उप्रेती गाउँमा पानीको सास्ती अन्त्य, घण्टौं लाइन बस्ने बाध्यता हट्यो
धादिङ : धादिङको गजुरी गाउँपालिका–१ उप्रेती गाउँका बासिन्दाले वर्षौंसम्म खानेपानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता खेपे । एउटा मात्रै धारामा निर्भर स्थानीय अहिले भने राहत महसुस गरिरहेका छन् ।
नेपाली सेनाको पहलमा निर्माण गरिएको नयाँ पानीपँधेरोले गाउँको दैनिकी नै परिवर्तन गरेको छ । धादिङको गजुरी गाउँपालिका–१ स्थित उप्रेती गाउँमा केही समयअघिसम्म यहाँका बासिन्दाको दिनचर्या पानीको पालो कुर्दै बित्थ्यो । गाउँमा रहेको एउटा मात्रै कुवा र एक धारामा निर्भर रहँदा खानेपानी भर्न घण्टौं लाइन लाग्नुपर्ने अवस्था थियो ।
विद्यार्थी विद्यालय पुग्न ढिलो हुन्थे, कर्मचारी कार्यालय जान हतारिन्थे । महिला, बालबालिका र ज्येष्ठ नागरिकले दैनिक सास्ती खेप्नुपथ्र्यो । तर, अहिले अवस्था फेरिएको छ ।
नेपाली सेनाको श्री भैरव गण, गजुरीले निर्माण गरेको नयाँ पानीपँधेरोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गरिदिएको छ । चारवटा धारासहितको संरचना बनेपछि पानी भर्न सहज र छिटो भएको छ । नयाँ पानीपँधेरोबाट विद्यार्थी मात्र होइन, कार्यालयमा कार्यरत कर्मचारीसमेत लाभान्वित भएका छन् । खुला कुवाबाट पानी प्रयोग गर्दा सरसफाइको समस्या हुन्थ्यो । अहिले भने स्वच्छ र सुरक्षित पानी सहज रूपमा उपलब्ध हुन थालेको छ ।
स्थानीय ज्येष्ठ नागरिक यशोदा कटुवालका अनुसार नयाँ धारा बनेपछि खानेपानीको अभाव अन्त्य भएको छ । उनीहरू सेनाको पहललाई समुदायका लागि उदाहरणीय कामका रूपमा लिन्छन् । विगतदेखि नै खानेपानी व्यवस्थापनका लागि विभिन्न निकायसँग आग्रह गर्दै आएकोमा अहिले आएर त्यो सपना पूरा भएको स्थानीय जयदेव पण्डित बताउँछन् । स्थानीयको समस्या प्रत्यक्ष देखेपछि जनप्रतिनिधिसँगको समन्वयमा पानीपँधेरो निर्माण गरिएको श्री भैरव गणका गणपति असिम श्रेष्ठ बताउँछन् । द्रुत प्रभाव परियोजना (क्विक इम्प्याक्ट प्रोजेक्ट–क्यूआईपी)अन्तर्गत १५ हजार लिटर क्षमताको ट्यांकीसहितको संरचना निर्माण गरिएको उनको भनाइ छ ।
पाँच लाख १५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो परियोजनामा सेनाका जनशक्ति प्रत्यक्ष खटिएका थिए । सेनाका अनुसार यसबाट दैनिक १२ सयदेखि १५ सय जनासम्म लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ पानीपँधेरो निर्माणसँगै घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ भने स्वच्छ खानेपानीको पहुँच पनि सुनिश्चित भएको छ । निर्माण सम्पन्न भएपछि सेनाले उक्त संरचना गजुरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका उप्रेती गाउँवासीका लागि यो पानीपँधेरो केवल पूर्वाधार मात्र होइन, सहज जीवनको आधार बनेको छ । स्थानीयको दैनिकी परिवर्तन गर्ने यस्ता साना तर प्रभावकारी परियोजनाले समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !