बसको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते
राजविराज : छोरी बोकेर पैदल हिंडिरहेकी सप्तरीकी एक महिलाको बिहीबार राति म्याजिक बसको ठक्करबाट मृत्यु भएको छ। राजविराज-रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका-१ मा राजबिराजबाट रुपनीतर्फ गइरहेको ना.१ ज ८१०३ नम्बरको म्याजिक बसले ठक्र दिँदा पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको डीएसपी भावेश रिमालले बताए। शव राजविराजस्थित अञ्चल अस्पतालमा शुक्रबार पोष्टमार्टम गरी दाह संस्कारका लागि उनका श्रीमान राजेन्द्र पासवानको जिम्मा लगाइएको अस्पतालले जनाएको छ।
उनको साथमा रहेकी १४ महिनाकी छोरी पार्वती कुमारीको निधारमा चोट लागेर घाइते भएकी छन्। म्याजिक बसका साथै चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुपनीले शुक्रबार आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ।