गुटको नेतृत्व गर्नेले सिंगो पार्टी हाँक्न सक्दैन

गुटको नेतृत्व गर्नेले सिंगो पार्टी हाँक्न सक्दैन

‘हामीले संगत गर्दा शेरबहादुर देउवा त्यस्ता थिएनन्’ कुनै बेला निकै हेलमेल गर्थे डा. रामशरण महत। देउवा प्रधानमन्त्री हुँदा २०५९ जेठ ८ को मध्यरातमा संसद् विघटनसँगै टाढिएका महत यतिबेला ‘आलोचक’ हुन्। नेतृत्वले दलमा दूरदृष्टिले देखाउन नसकेको, गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हुर्काएको उनको आरोप छ। वर्तमान सरकार हसीमजाकमा राजकाज चल्छ भन्ने विश्वासमा अघि बढेकोमा उनी चिन्तित देखिन्छन्। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. महतसँग यही सेरोफेरोमा रहेर अन्नपूर्णका चन्द्रशेखर अधिकारीनवीन झाले गरेको कुराकानी :


नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिएको हो ?      

कांग्रेसले पछिल्ला निर्वाचनमा पराजय भोग्नुपर्‍यो । पराजयबाट कार्यकर्ता मात्र होइन, आमजनता निराश छन् । लोकतन्त्रमा विश्वास राख्ने र त्यसको प्रवर्द्धन गर्ने एक मात्र पार्टी कांग्रेसलाई सुधारको बाटोमा कसरी लैजाने भन्ने चिन्ता सबैमा छ । तर, पार्टी नेतृत्वमा दूरदृष्टि देखिएन । सबैलाई एकताको सूत्रमा बाँध्ने प्रयास नेतृत्वबाट हुन्छ भन्ने आम कार्यकर्ताको भावनामा तुषारापात भयो । गुटबन्दीको आरम्भ पनि नेतृत्वबाटै भयो । त्यसले व्यक्तिवादी प्रवृत्ति हुर्कायो । आफू कसरी बलियो हुने भन्नेमा नेतृत्व केन्द्रित भयो । गुटबन्दी हाबी हुँदा पार्टी कमजोर हुनु स्वाभाविक हो । यो नेतृत्वको लहड र व्यवस्थापकीय कमजोरीको परिणाम हो । हामीले संगत गरेका शेरबहादुर देउवा यस्ता थिएनन् तर किन यस्ता भए, कसको दबाबमा परे स्पष्ट पार्न सक्नुपर्छ । कांग्रेसलाई बलियो बनाएर सबल नेतृत्व दिन हामी लागिपरेका छौं ।

कांग्रेसप्रति जनविश्वास घट्दै गएकाले युवापंक्ति नयाँ खुलेका दलप्रति आकर्षित भएका हुन् ?      

जनविश्वास र जनाधार गुमेको छैन । नेतृत्व र उनीहरूको गतिविधिप्रति भने गुनासा छन् र तीव्र असन्तुष्टि पनि । यतिबेला कांग्रेसलाई ठूलो मौका छ । दुईतिहाइ बहुमतको सरकारका गतिविधिले जनतामा कांग्रेसको स्मरण भइरहेको छ । हामीले के गर्‍यौं र सरकारले के गर्दैछ भन्ने जनतामा छर्लंग छ । यसलाई प्रमुख प्रतिपक्षले ‘क्यास’ गर्न सक्नुपर्छ । कांग्रेस लोकतन्त्रको पहरेदार हो भन्ने छाप आम नागरिकमा मात्र होइन, विश्व समुदायमा समेत परेको छ । सरकारका पछिल्ला गतिविधिले त विश्व समुदाय कांग्रेसप्रति झनै विश्वस्त देखिएका छन् । यसको प्रवर्द्धनका लागि पनि दलभित्रको चुस्त व्यवस्थापन प्रमुख सर्त बन्न सक्नुपर्छ । दललाई व्यवस्थित बनाउन सके कांग्रेसप्रति विश्वास झनै बढ्छ ।

कांग्रेस बलियो बन्ने संकेत देखिएका छैनन् त ?      

