नक्कली लालसलामको रजगज
‘तुम से पहले वो जो इक सख्स यहाँ तख्त–नशीं था
उस को भी अपने खुदा होने पे इतना ही यकीं था
कोई ठहरा हो जो लोगों के मुकाबिल तो बताओ
वो कहाँ है कि जिन्हें नाज बहुत अपने तईं था’
(तिमीभन्दा पहिला यहाँ आसनमा जो विराज थियो
उसलाई पनि भगवान् हुँ भन्ने उत्ति नै विश्वास थियो
जनताको सामुन्ने टिकेको कोही छ भने बताऊ
कहाँ छन् खै तिनीहरू जसलाई आफैंसँग अभिमान थियो।)
–हबिब जालिब, पाकिस्तानी सायर
शासकहरू इतिहास पढ्दैनन्। दम्भी शासकले त आफूलभन्दा पहिलाको शासक पनि सिंहासनबाट उत्रिनुपरेको थियो भन्ने हेक्कै राख्दैनन्। कांग्रेसको महासमिति बैठक र नेकपाको स्थायी समिति दुवै बैठकले यही प्रवृत्ति प्रदर्शन गरिरहेका छन्।
दुईतिहाइको ‘वाम’ सरकारको चालचलन र चरित्रले १८ देखि २० शताब्दीको पुजीवादी विश्व वा झापा, हर्रेबर्रे विद्रोह वा जनयुद्धकाल झैं कम्युनिस्ट भूतबाट पँजीवादी, धर्मान्ध वा सामन्तवादी अब आतंकित हुनुपर्दैन भन्ने ‘शुभ’ सन्देश दिँदैछ। बुर्जुवाहरू पनि ‘कमरेडहरूलाई’ देखेर लजाइसके। ‘लालसत्ता’ सबै शक्ति र सोचलाई पार्टी र सरकारी पाहुना बनाएर लाल कार्पेट बिछ्याउँदै स्वागत र सम्मान गर्न आतुर छ। हिमाली क्षेत्रका भव्य गुम्बा, बढ्दो चर्च संख्या, सीमा क्षेत्रका फैलिँदा मदरसा र मस्जिदहरू, उग्र प्रदर्शनिका धर्मान्ध भीड, भीडले डोरिने समाज आस्था मात्रै होइनन्। धार्मिक आवरणमा संवेदनशील भूगोलका चलखेल, आमूल परिवर्तनका पक्ष र विपक्षका अभ्यास नियाल्दा नौरंगी आईएनजीओ र शक्तिलाई सत्ताले रेड कार्पेट नै बिछ्याएको पुष्टि भयो।
राज्य अभिभावक भएकाले अपेक्षा सरकारसँगै हुन्छ। तर उसको दम्भ र व्यवस्थापकीय कमजोरीका कारणले निराशा झागिँदै छ। सरकार नक्कली शत्रु तयार गर्दै अँध्यारोमा तीर हान्दैछ। आमजनताको तन भाँचिएको त सबैले देख्छन्। मन भाँचिएको भने मदमस्त शक्तिले देख्नै सक्दैन। उल्टो सरल र सहज भएर आशा र अपेक्षा पूरा गर्नुको साटो आलोचना, सुझावलाई दुस्मन सोचेर मिडिया र बुद्धिजीवीलाई लल्कार्छ। उपलब्धिको ताली र लाली पाउनेले गाली र आलोचनाबाट शिक्षा लिने इच्छाशक्ति पनि हुनुपर्छ। भनिन्छ– सफलताको पहिलो सूत्र हो– निन्दक निहरे रखियो।
सरकारले समृद्धि र समाजवादी यात्रा भने पनि मन्तव्य र गन्तव्य मिलाउन नसक्दा दुईतिहाइ आफैंलाई बोझ बन्न पुगेको छ। दम्भका धरहरा धेरै ठाउँमा ढलेका छन्। दशक पहिलाको जनयुद्ध र जनआन्दोलनका कारण नेपाली राज्य सत्ताको चरित्र नै फेरियो। त्यसको राप र ताप रहिन्जेल संघर्षशील जनता संवेदनशील र आशावान रहे। कहिलेकाहीं उद्देश्य सही हुँदा पनि अन्दोलनको दिशाहीनताले दुर्घटना व्यहोर्दो रहेछ। नियति नाप्ने तराजु परिणाम हो। परिस्थितिमा आउने फेरबदलसँगै क्याप्टेनले दिशा परिवर्तन गरेर मात्रै जहाजलाई भुमरी छिचोलेर लक्ष्यमा पुर्याउँछ। भुमरीकै कारण उसको लक्ष्यमा भने कुनै अन्तर आउँदैन।
