वाइसिएल कार्यकर्ताको हत्या आरोपमा फरार युवक पक्राउ
राजविराज : राजविराजका २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा फरार रहेका युवक पक्राउ परेका छन्। फरार रहेका राजविराज ११ का २० वर्षीय आनन्दकुमार यादवलाई प्रहरीले शनिबार सुनसरीको लौकहीबाट पक्राउ गरी कारबाहीका लागि सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेश रिमालले बताए।
हतियार प्रहारबाट गम्भीर घाइते भएका वाइसिएल राजविराज नगरपालिका वडा नम्बर १ का सह-संयोजकसमेत रहेका यादवको असोज २४ गते मृत्यु भएको थियो।उनमाथि अघिल्लो दिन हतियार प्रहार भएको थियो।
डीएसपी रिमालका अनुसार जिल्ला अदालतबाट आइतबार म्याद थप गरी यादवविरुद्ध कारबाही अगाडि बढाइने छ। जिल्ला अदालत सप्तरीले आरोपितसहित १३ जनालाई हत्या आरोपमा मङसिर ४ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।
हत्या आरोपमा असोज ३१ गते पक्राउ परेका राजविराज १२ का २५ वर्षीय मिथिलेशकुमार यादव हाल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने असोज २८ गते पक्राउ परेका १७ वर्ष १० महिना २१ दिनका एक बालकलाई आमाको संरक्षकत्वमा जिम्मा लगाई तारेखमा रिहा गरिएको छ।
आरोपितले गत असोज २३ गते घेरा हाली धारिलो हतियारले गरेको आक्रमणबाट असोज २४ गते राति मृत्यु भएको भन्दै मृतकका बुवा भन्नालाल यादवले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते कर्तव्य ज्यानको उजुरी दर्ता गराएका थिए।