चाैंरी र याकबाट भरथेग
तोक्पेगोला : तोक्पेगोला, तीनपोखरी, लोदेन, सिङसोङदेन, साधुटारजस्ता लेकाली फाँट याक र चौंरीका गोठले भरिएका छन्। तराईका समथर भूभागजस्ता देखिने खर्क ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छन्। स्थानीय १५–२० जना किसान याकगोठ सम्हाल्दै हिमाली क्षेत्रमा छन्। उनीहरू याक र तिनका बाच्छाबाच्छी स्याहार्न व्यस्त छन्।
तीनजुरे, मिल्के, जलजले (टीएमजे)बाट पापुङको लोदेन खर्कसम्म चौंरी र याकका गोठ रहेको तोक्पेगोलाका मिलन दोर्जी शेर्पाले बताए। शेर्पा र तोक्पेगोला (स्थानीय भाषामा ढोक्प्या) समुदाय याकपालनमा संलग्न छन्। ‘पशुपालन हाम्रो परम्परागत पेसा हो तर हामी युवाले यसलाई व्यवसायका रूपमा अघि बढाउँदै छौं’, तीनपोखरी गोठमा भेटिएका दोर्जीले भने, ‘टीएमजेबाट यहाँसम्म १ हजार याक पालिएका छन्।’ चौंरी भने ७ सयजति रहेको उनले सुनाए।
चौंरी र याकका लागि उनका दुई गोठ छन्। जसमा १ सय ५० याक र सोही संख्यामा चौंरी रहेको उनले बताए। उनले तीन सहयोगी राखेका छन्। उनीहरू याक हेरचाह, चरनदेखि छुर्पी, घिउ उत्पादनमा व्यस्त हुन्छन्। ४५ वटा याक दुहुना रहेको दोर्जीका सहयोगी छिरिङ शेर्पाले बताए।
याक र चौंरी उस्तै–उस्तै देखिन्छन्। तर, चौंरीभन्दा याक केही ठूलो हुन्छ। याक र औलको गाई ‘क्रस’ गरेपछि जन्मिएको बाच्छालाई चौंरी भनिन्छ। लेकाली क्षेत्रमा पशुपालन व्यवसाय फस्टाउँदै छ। ‘बीचमा जनशक्ति र बजारका कारण व्यवसाय घटेको थियो’, छिरिङले भने, ‘पशुपालनमा युवाहरू आकर्षित भएको र तिब्बत लैजान सजिलो भएपछि व्यवसाय बढेको हो।’ यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ। तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ।
‘रिउमा घिउ र छुर्पीभन्दा याकका बाच्छाको माग बढेको छ’, १५ वर्षदेखि गोठ बसेका छिरिङले भने, ‘बाच्छा लिएर रिउ जान्छौं, बेच्छौं अनि चामलबाहेकका खाद्यान्न र लत्ताकपडा चौंरीलाई बोकाएर फर्किन्छौं।’ दुई वर्षसम्मका बाच्छा ७० हजारदेखि १ लाखसम्ममा बिक्री हुने उनले सुनाए। तिब्बतीले नेपाली याकका बाच्छा पाल्नका लागि किन्छन्। उताबाट माग आएपछि मात्रै यताबाट लैजाने गरिएको उनले बताए। याक र चौंरीबाटै वार्षिक ७ देखि १० लाखसम्म आम्दानी हुने गरेको अर्का किसान फुजुङ शेर्पाको भनाइ छ। ‘बच्चा पढाउन र घरखर्च धानेर बचत गर्न पुगेको छ’, उनले भने।
स्थानीय किसान पहिलाजस्तो घिउ र छुर्पी बनाउँदैनन्। लागत बढी लाग्ने र फाइदा कम हुने हुँदा छुर्पी बनाउन छाडेको दोर्जीले सुनाए। उनले याकका लागि तिब्बतबाट उन्नत जानको बीउ गोरु खरिद गरेर ल्याएका छन्। एउटा याकले १२ बेतसम्म सन्तान जन्माउने किसान पेम्बाछिरिङ शेर्पाको भनाइ छ।
तिब्बतमा घिउ र छुर्पीभन्दा याकका बाच्छाको माग बढेको छ। दुई वर्षसम्मका बाच्छा ७० हजारदेखि १ लाखसम्ममा बिक्री हुन्छ।
पशुपालनमा किसानले समस्या पनि भोगेका छन्। बेला–बेला याकलाई ज्वरो आउने, पखालाजस्ता बिराम लाग्ने गरेको छ। यस्तो बेला घरेलु उपचारबाहेक अर्को विकल्प छैन। ‘हामीले जानेको घरेलु उपचार गर्छौं’, पेम्बाछिरिङले भने, ‘कहिले निको हुन्छन्, कहिले मर्छन्। कुनै एउटाको मृत्यु भयो भने त्यहीं गाडेर गोठ सार्छौं।’ पशु चिकित्सक र पशु कार्यालयका कर्मचारी कोही आइनपुगेको उनको भनाइ छ। ‘सरकारले सहयोग गरेको छैन’, फुजुङले भने्, ‘मान्छे बिरामी हुँदा त बचाउन सकिँदैन, पशुको त के कुरा गर्नु।’ गोठको सुधार, चरन र खर्क विस्तारसँगै याकबाट लिन सकिने अन्य आम्दानीका स्रोतबारे तालिम पाए सहयोग पुग्ने किसानको अपेक्षा छ।
याक संरक्षण र नश्ल सुधारका लागि सरकारले केही वर्षअघि दुई हिमाली जिल्लामा याक फार्म स्थापना गरेको थियो। डोल्पाको याक फार्म बन्द भइसकेको छ। सोलुखुम्बुको स्याङबोचेमा मात्र याक संरक्षण तथा संवद्र्धन कार्यक्रम सञ्चालित छ। यहाँ पनि यस्तो कार्यक्रम सञ्चालनको योजना रहेको पापुङका वडाध्यक्ष डण्डु लामाको भनाइ छ।
‘पापुङ पशुपालनको धेरै सम्भावना भएको ठाउँ हो। यहाँ दुई दर्जनभन्दा बढी समथर खर्क र चउर छन्। त्यहाँ पालिरहेका किसानलाई सहयोग गरे अन्यलाई पनि हौसला हुन्छ’, उनले भने, ‘यसबाट किसानलाई त फाइदा हुन्छ नै, स्थानीय सरकारले पनि फाइदा लिन सक्छ।’ आगामी वर्ष उन्नत जातको याक बीउका लागि बजेट विनियोजन गर्ने उनले बताए। यसका साथै सीमान्तकृत तोक्पेगोला जातिको बस्ती र उनीहरूको रहनसहनका साथै गोठलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए।