ग्रेट डिप्रेसनको निकास के ?
अहिले देश ग्रेट डिप्रेसनमा फसेको छ। चौतर्फी निराश बढ्दो छ। यो निराशालाई कसले पार लगाउने ? तीतो सत्य सामना गर्न गाह्रो हुन्छ। संसद् सिंहदरबारमा कैद छ। सिंहदरबार बालुवाटारमा बन्दी बन्यो। सबै शक्ति प्रधानमन्त्रीमा केन्द्रित छ। मन्त्रीजीहरू आतंकबीचमा झन्डा हल्लाउँदै हिँड्छन्, कुन दिन कसले जागिर खाइदेलान् ! त्राहीमाम छन्। पार्टी हुकुमीतन्त्रले चलेको छ। सरकार दम्भमा फसेको छ, प्रतिपक्ष या त निदाएको छ या मद होस। सडक रित्ता छन्। चारैतर्फ असन्तोष छ, तर त्यो विद्रोहभन्दा आक्रोश वा कुण्ठाका निराशामा देखिन्छ। सिंहदरबार गाउँ पस्यो, भ्रष्टाचार लिएर। मिडिया बहसहरू निमित्त कारणमै अल्झे। समस्या घर्काउन वा अन्यन्त्र मोड्न लोकप्रिय कार्यक्रमको प्रचारयुद्ध थालिएको छ। यो शुभसंकेत हैन।
निराशा त्यसै छाएको हैन र छैन। या त यो मुलुकमा मान्छे लाहुरे जन्माएर गौरव मान्छ या त राजनीतिक व्यवसाय अँगाल्छ, उद्यममा छैन। राजनीति या त कुण्ठा या पार्टी गिरोहको लठैत भएर चलिरहेको छ। आलोचनात्मक चेत योजनाबद्ध खारेज भए। युवा जन श्रम र व्यवसायमा भन्दा ‘इजी मनी’ मै भविष्य देख्छ। तमाम सफेदपोसका अपराध हुन् या ठूलेहरूको चर्तिकला– सबै राजनीतिक सिन्डिकेटको संरक्षणमा चल्छन्। जति ठूलो नेता छ, उसको प्रत्यक्ष वा परोक्ष एनजीओ छ। एनजीओ सिहंदरबारदेखि शीतलनिवास र बालुवाटरमा समेत हाबी छ। देश एउटा विदेशीका शक्ति परीक्षण मात्रै हैन, प्रयोगशाला बनेको धेरै भयो। बहस निर्माण र विद्रोहमा ठण्डापानी उही खन्याउँछ। यही जालो कसरी कसले कहिलेसम्म चिर्ला ? के यसैमा टेकेर खेल्नेहरूले दाउ खोजिरहेका हुँदैनन् र ?
निर्मला पन्त त नेपालमा बलत्कार, हत्या र त्यसको प्रतिरोधको प्रतीक नै बनिन्, प्रशासनको निर्लज्जता नजिर बन्यो। महालाउडा वाइड बडी बनेर देखाप¥यो। त्यस्ता बेला पिँधमा परेका दलित आन्दोलन, जनजातिका मुद्दा, महिला आन्दोलन, किसान आन्दोलनका आफ्नै नेता नहुनुमा आश्चर्य मान्नै पर्दैन। सर्वाटर्न आन्दोलनको स्वामित्व पनि या त सत्ताको भ¥याङ बन्यो या अपराधीकरणको शीर्षक वा एनजीओ खेती। तर यति हुँदा पनि हरेक आन्दोलनले भुइँमान्छेमा पैदा गर्ने जागृति र स्वाभिमानको भोक भने वर्चश्वशाली तप्काले सखाप पार्न सक्दैन। भलै आन्दोलनबाट जन्मिएको नेतृत्वले आफ्ना गौरवता धान्न नसकेर मालिक वर्गकै पक्षपोषण र प्रवक्ता किन नबनून् !