हो, सबै कमजोरीको जिम्मा नेतृत्वले लिनुपर्छ । नेतृत्व यति बलियो छ कि अरूले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । नेविसंघको महाधिवेशन र विधानको विषयमा नेतृत्व हावी देखिएको छ, तर दूरदृष्टि देखाउने छाँटकाँट छैन । विधानअनुसार समिति नै भंग गरेर संघको अधिवेशन तयारी समिति बनाएको भए उचित हुन्थ्यो । आफू पक्षधर कमजोर होला भन्ने चिन्ताले सहज बाटो पछ्याउन कठिनाइ भइरहेको छ । आफू कसरी शक्तिशाली हुने भन्ने प्रवृत्ति नै समस्या हो ।

नेतृत्वले आफूलाई केन्द्रमा राखेर काम गरिरहेको निष्कर्ष तपाईंको हो ?      

देउवा आफैं भनिरहनुभएको छ– म पुनः सभापति हुन्छु । समस्या यही नै हो । कांग्रेसलाई धराशायी बनाउने अनि फेरि नेतृत्वको दाबी गर्नु कत्तिको उचित होला ?        हो, लोकतन्त्रमा दाबी गर्न पाइन्छ तर त्यसो भन्दैमा आफूअनुकूल सबै मिलाउनु लोकतान्त्रिक धार होइन । पदमुखी कांग्रेस अहिलेको समस्या हो । मुलुक, दल, समाज अनि व्यक्ति हो । तर नेतृत्व आफू, परिवार र गुटमा केन्द्रित देखिएको छ । अहिले सिर्जित समस्या पनि यसैको परिणाम हो । यस्तो प्रवृत्ति कायम रहे मुलुक, दल र जनताको हित हुन सक्दैन ।

सभापतिसँग तपाईंको संगत लामो हो तर एकाएक आलोचक भएर उत्रिनुभयो त ?

सामान्य दलीय सम्बन्ध छ । विद्यार्थीकाल र संसद् विघटन हुनुअघिसम्मको अवस्थाको जस्तो सम्बन्ध छैन । हो, हाम्रो सम्बन्ध विद्यार्थी कालदेखिकै हो । नेविसंघमा उहाँ सभापति हुँदा म महामन्त्री थिएँ । उहाँलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउँदा मलगायतको ठूलो सहयोग र भूमिका थियो । तर, उहाँले २०५९ जेठ ८ को मध्यरातमा संसद् विघटन गरिदिनुभयो । त्यतिबेला आम जनतामा राजा हावी भई प्रजातन्त्र खतरामा पर्ने टिप्पणी पनि भए । उहाँको त्यो हर्कतले म, आमोद उपाध्याय र राजेन्द्र खरेलजीले राजीनामासहित यो कार्य राम्रो नभएको भन्दै उहाँलाई सचेतसमेत गरायौं । दलमा छलफलसम्म नगरी यत्रो निर्णय लिनु गलत थियो । त्यसपछि उहाँप्रति हाम्रो आशंका रह्यो, जुन पछि देखियो पनि । कताकता त्यही ढंगको काम भइरहेका छन् । त्यसैले त हामी भनिरहेका छौं– नेतृत्वमा दूरदृष्टि भएन । सानो गुटमा रमाएर सिंगो पार्टीको नेता हुन सकिन्न ।

नेतृत्वलाई कमजोर र दूरदृष्टि नभएको भनिरहँदा पार्टीका अन्य पदाधिकारी र नेताहरू के गरिरहेका छन् ?      

मुख्य त नेतृत्व नै हो । नेतृत्व कति शक्तिशाली छ भने अन्यले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । त्यसैले त सामूहिक नेतृत्वको विषय उठिरहेको हो । सर्वस्वीकार्य र दूरदृष्टि भएको व्यक्ति सभापति नहुँदा ‘शक्तिशाली सभापति’ हुनु नै दलका लागि दुर्भाग्य भएको छ । यही विषयमा छलफल चलिरहेको छ । पार्टीमा हाबी गुटबन्दी व्यवस्थापन गर्न सामूहिक नेतृत्वको आवश्यकता महसुस भइरहेको हो । सभापतिको भूमिका न्यून हुुनपर्छ भन्ने भावना बढ्दो छ ।

पार्टीको विधानमा पनि समस्या देखिएको छ । यसको सम्बोधन कसरी होला ?      

