यातायातमा टेबुलै पिच्छे घुस, काेठै पिच्छे दलाल

यातायातमा टेबुलै पिच्छे घुस, काेठै पिच्छे दलाल

राजु स्याङ्तान, किरण दहाल, सपना महर्जन
हाम्रो सुशासन अभियान
‘अड्डामा अन्नपूर्ण’ अन्नपूर्ण पोस्ट्को सुशासन अभियान हो। सर्वसाधारणले बढ्ता सास्ती पाइरहेका र घुस तिर्न बाध्य भइरहेका सम्भावित कार्यालय छानी हाम्रो टिमले अनुगमन गर्नेछ। त्यसको प्रत्यक्ष विवरण हरेक मंगलबार यस स्तम्भमा प्रकाशन गरिनेछ। सरकारी सेवा लिँदा तपाईंले पनि ‘अनावश्यक’ भोग्नुभएको छ भने कृपया हामीलाई जानकारी दिनुहोस्।

हामी चाहन्छौं– देश भ्रष्टाचारमुक्त होस्। सरकारी सेवा हरेकले फटाफट पाउन सकोस्।


टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’

त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो। आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो। फोटो खिच्नेको बाक्लो भिड। भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन। गेटमै टिकट लिनेबेला आँखा जाँचवापत ३८ रुपैयाँ तिरे पुग्छ। तर भित्र घुस लिइन्छ, दिइन्छ। दिनमा एकपटक होइन, पटक पटक।

जसको आँखा कमजोर हुन्छ, तिरेपछि स्वतः सद्धे हुन्छ।

आइतबार बिहान ९ः३० बजे। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा बिचौलियोले बिचमै बाटो छेके। तिनले केरकारको शैलीमा सोधे, ‘लाइसेन्सका लागि हो ? यता आउनु, यता।’

एककदम अगाडि नबढ्दै अर्का विचौलियाले फेरि बाटो रोके। उनले भने, ‘तपाईहरु जानुभयो भने ४ घन्टा लाग्छ। हामी गयौं भने १० मिनेटमा बन्छ।’ उनले यताउता हेर्दै सुस्तरी भने, ‘सिधै हाकिमलाई बुझाउने हो, आधा कर्मचारीलाई, आधा मलाई।’

यातायात व्यवस्था विभागले काम सहज गर्न विभिन्न शाखा विस्तार गर्यो। तर, भिड उस्तैे, सर्वसाधारणले पाउने सास्ती उस्तै। सजिलै लाइसेन्स मिलाइदिन्छु भन्ने, सिधै हाकिम भेटाइ दिन्छु भन्ने, बाटो छेकीछेकी काम लिन खोज्ने, दिन नखोजे कानुनी झन्झट देखाएर तर्साउने अवस्था उस्तै छ। यत्रतत्र किराना पसल। कार्यालय परिसरबाहिर फोटोकपी मेसिन राखिएका छन्। अन्यत्रभन्दा दोब्बरभन्दा बढी महँगो छ।

नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न। विचौलियाहरु सलबलाउँछन्। कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन्।

गेटमा नागरिक वडापत्र छैन। ठूलो अक्षरमा कुनै सुचना पनि छैन। सोधपुछ कक्षसमेत छैन। ठूला तथा साना सवारी साधनको नविकरण र दर्ता गर्ने कार्यालय अगाडि छ सोधपुछ कक्ष। तर त्यहाँ कर्मचारी दिनभरि भेटिएनन्। वडापत्र पनि त्यहीं छ, तर छेकिएको छ ढोकाले।

कोठा नम्बर १२

दिउसो १ः२४ बजे। स्थान उही। एकजना अग्ला कदका कालो कोट लगाएका सेवाग्राही आँखा चेक गर्ने ठाउँ नजिकै आइपुगे। उनी अलि अलमल देखिए। छेउका एक कर्मचारीले अगाडि बढ्न भनिन्। उनलाई भित्तामा झुन्ड्याइएको ‘एबिसिडी’ पढ्न लगाइयो। अलि अलमलिए। त्यहाँबाट उनलाई अझै अगाडि जानू भनियो। ‘एक सय रुपैयाँ निकाल्नुस्’, कुर्सीमा बसिरहेका कर्मचारीले रुखो स्वरमा भने। उनले पाँचसयको नोट निकालेर दिए। कर्मचारीले चुपचाप टेबलको घर्रामा हाले। अलि छिटोछिटो ४ सय रुपैयाँ फिर्ता दिए। ‘उता जानुस्’, उत्तरतिरको टेबल देखाइदिए। उनी त्यता गए। लगत्तै बाहिरिए।

