै मुख्य भन्सार कार्यालयका रूपमा सञ्चालित छ। भद्रपुरमा रहेको छोटी भन्सार कार्यालय गत भदौ २९ गतेबाट मुख्य भन्सार कार्यालयको मान्यता पाएर सञ्चालनमा छ। मेची भन्सार कार्यालय अन्तरगत गाडागल्ली, बाहुननडागी, नकलबन्दा, सतिघट्टा, पाठामारी, घेरावारी, पन्थपाडा, केचना, झापा, महाभारा र आठमौजा (गौरीगन्ज) रहेका छन्। यस मध्ये बाहुनडागी, नकलबन्दा, र गौरीगंज, कुमरखोद गरी चारवटा मात्र सञ्चालनमा छन् ।