विधान संशोधन गर्ने विषयमा धेरै स्थानमा परामर्श भएकाले विवाद भए झैं देखिएको हो । सबैबाट आआफ्नो धारणा राख्ने काम भइरहेको छ । हल्ला हुनु स्वाभाविकै हो । अब नेतृत्वमा रहेका अनुभवी व्यक्ति बसेर यसको निरूपण हुनुपर्छ । आशा छ– विधान सबैको सहमतिमा आउनेछ । नेतृत्वको इच्छाशक्ति भए सहमतिमा आउन असहज छैन ।

विधान समितिले काम गरिरहेको छ भनिए पनि किन अडकिरहेको त ?      

एकातिर कार्यसमिति ठूलो बनाउनुपर्ने माग छ भने अर्कोतिर प्रदेशतिर सानो संरचना हुनुपर्छ भन्ने विषय उठेको छ । पदाधिकारी थोरै राख्ने एउटा विचार छ भने सामूहिक नेतृत्वमा जानुपर्ने अर्को विचार । केन्द्रको जस्तै माग प्रदेशको पनि छ । एकथरीबाट सभापतिलाई अधिकारसम्पन्न बनाउने र अर्कोथरीबाट सामूहिक नेतृत्वमा जानुपर्ने माग आइरहेको छ । सभापति बलियो हुँदाभन्दा सामूहिक नेतृत्वमा जाँदा पार्टी बलियो हुन्छ भन्ने मेरो दृष्टिकोण हो । किनकि बलियो सभापतिबाट निष्पक्ष ढंगबाट व्यवस्थापन हुने सकेन ।

सर्वस्वीकार्य र दूरदृष्टि भएको व्यक्ति सभापति नहुँदा ‘शक्तिशाली सभापति’ हुनु दलका लागि दुर्भाग्य भएको छ।

यहाँहरूले सभापतिलाई काम गर्न नदिएको आरोप छ नि ?

यो निराधार हो । शक्तिशाली सभापतिलाई हामीले कसरी रोक्न सक्छौं ? हामीले त दललाई सुधारको बाटोमा कसरी लैजाने भनेर चिन्तन गर्ने मात्र हो । हामी कसरी अघि बढ्ने भन्ने विषयको छलफलमा छौं ।

निर्वाचनमा कांग्रेस कहाँबाट र कसरी चिप्लिएको हो ?      

एमालेसँगको सहकार्यमा सरकार चलाएको अवस्थाबाट पार्टीलाई टुटाउनु कांग्रेसको रणनीतिक गल्ती हो । यसमा हामीले आत्मालोचना गर्नैपर्छ । सभापतिले त्यसमा ध्यान दिनुपर्ने थियो । त्यतिबेला ध्यान नदिँदा यो समस्या आएको हो । केपी ओलीको दृष्टिकोण माओवादीप्रति झन् फरक थियो । सुशीलजीले पछि उम्मेदवारी दिनु अर्को गल्ती थियो । त्यो रणनीतिक गल्तीले एमालेसँग पछि पनि हुनसक्ने सहकार्य टुट्यो । एमाले र माओवादीको दूरी बढेपछि कांग्रेस र माओवादीको सरकार बन्यो । त्यतिबेलैदेखि एमाले र माअ‍ोवादी मिल्न सक्ने संकेत देखिएका थिए । हामी दूरदर्शी बन्न नसक्दा राजनीतिमा अस्वस्थ खेल भए । सत्ताको वरिपरि मात्र केन्द्रित भएकाले यो समस्या आएको हो । यसले हामीलाई पाठ सिकाएको छ ।


सरकारका गतिविधि


सरकारको कार्य सञ्चालन शैलीलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

सत्ता सञ्चालनको विषयलाई दुईतिहाइ बहुमतको भनिएको सरकारले हसीमजाकको रूपमा लिए झैं देखिन्छ । जुन रूपमा गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने हो, त्यसअनुकूल भएको छैन । त्यस्तो संकेत पनि देखिएको छैन । सरकारमा हल्काफुल्का निर्णय लिने, भाषण गर्नेबित्तिकै विकास भइहाल्छ भन्ने मनोवृत्ति हावी छ । राज्य सञ्चालनमा परिपक्वता र गम्भीरता पटक्कै छैन । सरकारको नेतृत्व गरिरहेका नेतामा राजकाज चलाउने सीप, अनुभव र ज्ञानको पूर्णतः अभाव देखियो । जसले गर्दा प्रशासन संयन्त्र कमजोर बन्न पुग्यो । शासनमा दूरदृष्टि र गाम्भीरता देखिएन । परिपक्व ज्ञान अभावले अहिले सरकार थलिए झैं देखिन्छ ।

ज्ञान नै नभएको कि जानीजानी यस्तो गरिरहेका ?

‘इन्टेन्सन’ नै त नभनौं तर परिपक्वता र ज्ञानको अभाव नै छ । प्रशासकको नियुक्तिमा पार्टी र गुटले पनि त्यस्तै देखाएको छ । सबै विषयलाई राजनीतिक र दलीयकरण गर्दै राज्य सञ्चालन गर्ने काम भएको छ । जसरी पनि सत्तामा बसिरहने मानसिकता देखिन्छ । यसले दीर्घकालका लागि मुलुकको हित गर्दैन । जुन प्रकारले समृद्धिको नारा दिइएको छ, त्यो केवल नारा मात्र हो । गृहकार्य नै नगर्ने र हचुवामा बोल्ने बानी सरकारमा रहेका मन्त्रीहरूमा छ । तयारी गरेर अघि बढ्नुपर्ने थियो, त्यो पनि देखिएको छैन । सतही रूपमा मात्र काम भएको छ । रेल, जलमार्गका विषय पनि यही हो । तयारी गरेर निश्चिन्त भएपछि यस्तो हुँदैछ भन्ने हो । काम हुने वा नहुने अवस्थामै हल्ला धेरै गर्ने । जनतामा भ्रम छर्ने काम भएको छ ।

प्रमुख प्रतिपक्ष बलियो नभएकाले यस्तो समस्या देखिएको त होइन ?

प्रतिपक्षलाई सत्ताधारीले हल्का रूपमा लिएका छन् । दुईतिहाइको सरकार हो, जे गरे पनि हुन्छ भनेर यसो गरेको होला । सत्तापक्षले प्रतिपक्षको भावनाको कदर नगरेको देखियो । हामीले जे गरे पनि हुन्छ भन्ने धारणा हुर्कंदो छ । यसमा संयमता आवश्यक पर्छ । प्रतिपक्ष नेतृत्व पनि सशक्त ढंगले प्रस्तुत हुन सकेको छैन । कुनामा बसेर गफ दिइरहनुको अर्थ छैन । प्रतिपक्षमा बसेर कतिपय साथीहरूले उठाएका कुराको सुनुवाइ हुन सकेको छैन । तर प्रतिपक्ष नेतृत्वको धारणा पनि सबलरूपमा आउन सकेको छैन ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेको छ । त्यहीअनुरूप विकासको मोडल अघि बढाएको भन्दैछ त ?

नारा ल्याएर विकास हुने होइन । कामगराइ, त्यसको गति अनि तौरतरिका कसरी अघि बढेका छन् भन्ने प्रमुख हो । तत्कालको आवश्यकता के हो, त्यसमा ध्यान दिनुपर्छ । कतिपय स्थानमा सडक सञ्जाल पुगेको छैन । उपत्यकाका सडकको हालत यस्तो छ । अन्तर्राष्ट्रिय विमानस्थल लथालिंग छ । काममा विवाद मात्रै देखिएको छ । मुलुक बनाउनेभन्दा ‘आफैं कमाउ’ भनेर लागिरहेका समाचार आइरहेका छन् । गफ होइन देखिने गरी काम हुन आवश्यक छ । रेलमार्ग ल्याउने हो भने त्यसबारे अध्ययन हुनुपर्‍यो । आर्थिक दृष्टिले सम्भाव्य छ कि छैन भनेर हेर्नुपर्‍यो । सतही घोषणाले यति वर्ष र उति वर्ष भनेर हँुदैन । जलमार्गको कुरा आयो । त्यो के हो, कसरी सम्भव छ, त्यसको अध्ययन खोइ ? हुन त यहाँ एभरेस्टको टुप्पोमा अक्सिजन पुर्‍याउने कुरासमेत सुनियो । अझै केके सुन्नुपर्छ थाहा छैन ।


अर्थतन्त्रबारे


लामो समय अर्थमन्त्री भएर काम गर्नुभयो । विकासको अवस्था कस्तो थियो र अब के गर्नुपर्छ ?

