माछा मार्ने क्रममा डुबेर २२ वर्षीय किशोर वेपत्ता
राजविराज : माछा मार्न गएका सप्तरीका एक युवक पानीमा डुबेर वेपत्ता भएका छन्। जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटेलका २२ वर्षीय रामबाबु मुखिया वेपत्ता भएका हुन्। डाक्नेश्वरी नगरपालिका ३ स्थित पातो-हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा जमेको पानीमा डुबेर मुखिया वेपत्ता भएका हुन्।
आफ्ना साथी राजलाल मुखियासँग साइकलमा धान लिएर आइतबार पातो बजारतर्फ बेच्न गइरहेका रामबाबुले पुलमुनी जमेको पानीमा माछा देखेपछि लोभिएका थिए। माछा देखेपछि साइकल रोकी माछा मार्न भित्र प्रवेश गरेका मुखिया केही बेरमै वेपत्ता भएको उनका साथी राजलालले जानकारी दिए। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पातोले राजलालसँग सोधपुछ गरिरहेको छ।
पुलमुनि जमेको पानीभित्र डुबेर वेपत्ता भएको प्रहरीको भनाई छ । साइफन करिब डेढ सय मिटर लम्बाई र दश फिट घुमाउरो प्रकारले गहिरो भएकोले खोजीकार्य कठिन भएको डाकनेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले बताए।
सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सोमबार खोजी गर्ने प्रयास गरेपनि साइफनभित्र प्रवेश गर्न नसकेकाले रामबाबुलाई फेला पार्न सकिएको छैन। दक्ष गोताखोर बाहेक अन्य व्यक्ति गएर खोजी गर्न जोखिमपूर्ण भएकाले काठमाडौंबाट गोताखोर मगाइएको सशस्त्रका एसपी खेम थापाले बताए।
थापाका अनुसार मंगलबार बिहान गोताखोर आइपुग्ने र खोजीकार्य गर्नेछन्।पीडित परिवारका सदस्य तथा स्थानीयवासीले केहीबेर सडक अवरुद्ध गर्नुका साथै नगरपालिका कार्यालय समेत घेराउ गरे।