असोजमा पनि मेलम्चीको पानी काठमाडौँ नआउने

असोजमा पनि मेलम्चीको पानी काठमाडौँ नआउने

सुन्दरीजल, काठमाडौँ : उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । 
इटालीको निर्माण कम्पनी को-ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । 

चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । 

'तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छ', उनले भने, 'तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।'

अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड बक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षात्मा ‘हेड बर्क्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ हुने कार्यकारी निर्देशक कँडेलले बताए । हाल मुहानमा ‘हेड बर्क्स’ को कामको तयारी मात्र भइरहेको छ । 

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङमध्ये हालसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्छ ।

विसं २०६६ साउनबाट शुरु भएको सुरुङ निर्माण २०७४ चैतमा सम्पन्न भएको थियो । चीनको चाइना रेल्बे कम्पनीले ठेक्का छोडी गएपछि डेढ वर्ष नयाँ ठेक्का प्रक्रियाका कारण काम रोकिएको थियो । 

सुरुङ निर्माण सम्पन्न भएसँगै अन्तिम सजावटको काम शुरु भएको थियो । अन्तिम सजावटको काम सकेपछि असोज २६ गते सुरुङबाट मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने सरकारको लक्ष्य फेरि संशोधन हुने भएको छ । 

आयोजनामा हालसम्म रु २५ अर्ब २० करोड खर्च भइसकेको छ । आयोजना सम्पन्न गर्न ३१ अर्ब लाग्नेछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ९० प्रतिशत भएको उनले सुनाए । 

पानी सुन्दरीजल खसेपछि प्रशोधन गर्न अहिलेसम्मकै अत्याधुनिक प्रशोधन केन्द्रको पहिलो भाग निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा निर्माण भएको प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन हुनेछ । यो प्रशोधन केन्द्र डेढ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । 

दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण शुरु भई ४० प्रतिशत काम सम्पन्न भएको छ । पुस मसान्तसम्म पहिलो चरणको दोस्रो भागको पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । 

प्रशोधन केन्द्रको पहिलो भागमा वाग्मतीको पानी हाली परीक्षण सम्पन्न भएको छ । परीक्षणमा राम्रो देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको थोक प्रणालीको सुन्दरीजल–धोबीखोला ११ किमी दूरी परीक्षण गर्दा चार ठाउँमा चुहावट भयो । गोकर्ण, चुच्चेपाटी, चावहिल र गोपीकृष्ण हल अगाडि चुहावट पाइएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिएए । सडक खनेर चारै स्थानका चुहावट टालिएको छ । 

चुहावट टालिएसँगै वाग्मती नदीमा वर्षाद्मा बढी भएको पानी हालेर प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपभोक्तालाई वितरण शुरु गरिएको छ । वाग्मती नदीबाट दैनिक थप तीन करोड लिटर पानी उपभोक्ताका घरमा पठाउने कामको शनिबार सभामुख कृष्णबहादुर महराले शुभारम्भ गरे । 

यसअघि वर्षात्मा दैनिक १३ करोड लिटर र हिउँदमा नौ करोड लिटर पानी उपत्यकाका धारामा वितरण हुने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताउनुभयो । तीन करोड लिटर पानी थप भएसँगै पानी वितरणमा सहज हुने लिमिटेडले जनाएको छ । 

लिमिटेडका दुई लाख ७० हजार धारामध्ये ७० हजार धारामा तीन करोड लिटर पानी वितरण हुनेछ । जोरपाटी, बौद्ध, महाँकाल, कपन, चावहिल, गौरीघाट, नक्साल, कमलपोखरी, ज्ञानेश्वरलगायत क्षेत्रमा हप्तामा पाँच दिन दुई घण्टा पानी वितरण गर्न सकिने जनाइएको छ । 

थोक वितरण प्रणालीको ६८ किमीमै पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । सम्पन्न भएको स्थानमा क्रमशः पानी परीक्षण गरिनेछ । वाग्मतीमा पानी बढी हुञ्जेल परीक्षण गरिसक्ने निर्देशनालयको लक्ष्य छ । 

वाग्मतीको पानी घट्ने समयसम्म परीक्षण नसकिए मेलम्चीको पानी हालेर जाँच गर्ने योजना छ । असोजसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ । 

पानी वितरण गर्न पहिलो चरणमा बोलपत्र आह्वान गरिएको ६७० किलोमिटरको वितरण सञ्जालमध्ये ६५० किलोमिटरमा पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । २० किलोमिटरको काम भदौमै सम्पन्न गरिने जनाइएको छ । पछि बोपत्र आह्वान गरिएको स्वयम्भु, बालाजु क्षेत्रको २३७ किलोमिटरमा पनि वितरण सञ्जाल निर्माण शुरु भएको छ । 

चालु आर्थिक वर्षको अन्त्यसम्म यो क्षेत्रमा पनि सञ्जाल बनाई सकिने जनाइएको छ । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा नौ पोखरी निर्माण समेत सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । रासस 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.