हाम्रै प्रयासका कारण मुलुक अस्थिर हुँदा पनि हामी अग्रसर छौं । नेपालीको जीवनस्तर खस्केको छैन, बढेकै छ । सरकारको ढुकुटी बढेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सन्तुलन बढेको छ । तर राजनीतिक अस्थिरता बढ्यो, हरेक क्षेत्रमा राजनीति हावी पनि भयो । अनि लामो समय द्वन्द्व । विकासको गति सोचेअनुरूप अघि बढेन, यद्यपि गति रोकिएन । जसका कारण अहिलेसम्म मुलुकले थेगिरहेको छ । तर वर्तमान सरकार राष्ट्रिय मूल मुद्दामा जान सकेको छैन । भएका स्रोतसाधनको उपयोग सामाजिक न्यायको सिद्धान्तका हिसाबले वितरण गर्नुपर्छ । भएका सीमिति स्रोत र साधनको अधिकतम उपयोग गर्ने हो । मेहनतका साथ सुशासन कायम गर्ने हो तर अहिले मेहनत कम र गफ बढी भएको छ । जागिर खुवाउने र ढुकुटी रित्याउने काम मात्र भएको छ । नतिजा दिने र भएको स्रोतसाधनको अधिकतम उपयोग हुन सकेको छैन । बजेटमा सपना बाँड्ने तर कार्यावन्यन नगर्ने । अनि कसरी नतिजा आउँछ ?

रेमिटेन्स कम भएमा के होला हाम्रो अर्थतन्त्र ?

रेमिटेन्सले भुक्तानी सन्तुलन धानिएको छ । यत्रो व्यापार घाटा हुँदा पनि हामी टिकेका छौं । अर्बौंको सन्तुलन यसैबाट भएको छ । आयात—निर्यातमा सन्तुलन ल्याउन औद्योगिक क्षमता बढाउन आवश्यक छ । प्रतिस्पर्धात्मक रूपमा अघि बढेर क्षमता वृद्धि गर्नु पछिल्लो आवश्यकता हो । त्यसका लागि सुशासन आवश्यक छ । अढाइ सय कपडा उद्योग बन्द भए । मजदुर आन्दोलनमा छन् । नेपालमा कपडा उद्योग विकासका लागि कच्चा पदार्थमा भ्याट छुट गरिएको थियो । त्यसको व्यवस्थापन गर्न सकेनौं, अर्को निर्णय लियौं । उद्योग नै बन्द हुने अवस्थामा पुग्यौं । कर लिने पनि एक प्रणाली हुन्छ । त्यो प्रणालीलाई ध्यान दिनुपर्छ । जनतामाथि कर थोपर्नुअघि वैज्ञानिक कारण दिन सक्नुपर्छ । व्यवसायी त्रासमा छन् । उद्योग व्यवसाय कानुनअनुसार चलाउनुपर्‍यो र विधिअनुरूप कारबाही गर्नुपर्‍यो ।

वैदेशिक लगानीमा जोड दिने धारणा सरकारले बाहिर ल्याएको छ नि ?

विश्वका लगानीकर्ताले हेर्ने भनेको विश्व बैंकको डुइङ बिजनेसको अवस्था हो । त्यसमा हामी एक सय १० औं स्थानमा छौं । उद्योगपति त्रसित छन् । नेप्से लगानीको नाडी हो, त्यो घटेर एकचौथाइमा पुगेको छ । अनि कसरी आउँछ लगानी ? त्यसका लागि सुशासन हुनुपर्‍यो, । सरकारप्रति नै विश्वास नदेखिएका बेला वातावरण बनाउने कुरा त परको विषय हो ।

लगानी बटुल्ने नाममा विदेश डुल्ने सरकारका मन्त्रीहरूको क्रियाकलापबारे के भन्नुहुन्छ ?      

डुल्नका लागि डुल्दा हुन्छ । राज्यको स्रोतको दुरुपयोग । हल्ला गरेर होइन, मुलुकभित्र काम गरेर देखाउनपर्‍यो । लगानी भिœयाउन सक्नुपर्‍यो । यहाँको अवस्था हेरेर मात्र लगानीकर्ता आउने हुन् । विकास खर्चको अवस्था के छ ?       नेप्से कहाँ पुगेको छ ?       लगानी गर्नेले त्यो सबै अध्ययन गर्छ । हिन्दुस्थानका पुराना अर्थमन्त्री सुव्रमण्यमले भनेको स्मरण गर्छु– लगानी पहाडजस्तो र उत्पादन मुसाजस्तो । अनुत्पादक खर्च वृद्धि गर्ने कार्य भइरहेको छ । लगानीको लागत बढी छ । यसमा ध्यान दिएर हामी अघि बढ्न आवश्यक छ ।

कर्मचारीले काम गर्न नदिएको भनिन्छ नि ?      

