महासंघको कर परामर्श केन्द्र सञ्चालन
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा मंगलबारबाट कर परामर्श केन्द्र सञ्चालनमा आएको छ। कर राजस्वसम्बन्धी व्यवसायी तथा अन्य क्षेत्रबाट आएको गुनासो समाधान गर्न महासंघले यो केन्द्र सञ्चालनमा ल्याएको हो। राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उक्त सेवाको उद्घाटन गरेका छन्।
उक्त केन्द्रले देशका सबै ठाउ“बाट आएका कर राजस्वसम्बन्धी गुनासोलाई संकलन गरी प्रत्येक शुक्रवार गुनासोउपर छानबीन गर्ने, निप्टरा लगाउने काम गर्नेछ। तत्कालै निचोडमा पुग्न नसकिने गुनासोलाई माथिल्लो निकायसमक्ष पु¥याइने उल्लेख छ। परामर्श केन्द्रको उद्घाटनपश्चात सचिवालयमा आयोजित अन्तक्र्रियामा अध्यक्ष राणाले मुलुकको आर्थिक विकासका लागि सरकारी कार्यक्रममा सहयोग गर्न महासंघ तयार रहेको उल्लेख गरिन।
सरकारको कर प्रशासन सधैं व्यवसायमैत्री र कर तिर्ने वातावरण निर्माणमा चनाखो हुनुपर्ने उनको भनाइ थियो। मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार गर्न सरकारले औद्योगिक, आर्थिक विकासका लागि अध्ययन अनुसन्धानमा लगानी बढाउनुपर्ने राणाले बताइन्।
राजस्व सचिव ढुंगानाले सरकार–निजी क्षेत्रको चासो भनेकै मुलुकको विकास र समृद्धि रहेकाले निजी क्षेत्रलाई सधैं साथमा लिएर कार्य गर्ने विश्वास दिलाए। उनले निर्यातमूलक उद्योगलाई बढावा दिई आयात प्रतिस्थापन गर्नु सरकारको मुख्य लक्ष्य भएको बताए। उद्योग व्यवसायको विकासमा निजी क्षेत्रलाई सक्रियतापूर्वक लाग्न उनले आग्रह गरे। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चालु आवको पहिलो त्रैमासमा लक्ष्यभन्दा ३३.४ प्रतिशत बढी कर संकलन भएको बताए।
प्रतिक्रिया दिनुहोस !