सेवाग्राही त्यहाँ काम सकेर अन्य कोठाहरुमा जान्थे। उनी भने गेटबाट निस्किएर सरासर सडक तरे। एक अधवैसे उनको पछि लागे। पारी पुगेर चुरोट सल्काए। अधवैसैले भने, ‘लाइसेन्स घर आइपुग्छ पासा। अब ढुक्क भएर घर गए हुन्छ।’ कोट लगाउनेले चुरोट तान्दै भने, ‘अनि कति हो त, कति ? ’ अधवैसेले भने, ‘८÷१० हजार त हो नि।’ चुरोट मुखमै राखेर उनले पर्शबाट फटाफट ५ हजार निकालेर दिए। अधवैसैले मुसुक्क हाँस्दै पर्समा हाले। अनि कोट लगाउनेले विदा हुँदै भने, ‘रत्नपार्कको शौचालय नजिकै मःमः पसल छ नि, हो त्यसको छेउमा ल्याइदिनू।’ उनी फटाफट सातदोबाटोतिर लम्किए। एकसय मिटर पर रोकिराखेको रातो कारमा चढेर हुँइकिए।

दिउसोको २ः३० बजे। कोठा उही। भिड पनि उस्तै। सुरक्षागार्डको आँखा छल्दै त्यही टेबलमा पुग्दा एकजना अधवैसे पुरुष आँखा जाँच गराउने ठाउँमा अनकनाइरहेका थिए। त्यसपछि टेबलमा बस्ने कर्मचारीतर्फ उनले ५० रुपैयाँको नोट अघि सारे। कर्मचारीले तुरुन्तै टेबलमूनी राखे। उनलाई पनि उत्तरतिरको टेबुलमा जान भने।

कोठा नम्बर ५। ढोकामा लेखिएको छ ‘कम्युटर कोठा’। त्यहाँ पुग्दा एकजना चस्मा लगाएमा कर्मचारी व्यस्त थिए। छेउछाउमा उभिएका थिए ३÷४ जना सेवाग्राही। एकजना मोटो ज्यानको सेवाग्राहीले जिन्सको जोगीबाट सय÷पचासको नोट फुत्त निकाल्दै भने, ‘सर यो...।’ तर कोठामा अन्य मानिस देखेपछि कर्मचारीले पैसा थापेनन्। सेवाग्राहीले पैसा तुरुन्तै फेरि गोजीमा हाले। डराए जस्तो गरी यताउता हेरे अनि फटाफट बाहिरिए।

सेवाग्राहीलाई सास्ती

भित्र मिलेपतोमा काम भइरहेको छ। बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ। कतिका वर्षौंदेखि काम बनेका छैनन्। कुरिहेका छन्, तर कहिले बन्छ थाहा छैन। हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन्। रित्तो हात फर्किन्छन्।

लामो समयदेखि कतारमा ड्राइभिङ गर्दै आएका वीरबहादुर बस्नेत डेढ महिनाअघि नेपाल आए। गाडीको लाइसेन्स कतारकै छ। लाइसेन्स नेपालीकरण गर्ने सोचले आइतवार उनी बिहानै यातायात व्यवस्था कार्यालय पुगे। उनी आउँदा कार्यालय खुल्ने समय नै भएको थिएन। सरकारको कार्यालयभन्दा पहिला विचौलाको झोले कार्यालय खुल्छ। तिनै कार्यालयका विचौलियाहरुले उनलाई सघाउने बताए। तर उनी विचौलियाको भर परेनन्। ‘धेरै पैसा मागेपछि मैले मानिन,’ उनले भने।