महानिराशा त्यसै छाएको हैन। भ्रष्टाचारको कीर्तिमानको पोल ट्रान्सपरेन्सी इन्टरनेसनलले लगौटी खोलिदियो। संसद् आफ्नै सेवासुविधा बढाउन तल्लीन छ। शीतलनिवास सानु मात्रै भएन, अब त थप लक्जरियस हुन खोज्दैछ। सत्ताको कुरै छोडौं, सरकारको समेत चित्र फेरिए, चरित्र उही रह्यो। नवराजाहरू देखा पर्दै गए।
नेपाली सरकारी कम्युनिस्ट देखेर पाकिस्तानी बुर्जुवा इमरान खान खित्खिताउँदा होलान्, उरुग्वेका पूर्वराष्ट्रपति होसे अल्वार्तो पेपे मुहिका कोर्दानो लाजले मुख छोप्लान्। वालस्ट्रिट र भेटिकन सिटी मन्दमन्द मुस्कुराइरहेको होला। एक गोली पनि नपडकाई, एक थोपा रगत पनि नझारी, एउटा पनि लास नगिराई आफैंलाई घारो र कात्रो बोकेका कम्युनिस्ट यति छिटै कसरी थाके, गले, विलासी र भ्रष्ट बने भनेर अनुसन्धानका लागि ठूला आईएनजीओ पठाउँदै होलान्। अध्ययनको मूल पश्चिम नेपाल वा झापा नभई शीतलनिवास वा सिंहदरबार, पेरिसडाँडा वा धुम्बाराही सानेपा बन्ला। ‘जिँउदा सहिद’ र खाडी वा मलेसियामा बेचिएका राता मान्छे प्रथम कोटीमा पर्लान्।
निराशाका कारण हुन्छन्। परिवर्तनले जगाएका महत्वाकांक्षाको व्यवस्थापन हुन सकेन्। आदर्श गले। नेतृत्वले नैतिक पुँजी बचाउन नसक्दा उसले हैसियत गुमाउँदै गयो। व्यवहारवादी बन्नेको नाममा वर्चश्वशाली वर्ग र समूह विचार फेरेर भुइँमान्छेका प्रतिनिधि देखिन सकेनन्। क्रान्तिकारी रोमान्समा मदमस्त हुँदा आफ्नै इतिहास भारी बन्न पुग्यो। समय घर्किंदै गयो तर त्यो रोमान्स जीवन संस्कृतिमा बन्न सकेन।
जुन समाजको सांस्कृतिक र मनोवैज्ञानिक जरो जति गहिरो हुन्छ त्यत्तिकै राजनीतिलाई सोसल इन्जिनियरिङको विषयबाट अलग्याउन सकिँदैन। तब सामान्य धक्काले आमूल परिवर्तनको कल्पना गर्न सकिँदैन। को, कहाँ, कुन कोख र भूगोलमा जन्मियो ? कुन सिद्धान्तको पछ्यौरी ओडेर आएछ ? मुख्य विषय हैन। समाजवादउन्मुख वा कम्युनिस्ट भनेर मात्र पुग्दैन। एउटा पेन्टरपुत्र इटलीका फासीवादका पिता भएर मुसोलिनी बन्न पुग्छ। जर्मनीमा एउटा कामीपुत्र हिटलर बन्छ। उनीहरूका पनि समाजवाद नारै थिए। मूल कुरा विचार र कर्मको मितेरी हो। त्यसै स्टालिनकालमै सोभियत रूसमा लालसामन्त न्यु मेन क्लातुरा जन्मेका हैनन्।
सरकार बहुमतको दम्भमा छ, प्रतिपक्ष हारकै समीक्षामा, भ्रष्टाचार संस्थागत भएको छ, यो शुभसंकेत हुँदै हैन।
आआफ्नै पीडा छन्। सिद्धान्तलाई च्यापेर मात्र सामाजिक मनोभावलाई पक्रन नसक्दा भारतीय कम्युनिस्टहरूले हिन्दी भाषी मध्यम वर्ग र दलित समुदायमा पुख्ता प्रभाव छोड्न सकेनन्, बरु त्यही उत्पीडित तप्का अहिले जातीय र अन्धधार्मिक राजनीतिको फसल काटिँदैछ। वर्ग संघर्षमा वर्ण समस्या र उत्पीडन समायोजन गरेर सामाजिक मनोभाव पक्रन नसक्दा साम्यवाद टाढाको सपना बन्यो। उत्पीडित समुदाय सधैं सपना कुरिरहँदैन भन्ने भारतमा डा. भीमराव अम्बेडकरले बुझे। सोसल इन्जिनियरिङमा संस्कृति र राजनीतिको अन्तरघुलन बुझने डा. राममनोहर लोहिया नै हुन्। वर्ग संघर्षमा स्थानीय अन्तरविरोध र अवस्थासँग जोडिएको कुरा सिद्धान्तमा जसरी कम्युनिस्टले बुझे तर सोसल इन्जिनियरिङसँग वर्ग संघर्षलाई जोड्न नसक्दा यो उपमहाद्वीपमै कम्युनिस्ट आन्दोलनले सेट ब्याक खायो। कम्युनिस्टले आर्थिक वर्गसंघर्ष मात्रभन्दा सांस्कृतिक उत्पीडनको वर्ण संघर्षको संवेदना र मर्म बुभ्mन सकेनन्। वर्ण संघर्ष पनि वर्ग संघर्षकै सांस्कृतिक अर्को रूप हो। यसलाई ध्यान नदिँदा समाजबाट आन्दोलन कट्ने गर्छ र सिद्धान्त शुद्धतामा मात्र थन्किन्छ।
