फेरिएन मकवानपुरगढीको मुहार
हेटौंडा : मकवानपुरगढी संरक्षणमा आधा दर्जनभन्दा बढी निकायको आँखा परे पनि यसको मुहार फेरिन सकेको छैन । देशभरका करिब दुई सय गढीमध्ये प्रमुख साढे दुई सय वर्ष अघिको इतिहास बोकेको यस गढीको विकासमा सरोकारवाला एकजुट भएर काम गर्न नसक्दा जीर्ण बनिरहेको हो । दशकदेखि यसको पुनर्निर्माण र संरक्षणको पहल भए पनि कुनै परिणाम नदेखिएको हो ।
सरकारले देशको घुम्नै पर्ने एक सय स्थानभित्र राखेपछि भने सरोकारवाला निकाय एकसाथ मिलेर काम गर्न सहमत भएका छन् । संघीय, प्रदेश, स्थानीय सरकार र नेपाली सेनाले मकवानपुरगढीको दरबार, विजय तथा एकीकरण पार्क, सानोगढी र ढुंगेगढीलाई जीर्णाेद्धार गरी प्रमुख पर्यटकीय विजय स्मारकको रूपमा विकास गर्न लागिपरेको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले बताए । नेपालको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा एक दशक यता माघ १० गते विजय उत्सव मनाउने गरिन्छ ।
१८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई नेपाली (गोर्खाली) सेनाले पराजित गरेको इतिहास छ । ‘गढी दरबार कब्जामा आएपछि पृथ्वीनारायण शाहले कब्जा गरेका पुनारा हतिया र तोप २०३६ सालमा सुरक्षाका कारण सेनाले राखेको छ’, इतिहास खोजकर्ता केदार न्यौपानेले भने, ‘गढी दरबार पुनर्निर्माण गरी संग्रहालय बनाएर पुराना उक्त हतियार र तोपहरू राख्न सके पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने थियो ।’ संग्रहालय निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन सके आवश्यक प्रक्रिया पूरा गरेर गढीका पुराना हतियार र तोपहरू संग्रहालयमा राख्न सकिने मकवानपुरको चनमन ब्यारेकका सहायक रथी सहदेव खड्काले बताए ।
‘सेनासँग पनि जोडिएको विषय भएकाले यसको पुनर्निर्माण र संग्रहालय निर्माण हुन सके यहाँका पुराना हतियार राख्न प्रक्रिया पु¥याएर उसैलाई दिन सकिन्छ’, उनले भने । हाल मकवानपुरगढी गाउँपालिका २ को बाघभैरव सामुदायिक वनमा पर्ने यो स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय भरत तामाङले बताए । यहाँ सिक्रीले बाँधेर राखिएको कृष्ण भगवान्को मूर्तिसमेत छ । मकवानपुरगढी १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको अध्ययनबाट देखिन्छ । तर गढी किल्ला भने कुन समयमा निर्माण भएको हो, यकिन नभएको इतिहास खोजकर्ता न्यौपानेले बताए । करिब एक सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी सेन वंशीय राजाहरूको विरासत हो ।
अझै पनि पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रूपमा रहेकाले यसको संरक्षण र पुनर्निर्माणका लागि सरोकारवाला निकायबाट भइरहेको पहलमा पुरातत्व विभागले सहयोग गरिरहेको विभागका इतिहासविद् रामबहादुर कुँवरले बताए । समुद्री सतहबाट एक हजार १९ मिटर उचाईको मकवानपुरगढीमा रहेका युद्धमा प्रयोग भएका पुरातात्विक सामग्री धेरै संख्यामा हराइसकेका छन् । गढी पुनर्निर्माणका लागि छुट्याएको रकमबाट समयमै काम हुन नसकेको भन्दै सम्बन्धित निकायबाट अनुगमन हुनुपर्ने यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताए ।
हेटौंडाको बुद्ध चोकबाट १७ किलोमिटर दूरीमा रहेको मकवानपुरगढीको संरक्षण र स्मारक निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय सरकारले ८० लाख, प्रदेश सरकारले ५० लाख र मकवानपुरगढी गाउँपालिकाले १५ लाख गरी एक करोड ४५ लाख बजेट विनियोजन गरेको छ । ‘हामीसँग पैसाको कमी छैन, योजना बनाएर जिम्मेवार ढंगबाट काम गर्न स्थानीय तह र यहाँका बासिन्दाको तत्पपरता चाहिन्छ’, प्रदेश ३ सरकारको प्रर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीले भने ।