मेलम्चीको पानी ल्याउन ६० दिने भाका
काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी काठमाडौंमा भित्र्याउने नयाँ समय तोकेको छ। मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर अबको ६० दिनभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याइने बताए।
विकास तथा प्रविधि समितको बैठकमा सांसदले मेलम्चीको पानी कहिले आउँछ भन्ने प्रश्नको जवाफ दिँदै सचिवले भने, ‘६० दिनभित्रमा सुरुङको सम्पूर्ण भौतिक संरचना निर्माण सकिन्छ। भौतिक निर्माणको काम सक्नेवित्तिकै पानी सुरुङ पठाइन्छ। सुन्दरीजलमा पानी आउन तीन दिन लाग्छ।’
सरकारले पटक–पटक मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर मिति तोक्दै आएको छ। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर २०७५ सालको दसैंभित्रमा मेलम्चीको पानी ल्याउने दाबी पनि गरेकी थिइन्। आइतबारको बैंठकमा मन्त्रीको उपस्थिति थिएन। बैठकमा सांसदले संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको खानेपानी सेवाका बारेमा राखिएको छलफलमा मन्त्री बिना मगर उपस्थित नभएकामा आपत्ति जनाएका थिए। मन्त्रीको उपस्थिति नभइ अबको बैठक नराख्न उनीहरूले सभापतिसँग माग राखेका थिए। सचिवले पानी भित्र्याउने नयाँ मिति तोक्दा सांसद रामबहादुर विष्टले मन्त्रीको उपस्थिति बिना समयसीमा तोक्दा यसको जिम्मेवारी कसले लिने भनेर प्रश्न उठाएका थिए।
‘सुरुङ खनेर हावा फाल्दै पानी ल्याउने कार्य नेपाली इन्जिनियरले गरेका थिएनन्। प्राविधिक काम गराइको आधारमा मिति तोकिएको थियो’, ठाकुरले भने, ‘लक्ष्यअनुसारको प्राविधिक कार्य हासिल गर्न नसकेकाले समयमा ल्याउन सकिएन।’ मन्त्रीले बाचा गर्नुभएको समयमा पानी ल्याउन नसकेकोमा मन्त्रालयको तर्फबाट उनले समितिमा क्षमा पनि मागेका थिए। संसद प्रभु साहले पर्याप्त तयारी नगरी राजनीतिक नेतृत्वलाई ब्रिफिङ गरेर जनताका अगाडि लज्जित नबाउन आग्रह गरेका छन्। ‘कर्मचारीको ब्रिफिङका आधारमा राजनीतिज्ञले जनतालाई सम्बोधन गर्ने हो’, शाहले भने, ‘जनतालाई आश्वसन दिए अनुसार काम नभए राजनीतिक नेतृत्वले गाली खाने गर्छन्।’
समितिको सभापति कल्याणी खड्काले यसरी पटक÷पटक म्याद तोक्दा मेलम्ची आयोजनाको रजक जयन्ती बनाउनुपर्ने अवस्था आउनेतर्फ ध्यानकर्षण गराएकी थिइन्। मेलम्चीको सुरुङको अब फिनिसिङ कार्य मात्र बाँकी रहेको ठाकुरको दाबी छ। ‘२१ सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। औसत दुई सय ५० मिटरका दरले काम भइरहेको छ’, ठाकुरले भने, ‘अहिले गतिमा काम भए ६, ७ दिनमा ढलानको काम सकिन्छ।’ सुरुङको फिनिसिङ, भेन्टिलेसन, हाइड्रोमेकानिकल, सुन्दरीजलमा रहेको हेडबक्ससम्म पानी ल्याउन दुई सय मिटरको पाइप जडान गर्नबाँकी रहेको उनको भनाइ छ।
चार महिना पुरानै संरचनामा
मेलम्चीको पानी काठमाडौंमा भित्र्याइएको चार महिनासम्म पुरानै पाइप लाइनबाट पानी वितरण हुने ठाकुरले बताए। ‘नयाँ संरचनाबाट एकैचोटि पानी वितरण गर्दा समस्या आउन सक्छ। पाइपमा पानी परीक्षण भइसकेको छैनन्’, ठाकुरले भने, ‘पानीको चाप परीक्षण गर्न केही समय लाग्छ।’ क्रमिक रूपमा काम गर्दा पाइपले पानीको भार क्षमता थेक्ने उनको भनाइ छ। चार महिनामा एक लाख ८० हजार धारामा पानी वितरण गछौं।
पानी आएको ६ महिनाभित्रमा नयाँ पाइपलाइन पूर्णरूपमा सञ्चालनमा आउने उनले बताए। नयाँ संरचनामा पानी वितरण गर्न काठमाडौंको चक्रपथमा एक हजार किलोमिटर पाइप विस्तार भइसकेको छ। ती पाइप १६ सय मिलिलिटर चौडाइको छ। उनका अनुसार सुरुको तीन महिना महाकाल, मिनभवन, अनामनगर, पानीपोखरी, बाँसवारी र बालजुको ट्यांकीमा पानी राखेर सुरुको तीनदेखि चार महिना पुरानो संरचनाबाट पानी वितरण हुन्छ।मेलम्चीको पानी महँगो
सरकारले खोनपानीकोे महसुल बढाउने तयारी गरेको छ। सचिव ठाकुरका अनुसार मेलम्चीको पानी काठमाडौंमा भिœयाए पनि महसुल तीन सय रुपैयाँ पुर्याउने बताएका हुन्। ग्राहकले एक सय रुपैयाँमा १० हजार लिटर पानी उपयोग गर्दै आएका छन्।
मेलम्चीको पानी आएपछि ग्राहकले दुई सय रुपैयाँ बढी तिनुपर्नेछ। तीन सय रुपैयाँ पानीको मूल्य राख्दा वार्षिक चार अर्ब रुपैयाँ राजस्व उठ्ने उनको भनाइ छ। दोस्रो चरणमा यंग्री र ल्यार्के मिसाउँदा दैनिक काठमाडौंमा ५१ करोड लिटर आउँछ। त्यस पछि १२ अर्ब रुपैयाँ राजस्व उठ्छ। उनले भने, ‘मेलम्चीको पानी नआउँदा जनताले सेवा पाएका छैनन्, राज्यले पनि अर्बैै घाटा व्यहोरिरहेको छ। त्यसैले छिटो ल्याउने प्रयासमा छौं।’
तीन वर्षमा यंग्री र ल्यार्केको पानी
यंग्री र ल्यार्के खोलाको पानी ल्याउनका लागि विस्तुत सम्भाव्यता अध्ययन (डीपीआर) अन्तिम चरणमा पुगेको छ। ठाकुरका अनुसार डिसेम्बर महिनाभित्रमा डीपीआरको काम सकिन्छ। ‘जनवरीमा ठेक्का प्रक्रिया अघि बढाउने छौं, काम सुरु गरेको तीन वर्षभित्रमा सम्पन गर्नेछौं’, ठाकुरले भने, ‘प्राविधिक कार्य भएकाले पाँच, ६ महिना तलमाथि हुन सक्छ।’ यंग्री र ल्यार्केको पानी पनि मेलम्चीको सुरुङमा मिसाएर काठमाडौं ल्याइनेछ।