सरकारले यस्ता हावादारी कुरा गरेर हिँड्ने होइन । बरु कर्मचारीलाई काम गराउन जानिनँ भन्नु नि । आफूकेन्द्रित भएर काम गर्दा यस्तो अवस्था आएको हो । कर्मचारीसँग छलफल र सहकार्य गरेर निर्णयमा पुग्नुपर्छ । कतिपय कर्मचारी अदक्ष पनि होलान्, तर विषयगत ज्ञान हेरेर उपयोग गर्न सक्नुपर्छ ।

तीन तहको संरचनाका कारण समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो कि ?      

यसबारेमा मैलै पटकपटक बोल्दै आएको छु । संघीय संरचना धान्न त्यति सजिलो छैन । क्षमता अभिवृद्धि गर्ने एजेन्डा हुनुपर्ने हो । त्यसमा ध्यान दिएनौं । संविधानले दिएको जिम्मेवारी पूरा गर्न संस्थागत क्षमता तल्लो र बीचको तहमा छैन । माथिल्लो तह झन् अलमलमा छ । क्षमता नहुनुमा कर्मचारी, ऐन नियम र निर्देशिकाको अभावले हो । दक्षताको अभाव छ । यसलाई कसरी अघि बढाउने भन्ने बारेमा संघ, प्रदेश र स्थानीयले चासो नै दिएका छैनन् । प्रदेश र स्थानीय पनि सुविधा वृद्धिमा जुटेका छन् । जथाभावी र संविधानविपरीत कर लगाउने काम भएको छ ।

संघीयताबाट पछि हट्ने अवस्था आएको होइन नि ?      

यो राज्य सञ्चालनका लागि निकै कठिन प्रणाली हो । यो सोचमा ध्यान दिन आवश्यक थियो । पटकपटक भन्दै आएको थिएँ, ‘होस पुर्‍याऊँ है ।’ यतिबेला स्थानीय सरकार पनि निकै बलियो बनेको छ । ब्याक हुन पनि सहज छैन । यसलाई कार्यावन्यनमा लैजान ठूलो त्याग र मेहनत आवश्यक पर्छ । सफल बनाउने क्षमता नेतृत्वमा देखिएन । सबै दलमा विभाजन छ । व्यक्तिमा क्षमता देखिँदैन । संक्रमणकालीन न्यायको कारण पनि हाम्रो इमेज राम्रो गएको छैन । विश्व समुदाय पनि यसमा सशंकित छ । संघीयता भन्ने अनि प्रधानमन्त्रीअन्तर्गत ठूलो रकम राखेर कसरी काम हुन्छ ? शासकले गर्ने कार्यशैलीमा प्रधानमन्त्री उत्रेको देखिन्छ ।

अर्को राजनीतिक द्वन्द्वमा जान लागेका त होइनौं ?      

त्यस्तो अवस्था आउन दिनु हुँदैन। विकासमै जोड दिनुपर्छ । जिम्मेवारी दिनेक्रममा उचित र अब्बल व्यक्ति चयन गरौं । म्यानपावरको व्यवस्थापन आवश्यक छ । सत्तामा बस्नेले सबै विषयलाई मजाकका रूपमा लिनुभएन । सही व्यवस्थापन आवश्यक छ । बोलेर मात्र केही हुँदैन । राष्ट्रिय विकास र समृद्धिको एजेन्डालाई मिलाएर अघि बढाउनुपर्छ । सरकार आफ्नै कारणले असफलतातिर गइरहेको छ । यस्तो अवस्थामा फेरि मुलुक निर्वाचनमा धकेलिन्छ । अहिले नै सरकारको विषयमा कुरा गर्न छिटो हुन्छ, तर लक्षण राम्रो छैन । सरकारले राम्रो काम गरोस् । हामी चार वर्ष प्रतिपक्षमा बस्न तयार छौं । सरकार आवश्यक काम गर्दैन, अनावश्यक कुरा गर्छ, सूचना लुकाउँछ भने सरकारको परिपक्वताको मापन यसैले गरेको छ त । भावनामा बगेर निर्णय गरिएका विषयलाई सार्वजनिक गर्न गाह्रो हुन्छ ।

राष्ट्र प्रमुखदेखि स्थानीय तहसम्म चरम सुविधाभोगमा लालच हुँदा समस्या देखिएको त होइन ?      

