एकै परिवारका चारजनाको जलेर मृत्यु, एक घण्टापछि पुगे दमकल र प्रहरी (अपडेट)
बिर्तामोड : मंसिर : झापाको शिवसताक्षी नगरपालिका ७ स्थित लालझोडामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। आइतबार राति सवा १० बजे सबै सुतिरहेको समयमा अचानक घरमा आगलागी हुँदा ३६ वर्षका लक्ष्मण खनाल, उनकी ३० वर्षकी पत्नी राधिका खनाल, ४ वर्षकी छोरी सुप्रिया भनिने चन्द्र खनाल र ६ महिनाका छोरा टिकाराम खनालको जलेर ज्यान गएको हो।
पूर्व पश्चिम राजमार्गस्थित झिलझिले चोकबाट चार किलोमिटर भित्र रहेको खनालको घरमा अचानक आगलागी हुनासाथ प्रहरी र दमकललाई खबर गरेपनि घर र सबै परिवार जलेपछि मात्र दमकल र प्रहरी पुगेको स्थानीयवासी केशव आचार्यले बताए।
आगलागी भएको घर ।
आगोले खनालको कच्ची घरको भुइँतला पुरै ढाकेपछि स्थानीयवासीले थाहा पाएको साथै मटर र कलको सहायतामा निभाउने प्रयास गरे पनि नसकिएको आचार्यको भनाई छ। आगलागी भएको एक घण्टापछि दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
आगो निभाउँदै प्रहरी ।
खनाल परिवार सबैजना माथिल्लो तलामा सुतेकाले उद्धार गर्न नसकिएको स्थानीयवासी बताउँछन्। खनालको घरमा जोत्न र थ्रेसर चलाउने ट्याक्टर समेत रहेको र सो ट्याक्टरका लागि डिजेल ल्याएर भुइतलामा राख्ने गरेकाले आगोले ठूलो रुप लिएको स्थानीयवासी शेखर अधिकारीले बताए। आगलागीका कारण घरमा भएका अन्न, लत्ताकपडासहित एउटा मोटरसाइकल पनि पूर्ण रुपले जलेको छ।
जलेको शव ।
अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए। विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयवासीले अनुमान गरे पनि अनुसन्धान भइरहेको उनको भनाई छ। अहिले घटनास्थलमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र झापा जिल्ला प्रहरी प्रमुख (एसपी) भीमप्रसाद ढकाल समेतको टोली अनुगमनका लागि पुगेको छ।