वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’
काठमाडौं : अपिरपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ। ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ।
कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै भनेका छन्, ‘निगमसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्यधिक छ। वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पूर्ती गर्न निगमलाई तत्काल सरकारबाट आर्थिक सहायता आवश्यक छ।’
निगमले बिचौलियाको सञ्जाल खडा गरी दुई वाइड बडी जहाज ल्याएको छ। निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाई फ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ। कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२-१२ अर्बसहित करिब २५ अर्ब रुपैयाँ त्यसमा खर्चिइएको छ। त्यसको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ।
अर्कातिर, दुवै वाइड बडी नयाँ गन्तव्यमा चलाइएको छैन। पहिलाका दुई न्यारो बडीको सेक्टर खोसेर तिनलाई बेला-बेला सञ्चालनमा ल्याइएको छ। स्वेतपत्रका अनुसार सबैजसो अन्तर्राष्ट्रिय उडान क्षेत्रमा यात्रु संख्या घट्दो छ। अर्थात्, यात्रु घटे। जहाज थपिए। सेक्टर बढेनन्। यसले निगमको नोक्सान तीव्र बढाएको छ।
‘अन्तराष्ट्रियतर्फ २०७३÷७४ का तुलनामा २०७४÷७५ मा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ’, स्वेतपत्रमा भनिएको छ, ‘उपयुक्त बजार व्यवस्थापन रणनीति अपनाई यसलाई बढाउनुपर्ने देखिन्छ।’ स्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा वाइड बडी ल्याउन नेतृत्व गरेका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार अध्यक्ष खरेलका छेउमा थिए।
कंसाकारले नेतृत्व सम्हाल्दा ४ वटा चिनियाँ वाई-१२ र दुइटा एमए-६० थन्क्याइएका थिए। नयाँ व्यवस्थापनले ५ वटा सञ्चालनमा ल्याइसकेको छ। ‘आन्तरिक जहाजको समेत औसत उपयोगिता न्यून छ। कार्ययोजना बनाई अधिकतम उपयोगिता गर्नु जरुरी छ। नत्र यो अत्यन्त जोखिमपूर्ण हुनेछ’, श्वेतपत्रमा भनिएको छ।
वित्तीय अवस्था खराब
‘निगमको अधिकृत पूँजी ३० करोड रुपैयाँ छ। यसको पूँजी लगानी ३ अर्ब १० करोड छ। पूँजी लगानी अधिकृत पूँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने देखिन्छ’, श्वेतपत्रमा देखाइएको छ, ‘जहाजको तिर्नुपर्ने कर्जा रकम ३२ अर्ब ८७ करोड रुपैयाँ छ। दीर्घकालीन कर्जा÷जम्मा पूँजी ३९ अर्ब ८२ करोड रुपेयाँ रहेकाले निगम उच्च वित्तीय जोखिममा छ। कर्जाका लागि वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तान गर्नुपर्छ। किस्ता उच्च भएकाले तरलता अवस्था र नाफामा सिधै असर पर्न गएको छ।’
वित्तीय सूचकांकहरुलाई अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पूँजी लगानी भित्रयाउनु आवश्यक रहेको निगमको ठहर छ। त्यति भए मात्र वित्तीय जोखिम न्यून भई निगमको विश्वसनीयता कायम हुने जनाइएको छ।
निगमका आधा दर्जन जहाज केही महिनादेखि ग्राउन्डेड छन्। आर्थिक कारण समयमा मर्मत सम्भार हुन सकेको छैन। नयाँ वाइड बडीसमेत मर्मत गर्नुपर्ने अवस्थामा छन्। ‘जहाजहरुको मर्मतसम्भार समयमै गरि संचालन गर्नु पर्नेछ’, श्वेतपत्र भन्छ।
त्यस्तै जहाजहरु समुचित सञ्चालन गर्न चाहिनेभन्दा कम ककपिट क्रु र क्याबिन क्रु छन्। तिनको परिपूर्ति र अधिकतम उपयोगिता गर्ने आवश्यकता औल्याइएको छ। ‘वाइड बडी ए३३० जहाजहरू र आन्तरिक जहाजहरुको औसत उपयोगिता न्यून छ’, उल्लेख छ।
सन् १९५८ जुलाई १ मा नेपाल वायुसेवा निगम स्थापना भएको हो। विभिन्न देशका समकालीन वायु सेवा उन्नतिको शिखरमा पुगिसके। नेपाल वायुसेवा भने पटक-पटक अनियमितताका काण्डमा मुछिँदै आएको छ। यही कारण कम्पनी नै डुब्ने अवस्थामा पुगेको छ। श्वेतपत्रले प्रस्ट रूपमा त्यसलाई देखाएको छ। ‘सुधार हुन नसकेमा निगमको भविष्य के होला भन्ने जानकारी प्रवाह गर्न जरुरी भएको छ’, औचित्यबारे सुरुमै प्रस्ट्याइएको छ, ‘समस्याको गहनता बुझ्न सघाउ पुर्याउन साथै सुधार आरम्भ गर्नुपहिला आधार निर्धारण गर्न आवश्यक ठानिएकाले यो स्वेतपत्र जारी गरिएको हो।’ निगममको सञ्चित नोक्सान यो आर्थिक वर्षसम्म २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
वाइड बडी बन्यो भार
दुई वाइड बडीको सुरुको ४५ दिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो। अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघ्यो।
वाडड बडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ पर्छ। यो मासिक करिब ३२ करोड ११ लाख हो। ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ हुन आउँछ। अवकास पाएका कर्मचारीलाई ९४ करोड ८६ लाखभन्दा बढी तिर्न बाँकी छ।
वाइड बडीका लागि पाइलटको पनि निकै अपुग छ। यसका लागि ८ क्याप्टेन छन्। तीमध्ये नेपाली २ जना मात्र छन्। बाँकी ६ विदेशी हुन्। यसलाई पूर्ण रुपमा चलाउन थप १० क्याप्टेन, १२ को-पाइलट र ४ प्रशिक्षक पाइलट चाहिन्छ। न्यारो बडीका लागि भने १८ नेपाली र ३ विदेशी गरी २१ क्याप्टेन छन्। त्यो आवश्यकताभन्दा ५ जना बढ्ता हो।
निगमको बजारीकरण पनि ओरालोलाग्दो छ। सबैजसो अन्तर्राष्ट्रिय उडान क्षेत्रमै सिट फ्याक्टर घट्दो छ। आन्तरिक उडानमा पनि सिट फ्याक्टर २०७४÷७५ मा औसत ८३ प्रतिशत थियो। २०७५ साउनमा ६६ र भदौमा ७३ प्रतिशत रह्यो।