आमूल परिवर्तन राजनीतिक संस्कृतिको रूपमा संस्थागत भने हुन सकेन। नेतृत्वमा सांस्कृतिक सामन्तवाद हावी भएपछि कठिन र आदर्शमय संघर्षका समय सबै अल्जाइमरको सिकार बन्न पुगे। लोकस्मृति क्रमशः कमजोर हुनु भनेको इतिहासबाट नसिक्नु हो। बुद्धिमानहरू कारणसँग जुध्छन्, मूर्खहरू परिणामसँग ! कम्युनिस्टले देख्ने सपना र नैतिक शक्तिले नै आन्दोलन वा विद्रोही क्याडर जन्माउँथ्यो।
ज्यादा सुविधा र जीवनको प्राकृतिक आनन्दको लोभमा नग्न उपभोक्तावादले गाँजेपछि पुनर्वाचित आदर्श पनि ठट्टा बन्दा रहेछन्। मूल्य र आदर्शलाई परिस्कृत नगरेपछि नेतृत्वले नयाँ सपना देखाउन सक्दो रहेनछ। योजनालाई आन्दोलन बनाउन सक्दो रहेनछ। जनतामै पनि निरन्तर परिस्कार चाहिन्थ्यो। नेता नै प्रतीक बन्न सकेनन्। परिवारवाद र द्रव्यमोहले हिजोका आदर्शलाई सहजै चपाइदियो। यो बुझेरै जनताको प्रश्नको उत्तर दिनुभन्दा नेतृत्वले चुट्किला वा आक्रोशले ध्यान अन्यन्त्र मोड्न चाहन्छ वा सुरक्षा कबचमा नक्कली शत्रु खडा गरेर भय सिर्जना गर्दै कार्यकर्ता र जनताको समर्थन खोज्छ।
‘राष्ट्रवाद’ र देशभक्ति एकै होइनन्। जब भिन्न बहसले जनमथिंगल हल्लिन थाल्छ तब सत्ताधारीहरू छट्पटाउँदै धर्म वा ‘राष्ट्रवाद’ को सहारा लिन्छन्।
आउँदै गरेको तुफानको भीमकाय शक्तिलाई बुझ्न नसक्ने हो भने सामाजिक नाडी छाम्ने हैसियत गुमाएर राजनीतिक अपिल गर्ने साहस राख्दैन् भन्ने हुन्छ। यो अवस्था भनेको भगवान् बन्न हिँडेको मान्छे असल र सरल मान्छे पनि बन्न नसक्दाको परिणाम हो।
आतंकबीच सरकार
नेकपाको स्थायी समितिमा पेस गरिएको दस्ताबेज आफैंमा ठट्टा बनेको आलोचनात्मक चेतका सहभागीहरूकै ठहर छ। समस्यालाई अन्यन्त्र घर्काउने वा आँकडामा रमाएर यथार्थको सामना नगर्ने दस्ताबेज नै बन्यो यो पत्र। मान्छेलाई भनाइले नै उसका हैसियत र अवस्थाको मूल्यांकन गर्छ। प्रधानमन्त्री केपी ओली अहिले दबाब, हतास, तनाव र आक्रोशमा देखिन्छन्। समस्या आफूल, सरकार र संगठनमा छ कि अन्यन्त्र ! नियाल्नुभन्दा मिडिया, बुद्धिजीवी र आलोचकमाथि खनिँदै नक्कली शत्रु खोज्दैछन्। सामान्यजनले ठट्टा गरे मज्जा आँउछ, कार्यकारी राजनीतिज्ञले ठट्टा गरे देशले अनन्तकालसम्म दुखः पाउँछ।
देश कमजोर, दलाल सक्रिय
प्रधानमन्त्री अहिले पार्टी, सहयोद्धा र संस्थालाई विश्वास गर्ने अवस्थामा नभएर शक्तिको केन्द्रीकरण गर्दैछन्। दुईजना अध्यक्ष मात्रै पार्टी बन्ने अभ्यासलाई सचिवालय बैठकमा चार भाइको विद्रोहले बैठक थलो बालुवाटारबाट सर्यो। तर प्रधानमन्त्रीको हैसियत प्रयोग गरेर प्रमुख सल्लाहकार सत्ता सञ्चालन गर्न भने छोडेका छैनन्। सचिवहरू मन्त्री र मन्त्रालयप्रति उत्तरदायित्व हुने वा बालुवाटारप्रति भन्नेमा अल्मलिएका छन्। मन्त्रिपरिषद्को हैसियत कमजोर हुँदैछ।
सत्ताको केन्द्रीकरणले दिने सन्देश अप्रिय नै हुन्छ। ठूला ठेक्कापट्टा टेन्डर प्रक्रियाबाट नभई तोकआदेशमा दिइने नीतिगत भ्रष्टता सुरु भएको छ। सत्तामा अहिले एउटा गैरजिम्मेवार शक्ति (दलाल वर्ग) हावी भएको छ, जसको जवाफदेहिता संविधानप्रति भन्दा ख्वामितप्रति हुन्छ। संस्थाको क्षयीकरणले देशलाई नै दीर्घकालीन असर पार्छ।
गिरोहको राजनीति