कार्यालय खुल्यो। हाकिमहरु आए। लाइसेन्स नेपालीकरण गर्ने कोठामा पनि पुगे, बस्नेत। तर उनले बल्ल थाहा पाए, विचौलियालाई अघि नलगाउनुको दुःख। कर्मचारीले निकै रुखो स्वरमा झर्किएर भने, ‘अहिले नेपालीकरण गर्ने काम बन्द गरिएको छ। पछि आउनु, पछि।’ उनलाई एकमहिनाभित्र कतार उड्नुछ। कर्मचारीले भनिदियो पछि। कहिले पछि, कति पछि केही थाहा छैन। नियाउरो मुख लगाउँदै उनी बाहिरिए। ‘राम्रो मुखले बोल्दैनन्। सोध्यो भने झर्किएर गाली गर्छन्। अब के गर्ने, गर्ने ? ’ निरासभावमा उनले दुखेसो पोखे।

बस्नेतको सबै बागजात तयार छ। लाइसेन्सको नेपालीकरण गरे उनको काम सकिन्छ। ‘यस्ता काम सँधैभरी हुनुपर्ने हो। किन महिनौँसम्म नखुलाएको ? मान्छेलाई अप्ठ्यारो परेको हुन्छ,’ उनले आक्रोशित हुनै भने, ‘अब मैले के गर्ने ? कस्तो झन्झट भयो।’ उनी केही सम्झिए जसो गरी कार्यालय प्रमुखको कोठातिर लागे। तर कार्यालय रित्तै। सहयोगीलाई सोधे। ‘मिटिङमा जानू भएको छ। अब आउनु हुन्न’, सहयोगीले भने। त्यसपछि बस्नेत झनै निरास भए।

अप्ठ्यारो बस्नेतलाई मात्रै परेको छैन। दिपकबहादुर राई ३ महिनादेखि यही काममा खटिएका छन्। अझै काम सुन्य। लाइसेन्स नबनेका कारण उनले दुईवटा काम गुमाइसके। ‘पैसा दिने हो भने मेरो काम अहिले बन्छ, तर म किन पैसा दिऊँ ? ’ उनले आक्रोशित हुँदै भने, ‘के सबै काम बिचौलीया मार्फत नै गर्नुपर्ने हो ? यो देश विकास नभएको यही कारणले हो। जता पनि भ्रष्टाचार। पैसा नखुवाई वरको सिन्को पर सर्दैन, हैट।’

सेवाग्राहीले पाउने सास्ती बाहिरी गेटबाटै सुरु हुन्छ। एउटा हैन, कार्यालय भित्र पस्दासम्म दर्जनौं बिचौलियासँग जम्काभेट हुन्छ। बिचौलीयाको तहतह नाघ्दै कार्यालयभित्र छिर्छन् सेवाग्राही। लाइन बसेका सेवाग्राही प्रायः आक्रोशित देखिन्छन्। ‘इमान्दार भएर बसिरह्यो जहाँको त्यही हुन्छ, लाइन फिटिक्कै सर्दैन’, लाम बसिरहेका एक सेवाग्राहीले भने, ‘नयाँ लाइसेन्स झिक्न अढाइ घण्टा लाइन बसेँ। लिने ठाउँमा पुगेपछि तपाईंको भेटिएन भन्यो।’ उनी दिक्क मान्दै कार्यालयकै क्यान्टिनमा चिया पिइरहेका थिए। उनी भन्दै थिए, ‘फोकटमा समय बर्बाद भयो।’ बिचौलियाले झ्यालमा सोझै गएर फाइल लिने–दिने गर्दा लाममा बसेकाले घण्टौं उभिइरहनु परेको हो।

गाडीको कर तिर्न पुगेकी सरस्वती घिमिरे बिचौलियाको माध्यमबाट काम गराउँदै थिइन्। कर तिर्न पुगेकी कल्पना भण्डारी अलमल परी कर विभागकै कर्मचारी भेट्न खोज्दै थिइन्। कार्यालय परिसरमै भेटिएका विष्णु गोपाल महर्जन सेवाग्राहीको एक मुष्ट फाइल बोकेर पुगे। उनलाई दिनभर कार्यालयमा बस्नु पर्दैन।

