तपस्वी भनेर चर्चा कमाएका बम्जनविरुद्ध किटानी जाहेरी

तपस्वी भनेर चर्चा कमाएका बम्जनविरुद्ध किटानी जाहेरी

बारा : तपस्वी भनेर चर्चा कमाएका रामबहादुर बम्जनले हत्या र हिंसाले मानवको जगत्को कल्याण नहुने भन्दै हलखोरियाको जंगलमा पटकपटक धार्मिक प्रवचन दिए । करिब १० वर्षअघि तपस्यास्थल भनिएको हलखोरिया जंगलमा उनको प्रवचनलाई धेरैले सुने । उनको प्रवचनले हिंसाविरुद्ध लाग्न मानिसलाई उत्प्रेरित पनि गर्यो‍ ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा चढाइने पशुबलि आफैं उपस्थित भएर रोक्ने उनको उद्घोषले निकै चर्चा पायो । तर बली रोक्छु भन्दै जंगलबाट निस्किएका बम्जन तीन महिनासम्म बेपत्ता भएर युवतीसँग भेटिएपछि उनीमाथिको आस्था कम हुँदै गयो । त्यति मात्र नभई हिंसाविरुद्ध प्रवचन दिने बम्जन एक दशकयता पटकपटक यस्तै विवादमा तानिएपछि उनले तपस्यास्थल नै छाड्नुपर्यो‍ ।

हिंसाविरुद्ध प्रवचन दिने बम्जनमाथि अहिलेसम्म बलात्कार, बन्धक, कुटपिट, बेपत्ता, तरबार प्रहार, किर्तेलगायत थुप्रै आरोप लागिसकेको छ । तपस्या भंग गर्न खोजेको भन्दै एक दशकअघि रतनपुरको एक स्थानीय युवालाई तरवार प्रहार गरेपछि विवादमा मुछिएका बम्जनलाई अहिले बाराका एक व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका हस्तबहादुर आलेले जिल्ला प्रहरी कार्यालयमा पुगेर बिहीबार ३४ वर्षीय छोरा सुरेशलाई तीन वर्षदेखि बेपत्ता बनाएको भन्दै बम्जनविरुद्ध किटानी जाहेरी दिएका छन् । 

आलेले दिएको उजुरीमा बम्जनको अनुयायी भएर बसेका छोरा आश्रमस्थलबाटै बेपत्ता बनाइएकाले खोजी र सकुशल उद्धार गर्न आग्रह गरिएको छ ।

छोरा बम्जनको आश्रममा छ भनेर हामी ढुक्क भयौं । तर अहिले अत्तोपत्तो छैन ।

छोराको खोजीका लागि पटकपटक आश्रम र बम्जनसँग जोडिएका व्यक्ति भेटेर सोधपुछ गर्दा कसैले नबताएपछि उजुरी दिएको उनले बताए । ‘बर्सौंसम्म छोरा घर नआएपछि खोजी ग¥यौं, कोहीले छाडिसक्यो भन्छन्, कोहीले बाहिर गएको छ भन्छन्’, आलेले भने, ‘बम्जनको आश्रममा छ भनेर हामी ढुक्क भयांै । तर अहिलेसम्म अत्तोपत्तो नभएपछि डर लाग्न थालेको छ ।’

सुरेश २०७२ जेठपछि घर आएका छैनन् । भूकम्पपछि घर आएका सुरेशलाई बम्जनको नजिक रहेर काम गर्ने जसबहादुर वाइबाले बोलाएर लगेका थिए । त्यसयता घर नआएका सुरेशबारे वाइबासँग बुझ्दा थाइल्यान्डमा रहेको र धर्ममा लागिरहेको जवाफ आउने गरेको आलेले बताए ।

हलखोरिया आश्रममा बस्ने क्रममा सुरेश समय निकालेर घर आउने गरेका थिए । बम्जनसँगै हिँड्ने उनी सर्लाही र सिन्धुपाल्चोकसम्म पनि पुगे । रातो वस्त्रमा हिँड्ने सुरेश धेरै जसो बम्जनसँगै हुन्थे । बम्जनसँगै छोरालाई देख्न पाएपछि खुसी हुने उनका आमाबुबा यति बेला निराश छन् । धर्ममा लाग्छु भन्दै हिँडेको एक्लो छोरा घर नफर्किएपछि आफूहरूलाई सहारा दिने कोही नभएको आले बताउँछन् ।

बम्जनले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन उजुरी आएको र त्यस विषयमा आफूहरूले सम्बन्धित ठाउँमा परिपत्र गरिसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक चन्द्रेश्वर साहले बताए ।

बम्जनमाथि यसअघि नुुवाकोटकी कर्मा तामाङ, हेटौंडाकी फूलमाया रुम्बा, हेटौंडाका सञ्चलाल वाइबा र सर्लाहीकी रिता भनिने युवतीलाई बेपत्ता बनाएको आरोप छ । बम्जनमाथि गंगामाया तामाङ नाम गरेकी युवतीले बलात्कारको आरोप लगाएको खबर सञ्चारमाध्यममा आइसकेको छ । तपस्या गर्ने भन्दै देशका विभिन्न स्थानमा पुग्ने गरेका बम्जनले बारामा रहँदा पनि थुप्रै पटक विवादमा तानिए ।

बम्जनले स्लोभाकियाकी मारिची नामकी महिलालाई ६ वर्षअघि तीन महिनासम्म बन्धक बनाएर राखे । उनी बन्धक भएको समाचार बाहिर आएपछि बन्धकका सहयोगीले उनलाई जंगलबाट सिमरामा ल्याएर छाडेका थिए । विदेशी महिलासँगै बन्धक भएकी अर्की एक आनी भनिने महिलालाई प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । महिलालाई उद्धार गरे पनि बन्धक बनाएको आरोपमा उनीमाथि कारबाही भएन।

विश्व शान्ति र मानव जगत्को कल्याणका लागि आफूले तपस्या गरेको भन्ने बम्जनले हलखोरिया जंगलमा २०६७ साउनमा च्याउ टिप्न गएका जितपुरसिमरा उपमहानगरपालिका–१८ का १७ जना सर्वसाधारणलाई रातभर नियन्त्रणमा राखेर कोर्रा प्रहार गरेका थिए । त्यसै बेला उनलाई कारबाही गर्न पीडित पक्षले प्रशासन गुहा¥यो । तर तपस्यारत भनिएका बम्जनलाई प्रशासनले कारबाही गर्न सकेन ।

मनहर्वाका सर्वसाधारण कुटेको केही समयपछि उनले तपस्यास्थलभित्र छिरेको निहुमै रतनपुरका कछाडिया टोलका गोठाला समूहलाई पनि कुटपिट गरेका थिए । उक्त कुटपिट घटना भने पछि मात्र सार्वजनिक भएको थियो । यस घटनाप्रति पनि प्रहरीप्रशासन अनभिज्ञ बन्न पुग्यो ।

बम्जन पटकपटक विवादमा तानिएपछि स्थानीय प्रशासनले उनीमाथी निगरानी बढाउन थाल्यो । राष्ट्रिय वन क्षेत्र तारघेरा गरी जंगलमा निर्मित भवन स्थानीय प्रशासन र वन कार्यालयले भत्काएपछि बम्जन अन्यत्र जान थालेका थिए । बम्जनले तारघेरा गरेको हलखोरिया क्षेत्र अहिले पर्सा राष्ट्रिय निकुञ्जमा पर्छ । नेपाली सेनाले खटिएको उक्त क्षेत्रमा बम्जनका अनुयायीसमेत बस्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.