डा. अम्बेडकर र डा. लोहिया प्रसंग वर्तमानको नेपाली राजनीतिसँग पनि जोडेर हेर्नुपर्छ। अझ त्यसमा आन्दोलनबाट अन्यन्त्र मोड्ने एनजीओ संस्कृतिको अन्तरघुलनबारे पनि गम्भीर बहस आवश्यक छ। आज मधेस, दलित, महिला, जनजातिबारे गम्भीर बहस हुन सकेको छैन। अर्कोतर्फ ती आन्दोलनलाई या भावनामा बगाइएको छ या त सत्ता र सुविधा र हैसियत बढाउने र पाउने विषय बनेका छन् वा एनजीओ खेती। त्यसैले निराशाका अरू कारण बने।
‘जनयुद्ध’ कालमा राजनीतिक हस्तक्षेपले दलित, महिला, जनजाति र मधेस आन्दोलन सशक्त भएको थियो। राष्ट्रिय राजनीतिमा नेतृत्व पनि विकास भयो तर आन्दोलनको स्वामित्व लिन नसक्दा प्राप्त स्वाभिमान र उपलब्धिको रक्षा गर्न सकेन। युद्धमय तीव्रताले राजनीतिक संस्कृतिको विकास गर्न सकेन। त्यसको असर हरेक पेसागत, जातीय र जनवर्गीय संगठनमा देखिए। परिणामतः पार्टी विघटनमा रुनेसम्म कोही रहेन। अर्कोतर्फ उत्तेजना, आग्रह, कुण्ठा, सिद्धान्तलाई शुद्धताका जामा पहिराउन थालियो र राजनीतिक शब्दकोशबाट गाली रित्तिए। अहिले रूप मात्रै हैन, गुण नै फेरिँदा पनि कसैलाई पछुतो बनेन। भुइँमान्छे र समुदायको स्वाभिमान ह्वात्त बढाएर महŒवाकाक्षा चुलाएकै थियो। सांसद रामप्रीतहरू उच्च जातिबाट पिटाइ खाइरहनुपर्छ। कालीकोट नरहरिनाथ गाविसकी मुना सार्कीहरू धारा छोएकै कारण मारिइरहनुपर्छ। टाढाको स्वर्णिम सपनालाई पर्खने धैर्य उत्पीडित समुदायमा हुँदैन न संविधानका अक्षर हेर्ने फुर्सद।
समग्रमा राजनीतिक पार्टीका आंगिक संघ, संगठन पनि पार्टीकै गिरोहमा सीमित भएकाले जनवर्ग र जातीय आन्दोलनको दिल, दिमाग जित्न र नेतृत्व गर्न सकेनन्। विचारले मात्रै सबै कुरा तय गर्छ भन्दा भावना नसमेटिएकाले अशोक राई, एमएस थापा, रूपलाल विश्वकर्मा, जयकृष्ण गोहित, उपेन्द्र यादवहरूको कम्युनिस्ट पार्टीबाट भोहभंग भएको नजिर बन्दा पनि कुराको चुरोमा नपसी कम्युनिस्ट आन्दोलनलाई सोसल इन्जिनियरिङ गर्न भने उदासीन नै देखिए।
अहिले फेरि एकातर्फ द्वन्द्व उद्यमी कसैगरी फेरि देश भिडन्तमा जाओस् र भड्खालोमा परोस् भनेर आवेग भर्दैछन् भने अर्कोतर्फ यो संवेदनशील भूराजनीतिक क्षेत्रमा मण्डले राष्ट्रवादको दुदुन्भि बजाएर त्यत्तिकै उत्तेजित पार्ने प्रयास पनि गर्दैछन्। आखिर घट्दै गएको राजनीतिक आदर्श र आशाको शून्यता र निराशाको दोषी को ?
नांगो यथार्थ सबैले हेर्नै सक्दैनन्। कस्तै सुन्दरताका अश्लील पारखीले पनि चोकमा ठिंङ उभिएकी नग्न सुन्दरीलाई सीधा ताक्नै सक्दैन। तर हामी हेर्न नसके पनि देख्न विवश छौं। हायराम ! फेर्न गएका आफैं फेरिएका वीभत्स कुरूप नग्नता। तर हामी महा ‘शान्तिवादी’ हौं... पिच्च थुक्न पनि सक्दैनौं। आदर्शवादी र हिजाका परिवर्तनका वाचाबन्धन वा उपलब्धि उनीहरूका लागि अहिले महाबोझ भयो। सरकारी कम्युनिस्ट ओली सरकार बनेको नौ महिना नाघ्यो। चुलोमा के पाक्दैछ भन्ने कुरा आँगनमै पत्ता लाग्छ।
अहिले ‘ग्रेट डिप्रेसन’ बाट देशले निकास खोजेको छ। त्यो समाजशास्त्र वा मनोविज्ञानमा नभई राजनीतिमै खोजिनुपर्छ। तर दुःखको कुरा सरकार बहुमतको दम्भमा छ, प्रतिपक्ष हारकै समीक्षामा, भ्रष्टाचार संस्थागत भएको छ, यो शुभसंकेत हुँदै हैन। समयमै चेत भया !