लाइसेन्स वितरण शाखामा पनि लामो लाइन छ। लाइनमा बसेका प्रायः रिसाउँदै रित्तै फर्किन्छन्। चितवन लोथरका नारायण भण्डारी लाइसेन्सको प्रतिलिपि लिन तीन पटक आए। तर पाएका छैनन्। बोलेरो चलाउने उनले ८ महिनादेखि लाइसेन्स पाएका छैनन्। ‘अब कहाँ गएर सोध्ने हो ? कहिले आउने हो ? ’ उनी अलमलमा परे। भित्तामा टाँसेको सुचना हेरे। अनि रिसाउँदै बाहिरिए।

सिन्धुपाल्चोकका छिरिङ लामालाई ट्याक्सीको लाइसेन्स लिन ६ महिनामा आउनु भनेको थियो। तर उनले ९ महिना पुग्दा पनि पाएका छैनन्। उनी निरास भइ घाम तापिरहेका थिए।

वितरण शाखाको झ्यालबाट एकजना रिसाउँदै बाहिरिए। उनी भन्दै थिए, ‘म्यासेजमा आयो भन्छ, यहाँ छैन। के ताल हो ? उता ट्राफिकले किचकिच गर्छ। यता लाइसेन्स एक वर्षमा नि आउदैन।’ उनी रिसाउँदै बाहिरिए। अर्का एकजना भन्दै थिए, ‘६ पटक आइसकेँ। वाक्क लागिसक्यो। कहिले आउँछ भनेर सोध्यो भने अन्दाजमै तीन महिनापछि आउनु भनिदिन्छन्। हैरान भइसकियो।’

ललितपुरका प्रविण महर्जन भने हँसिलो मुहारमा बाहिरिए। उनले एक वर्षमा बल्ल लाइसेन्स पाए। काठमार्डौ फर्पिङका सौरभ आलेले पनि १४ महिनामा लाइसेन्स लिए। उनी दंग हुँदै थिए, ‘ढिलै भए पनि लाइसेन्स पाइयो।’

थरिथरिका विचौलिया

बिचौलीया– के चाहियो हजुर ?

सेवाग्राही– नयाँ लाइसेन्स चाहिएको थियो।

बिचौलीया– नयाँ लाइसेन्स खुलेको छैन। तर मसँग एउटा चिट छ। त्यो भएपछि तपाईंले ४ वर्षसम्म चलाउन पाउनुहुन्छ। २ हजार मात्रै पर्छ।

कार्यालय परिसरमा जताततै सुन्न पाइने संवाद हो यो।

मुलगेटमा रंगरंगका बिचौलिया भेटिन्छन्। महिला, युवा, अधवैसे, सफाचर्ट भएर बस्ने, सामान्य लुगा लगाउने थरीथरीका।

गेटमै भेटिए एक युवा। उनले आफ्नो नाम शम्भु बताए। ७ वर्षदेखि उनी कार्यालय परिसर चक्कर काटीरहेका छन्। मासिक एक लाख कमाइ हुने उनले सुनाए। उनका अनुसार बिचौलिया काम गर्ने कतिले घर बनाइसके। कतिले जग्गा जोडिसके। ‘मैले त के कमाएको हो र ? ’ नजिकैका साथीलाई देखाउँदै उनले भने, ‘उसले यहाँ काम गरेको १७ वर्ष भइसक्यो। काठमाडौंमा घर जग्गा जोडिसक्यो। मालामाल छ त्यसको।’ यसरी सम्पती जोड्ने बिचौलियाहरु थुप्रै रहेको उनले संकेत गरे।

यस कार्यालय परिसरमा २ सयभन्दा धेरै बिचौलीया रहेको एक प्रहरीले बताए। उनले भने, ‘एक छिन काम गरेपछि ३–४ हजार कमाइ भइहाल्छ। गर्जाे टरिहाल्यो नी।’

