आफन्तबाटै बलात्कृत

आफन्तबाटै बलात्कृत

राजविराज : गत मंगलबार गहुँखेत नजिकै खेलिरहेकी ६ वर्षीया बलात्कृत भइन्। रक्सीले मातेका सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका-१ जण्डौलका २० बर्से सुन्दरकुमार सदाले मंगलबार साँझ बलात्कार गरेका थिए। बालिकाको रक्त श्राव नरोकिएपछि उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ। इलाका प्रहरी कार्यालय महुलीले आरोपितलाई पक्राउ गरी कार्बाही थालेको छ।

त्यसअघि किराना पसलमा समान किन्न गएकी सुस्त मनस्थितिकी १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन्। बिस्कुट खान दिई पसलसँगै रहेको घरभित्र लगी बलात्कार गर्ने खड्ग नगरपालिका ९ लालपट्टीका ३५ बर्से दिलीपकुमार दास मंसिर ३ गतेदेखि राजविराज कारागारमा थुनामा छन्।

सप्तरीमा पछिल्लो समय बलात्कारजन्य घटना बढ्दै गएका छन्। खड्ग नगरपालिका ९ की ११ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको माघ २५ गते बलात्कारपछि हत्या भयो। मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अरूले थाहा नपाऊन् भनी पीडितकै कुर्ताको तुनाले घाँटी कसेर हत्या भएको थियो। हत्या आरोपमा दाजु (ठूलोबुवाको छोरा) १८ बर्से राजदेव मण्डल फागुन २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा छन्।

प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने भएकाले बलात्कारीले बालिकाहरूलाई निसाना बनाउने गरेका सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्ट बताउँछन्।

सप्तरीमा यो वर्ष बोली नफुटेकी बालिकादेखि ७० वर्षीया वृद्धासमेत बलात्कृत भए। माघ २० गते तीन वर्षीया बालिका र फागुन ३ गते दुई वर्षीया बालिका बलात्कृत भइन्। खेल्ने बहानामा घर लगी बलात्कार गरेको आरोपमा १३ बर्से बालकलाई जेठ २२ गते र १२ बर्से बालकलाई असोज २ गते जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले तीन महिनाको कैद सजाय गरी स्थगनको फैसला गर्‍यो। इन्सेकको तथ्यांकले भन्छ -२०१८ को जनवरीदेखि हालसम्म ३६ बालिका बलात्कार र १४ बालिका यौन दुव्र्यवहारको घटनाबाट पीडित भए।

 बलात्कार घटनामा ११ वर्षमुनिका १२ बालिका र यौन दुव्र्यवहारबाट १२ वर्षमुनिका सात बालिका थिए। यस्ता घटना घरपरिवार र छिमेकीबाटै धेरैजसो हुने गरेको इन्सेकको तथ्यांकमा छ। चाउचाउ किनिदिने लोभ देखाई आठ वर्षीया बालिकालाई जेठ ३१ गते राति खड्ग नगरपालिका ७ का ३७ बर्से भिखन रामले बलात्कार गरे। चकलेटको प्रलोभन देखाई १० वर्षीया बालिकालाई असार १ गते साँझ राजविराज नगरपालिका २ का ३२ बर्से मोहम्मद सबिरले बलात्कार गरेको प्रहरी प्रतिवेदनमा छ।

 यी दुवै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। परिवारका सदस्यबाटै भएका घटना बाहिर आउने डरले बलात्कारपछि हत्याको दर बढेको प्रहरी बताउँछ। महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटाले बालिका संरक्षणका लागि परिवार, समाजले निरन्तर आवाज उठाउनुपर्ने बताइन्। छोरी बचाउन तीनै तहका सरकारले विशेष अभियान चलाउन उनले जोड दिइन्।

आरोपित किशोर बढी

बालिका बलात्कारका घटनामा संलग्नमध्ये अधिकांश किशोर छन्। आरोपितमध्ये यस वर्ष ६२ जना किशोर यौन दुव्र्यवहारका पीडक रहेका सप्तरी प्रहरी बताउँछ।आरोपितमध्ये ७ जना १६ वर्षमुनिका छन् भने २४ जना १८ देखि २२ वर्षका। बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका १० जना आरोपित पनि १८ वर्ष मुनिका रहेका प्रहरीको तथ्यांकले देखाएको छ। बालिका बलात्कारका आरोपितमध्ये १७ जना पुर्पक्षमा र २ जना हालै पक्राउ परेका छन्। ३ आरोपित जिल्ला अदालतको र एक जना उच्च अदालत राजविराज इजलासको आदेशमा रिहा भएका छन्। एक आरोपित धरौटी राखी तारेखमा रिहा भएका छन्।

पक्राउ पर्न नसकेका सात जनाविरुद्ध मुद्दा दर्ता बाँकी छ। पक्राउ नपरेका अन्य ११ जनाविरुद्ध जिल्ला अदालतले वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए। बलात्कारको घटनामा आरोपित १२ वर्षीय एक बालक संरक्षकको जिम्मामा तथा १२ र १३ बर्से दुई बालकलाई कैद सजाय गरी कैद स्थगनको फैसला गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले जानकारी दिए।

जिल्ला अदालतको तथ्यांकअनुसार यो वर्ष बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका १७ आरोपितमध्ये एक जनालाई कैद सुनाइएको छ भने ५ जना पुर्पक्षका लागि थुनामा छन्। त्यस्तै ३ जना बालसुधार गृहमा छन्। ३ जना धरौटीमा रिहा भएका छन् भने २ जना फरार छन्। एक जनाविरुद्ध वारेन्ट जारी भएको छ, एक १३ बर्से बालकलाई संरक्षकको जिम्मा लगाइएको छ भने एक जना हालै गिरफ्तार भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.