झुकेको रूख फुकेको छातीले मात्र सबैलाई समेट्न सक्छ। दम्भका आधारमा गरेको निर्णयले औचित्य स्थापित गर्न सक्दैन। प्रधानमन्त्री चुटकिला कस्दै अरूलाई हेप्छन् र विषय चुलिएपछि मात्र जाग्छन्। सहयोद्धालाई हेप्नुको पराकाष्ठाका रूपमा सचिवालय बैठक नै बहिस्कार गरिनेसम्मको स्थिति आयो।
‘इतिहासको ब्याज’
प्रधानमन्त्रीको चुटकिलाले न निराशा हटाँउछ न देशको समस्या हल हुनेवाला छ। निराश जनमतमा आशा सञ्चार गर्दैन। इतिहास त गौरवमय थियो, त्यसको मूल्य भुक्तान पनि भएको थियो। इतिहासको गौरव पछ्याउन नसके पनि अहिले त्यसको ब्याज खान मिल्दैन।
‘राष्ट्रवाद’ को छहारीमा प्रधानमन्त्रीको जेजस्तो उचाइ थपिएको थियो अब त त्यो पनि स्पष्ट भइसक्यो। ‘राष्ट्रवाद’ र देशभक्ति एकै होइनन्। जब भिन्न बहसले जनमथिंगल हल्लिन थाल्छ तब सत्ताधारीहरू छट्पटाउँदै धर्म वा ‘राष्ट्रवाद’ को सहारा लिन्छन्। अठारौं शताब्दीका अंगे्रज साहित्यकार स्यामुअल जानसनले ठिकै भनेका थिए, ‘राष्ट्रवाद मूर्खहरूको अन्तिम शरणस्थल हो।’ अर्कोतर्फ धर्म एक मध्यवर्गीय आवश्यकता बनिदिन्छ, जसले तर्क गर्न दिँदैन। त्यसले मालिकलाई विश्वास गर्न मात्रै सिकाउँछ। पिँधमा रहेकाले चुनौती दिन नसकून् भनेर ध्यान अन्यन्त्र मोड्न र झीनामसिना कुरामै अल्झाइदिन यस्तो अभ्यास गरिन्छ।
पार्टी, एकता र र्कायकर्ता
सरकारको रूप र चरित्रको छनक कतैबाट पनि वामपन्थी भएको छनक पाइँदैन। दुई सागर भेटिएर पनि मिलान हुन नसकेजस्तै नेकपाको एकता प्रक्रिया अझै रनभुल्लमा छ। नाम र काममा एकता छ, मनोभावमा छैन। दिशाहीन एकता यात्रामा लालसलाम पनि देखावा बनेको छ। यो महापतन हो।
बैठकमै पूरक वा भिन्न दस्ताबेज आउनु भनेको मूल नेतृत्व अस्वीकार गर्नु हो भने फुटको आधार तयार हुनु पनि हो। सिद्धान्त वा आदर्शको बहसमा मात्रै त्यस्तो हुन्छ। त्यसैले यो विवादलाई सत्ता स्वार्थ र हिस्सेदारीको झीनाझप्टी मान्न भने सकिन्छ।
दबाबमा माओवादी
मनोयुद्धको धराप छिचल्न नसकेको माओवादी अहिले एकतापछि अझ दबाबमा छ। आफ्नै गरिमा धान्न नसकेको र राजनीतिक आचरणमा समेत बुबुरो देखिएर मनको बहसमेत पोख्न नसक्ने अवस्थामा देखिन्छ। पार्टीभित्र पूर्वएमालेले उठाएको विधि, प्रक्रिया र अन्य जीवन्त छलफलमा समेत भाग लिन नसक्ने अवस्थामा पुगेको छ। राजनीतिक स्पेस खोज्ने अवस्थामा पुगेको माओवादीलाई जनयुद्ध, सहिद, बेपत्ता, गौरव आदि शब्द काउसो बन्दैछ। जनयुद्धको स्पष्ट स्वामित्व लिने हैसियत राख्दैन। तर बिर्सन चाहे पनि इतिहासले भने बिर्सन दिँदैन।
सामाजिक, राजनीतिक र आर्थिक आन्दोलनको प्रवक्ता बन्ने नैतिक बल सकिएपछि राजनीतिक दल सत्ताको भर्याङ र शक्तिको जोगाड थलो मात्र बन्न पुग्छ। आदर्श सकिन्छन्, सपना रित्तिन्छन्, दायित्व कथा बन्छ र आफ्नै इतिहास मुर्दाका कथा वा चिहानघारीका यात्रा बन्न पुग्छन्। देखावटी लालसलाममा पुगेका सरकारी कम्युनिस्टलाई कति वर्ष जेल बसें र कति वर्ष जनयुद्धका लडें भनेर आदर्शको हकवाला बन्ने नैतिक अधिकार गुमिसकेको छ। यो समय देखावटी लालसलामको हो जो होलीजुस पिउँदै हिजोका ‘पाप’ कटाउन अभ्यस्त छ।