विगत ४ वर्षदेखि त्यही घुमिरहेका अर्का विचौलिया अमिसको भने गुनासो छ। उनी भन्छन्, ‘छैन, कमाइ घट्यो नी अहिले त। पहिला–पहिलाको जस्तो कहाँ हुनु।’ उनको अवरोध सिभिलमा घुम्ने प्रहरी र नयाँ कर्मचारी रहेछन्। उनले भने, ‘सीभिलमा पुलिस घुम्छ नी। कर्मचारी पनि नयाँ–नयाँ आएका छन्। राम्रोसँग चिनजानै भएको छैन।’ कर्मचारीहरु धेरै लामो समय नटिक्ने ६÷६ महिना फेरिरहने उनको अनुभव छ।

रातो पच्छौरीले टाउको ढाकेकी एक अधवैसे महिला विचौलिया गेटमा आइपुगिन्। गेटभित्र पस्न थालेका सेवाग्राहीलाई केरकार गर्न थालिन्। अघिल्लो बिचौलियाको जस्तै दुखेसो छ उनको पनि। ‘कर्मचारीसँग राम्रो सम्बन्ध बनाउन सकियो भने पैसा कमाउन युरोप, अमेरिका जानै पर्दैन,’ उनले भनिन्, ‘पहिला पहिला चिनेका हाकिमहरु थिए। मेरो काम छिटै हुन्थ्यो। अहिले अलि गाह्रो छ।’

परिसर घुम्दै गर्दा यस्तो लाग्छ यहाँ जो पनि विचौलिया छन्। जहाँ ठोकिन पुग्यो त्यही प्रश्न आउँछ, ‘लाइसेन्स बनाउने हो ? ’ यस्तै ठोकिन आइपुगे अर्का विचौलिया। २५ पुगे जस्ता देखिने उनले लाइसेन्स बनाउन निकैबेर किचकिच गरे। ‘के काम गर्नु पर्ने हो भन्नु न’ उनले भने, ‘हजार मात्रै त हो नी। सातसय रुपैयाँ त भित्रै सरहरुलाई बुझाउनु पर्छ। बाँकी तीन सय त हो नि मैले पाउने।’

सँगै १६÷१७ वर्षका अर्का किशोर कुरा सुनिरहेका थिए। उनले ती किशोरतर्फ हेर्दै भने, ‘यो मेरो भाइ हो। यसलाई पनि काम सिकाउन ल्याको।’ ती किशोरले केही बोलेनन्। दाइले जे जे गर्छ त्यो ध्यान दिएर नियाली रहेका थिए।

सडक किनारामा एकजना बृद्धा डटपेन र मकै बदाम बेचिरहेकी थिइन्। उमेरले ६० काटे जस्ती देखिन्थिइन् उनी। पैसा लिँदै ति वृद्धाले नजिकैको कुर्सीमा बस्न लगाइन्। उनले साउती मार्दै भनिन्, ‘यहाँका केटाहरुको विश्वास नगर्नू। पैसा खाइदिन्छन्। बरु ऊ त्यहाँ दिदीहरु छन्, उनीहरुलाई भन्नू। उनीहरुले पक्का काम गरिदिन्छन्।’

विचौलियामध्ये यीनको कथा छुट्टै रहेछ। मुल गेटकै छेउमा हरियो कुर्ता सुरुवालमा उभिएरहेकी थिइन् रामेछापकी ती महिला। उनी त्यहाँ बिचौलियाको काम गर्न थालेको १२ वर्ष पुग्यो। पहिला नजिकै दाइको टहरामा काम गर्थिन्। त्यसबेला कमाइ मालामाल थियो। भन्छिन्, ‘त्यसबेला भ्याइनभ्याइ हुन्थ्यो। अहिले त कमाइ नै छैन।’ नगरपालिकाले दाइको पसल उखेलिदिएपछि उनी त्यहीं विचौलिया बन्न आइपुगिन्। एकछोरा र एक छोरी छन्। विदेशबाट श्रीमान विरामी भएर फर्किएका छन्। दिनको ५÷६ सय कमाइ हुने, त्यही पैसाले छोराछोरी पढाउने र घर खर्च चलाउने गरेको उनी सुनाउँछिन्। भन्छिन्, ‘कुनै दिन रित्तै पनि फर्किनु पर्छ। जेनतेन चलेकै छ।’