राष्ट्रपतिलाई जथाभावी सुविधा थप्ने, सुविधावाल गाडी थप्ने, कम्पाउन्ड बढाउने काम तत्काल बन्द होस् । उपराष्ट्रपतिको विषयमा भएको निर्णयबाट सरकार पछि हटोस् । राजा हुँदा पनि दरबारको बैठक देखेका थियौं र सरकारमा हुनेले पनि देखेका थिए । त्यसतर्फ ध्यान दिइयोस् । शीतलनिवास दरबारभन्दा बढी सुविधाभोगी देखिएको छ । हाम्रो अर्थतन्त्रले धान्नेभन्दा माथि छ । अहिले हेलिकप्टर नै चाहिए पनि भैरव गण छ त्यहीं । राष्ट्रपति कम्पाउन्ड किन बढाउने ? कतिपय मुलुकमा उपराष्ट्रपतिको भूमिका नै हुँदैन र अपरहाउसको चिफलाई कार्यवाहक दिइएको हुन्छ । कतिपय देशमा उपराष्ट्रपतिलाई पदेन बनाउँदै अपरहाउस हेर्ने जिम्मेवारी दिइएको हुन्छ । विनाकामको उपराष्ट्रपतिलाई सुविधा थप्नु स्रोतको दोहन मात्र हो । सरकारको आर्थिक थिंक ट्यांक भनेको योजना आयोग हो । कूटनीतिक थिंक ट्यांकको रूपमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान छ भने अर्को थिंक ट्यांक आवश्यक थिएन । थिंक ट्यांकको के कुरा, कतिपय आयोग नै खारेज गरे हुने अवस्था छ । कार्यकारीले गर्न नसक्ने स्थानमा मात्र संवैधानिक आयोग आवश्यक छ।


कूटनीति


हामी छिमेकमा मात्र खुम्चिएका हौं ?

हाम्रो दायाँबायाँ तीव्र आर्थिक विकास गरिरहेका मित्रराष्ट्र छन् । अन्य मुलुकसँग हाम्रो सम्बन्ध निकै फराकिलो छ । हामी अहिले खुम्चिएको जस्तो देखिन्छ । उनीहरूको बजारबाट कति फाइदा लिने भन्नेतर्फ उन्मुख हुनुपर्ने हो, तर त्यसमा हामी सबल हुन सकेनौं । परराष्ट्र नीति सफल भनिन्छ । थाइल्यान्डले कतिपय मुलुकलाई अराइभल भिसा उपलब्ध गराउने निर्णय गरेको छ । नेपालीलाई उल्टै एक लाख बैंक ब्यालेन्स देखाउनुपर्ने बनाइयो । यसलाई कसरी सफल मान्ने ? बैंककको राष्ट्रसंघीय बहुपक्षीय कार्यालयलाई नेपालमा सार्न सरकारले दिएन । कसरी सफल हुन्छ कूटनीति ? हामी फराकिलो हुनुपर्छ । शान्ति प्रक्रियाको समयमा राष्ट्रसंघको भूमिका केही फरक थियो । त्यो समयमा हामी दह्रो भएर बोल्नुपर्ने थियो । राजदूत नियुक्तिदेखि कूटनीति सञ्चालनसम्मै निकै ध्यान दिनुपर्छ ।

हामीलाई तेस्रो विश्वले हेर्ने धारणा के छ ?      

पश्चिमाको हामीप्रतिको धारणा सकारात्मक छ । धर्म परिवर्तनको विषय अलिकति बाहिर आएको छ । त्यो पश्चिमा सरकारको नीति त होइन, तर त्यहाँको चर्चहरूबाट सञ्चालन हुन सक्छ । यहाँ गैरसरकारी संस्थाले रकम ल्याउने धन्दा पनि हो । धर्ममा पैसा छ । यसमा हामीले ध्यान दिने हो । हामी तेस्रो विश्वमा खुला हुनैपर्छ । भारत र चीनमा मात्र खुम्चिने र उनीहरूको निर्णय पर्खेर बस्ने होइन । हामी हाम्रो निर्णयमा अडिग भई हिँड्नुपर्छ । हाम्रो मुलुक बौद्धिक क्षमताले यहाँसम्म आएको हो । त्यसमा सबैको ध्यान जान आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.