बिचौलिया–प्रहरी लुकामारी

एकजना सेवाग्राही लाइसेन्स नविकरणबारे सोध्न गेटमा आइपुगे। गेटमै उभिरहेका थिए एक प्रहरी जवान। सेवाग्राहीले प्रहरी जवानलाई सोधे। उनले आफैसँग गफिरहेका व्यक्तिलाई देखाउँदै भने, ‘यी ‘दले’ हरुलाई सोध्नुपर्छ। यिनीहरुलाई सब थाहा हुन्छ।’ कपाल पालेका विचौलिया मुसुक्क हाँसे। कपाल पाल्ने व्यक्ति अगाडि सरेर सेवाग्राहीलाई कार्यालयका बारेमा फटाफट भन्न थाले। प्रहरी छेउमै उभिएर सुनिरहे।

कार्यालय परिसरमा हवलदारको नेतृत्वमा ३ जना प्रहरी डन्डा लिएर घुमिरहेका भेटिए। प्रहरी जवान दीपक विश्वकर्माले भने, ‘पाकेटमार र हुलदंगा नहोस् भनि खटिएको हौं।’

प्रहरी र विचौलियाबिच परिसरभित्र लुकामारी चल्छ। प्रहरी कार्यालयभित्रबाट विचौलिया लखेड्दै बाहिर ल्याउँछन्। विचौलिया अर्कोतिरबाट फेरि भित्र पस्छन्। परिसरमै भेटिएकी एक महिला प्रहरी भन्छन्, ‘कति लखेट्नु। हैरानै हुन्छ नी।’ तर जब गेट बाहिर आइपुग्छन्, प्रहरी–विचौलिया मजाले गफिन्छन्।

प्रहरी लौरो घुमाउँदै हटाए जस्तो गर्नु, विचौलिया भागे जस्तो गर्नु कार्यालयको परिचय बनेको छ। कार्यालयले बडापत्र नटाँस्नु, सोधपुछ कक्षसमेत व्यवस्थित नगर्नु, अनि सयौं विचौलियाको हुललाई फुक्काफाल छाडिनुलाई जे अर्थ लगाए पनि हुने देखिन्छ। नाम उल्लेख नगर्ने शर्तमा एक विचौलिया भन्छन्, ‘प्रहरीले कडाइ गर्न लागे हामीलाई पालेले सुचना दिन्छन्।’

यातायात व्यवस्था कार्यालय, सानाठूला सवारीका कार्यालय प्रमुख बसन्त पन्थीले विचौलियालाई कार्यालयभित्र प्रवेश निषेध गरिएको बताए। उनले भने, ‘बिचौलीयाबाट काम हुनै सक्दैन। त्यस्तो व्यक्तिलाई हामी कार्यालयभित्र आउनै दिँदैनौं।’

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका कार्यालय प्रमुख श्यामकुमार सिंह बाहिर छातामा बस्नेहरु सबै विचौलिया भएको बताउँछन्। उनले भने, ‘बाहिर छातामा बस्ने सबै विचौलिया हुन्।’ उनीहरुलाई हटाउन पटकपटक प्रत्यत्न गरिएको उनले बताए। ‘जिल्ला प्रसाशन कार्यालय र महानगरपालिकामा पत्राचार गरि गुहार मागियो। तर कार्यान्वयन भएको छैन। उनले भने, ‘हामी बिचौलियालाई लखेटेर बस्ने कि सेवा दिने ? ’ प्रहरी प्रसाशनले कडा नगरेसम्म बिचौलिया नहट्ने उनले बताए।

घुस लेनदेनबारे भने आफू अनभिज्ञ रहेको उनले बताए। भन्छन्, ‘यसबारे मलाई जानकारी भएन। छानविन गरेर दोषीमाथि तत्काल कारबाही गरिन्छ।’

बेलुकीको साढे ४ बजे। कार्यालयबाट प्रायः कर्मचारी बाहिरीसकेका छन्। कर्मचारी नभएपछि सेवाग्राही हुने कुरै भएन। बिचौलीयाहरुको पनि कुनै चहलपहल बाँकी थिएन। १ घण्टा अघिसम्म घन्चमञ्च देखिएको कार्यालय सुनसान भइसकेको थियो।
अनि, हामी फिर्ता भयौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.