आफ्नै वेश, आफ्नै शान : फोटोमा हेर्नुस् ल्होछारको रौनक
काठमाडौं : आज धुमधामका साथ ल्होछार पर्व मनाउँदै छन्। यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्त्व बोकेको छ। तर ल्होछार मान्ने जाति र समुदायमा भने एकरूपता नभई फरक–फरक समय र नामले ल्होछार पर्व मनाउँदै आएका छन्। तीमध्ये गुरुङ जातिले पुस १५ गतेको दिन ‘तमु ल्होछार’ मनाउँछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन ‘सोनाम ल्होछार’ मनाउँदै आएका छन्।
हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ‘ग्याल्बो ल्होछार’ मनाउँछन्। तमु ल्होछार गुरुङ जातिको मूख्य पर्व हो। ल्होछार शब्द ल्हो+छार मिलेर बनेको हो, जसको शाब्दिक अर्थ केलाउँदा तमु भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो।
यसलाई नयाँ वर्ष फेरिने दिन तथा नयाँ वर्षको रूपमा हेरिन्छ। यही ल्होछार शब्दलाई तिब्बती भाषामा ‘ल्होसार’ भनिन्छ। त्यसैले नेपालमा पनि तिब्बती भाषाको निकट रहेको शेर्पा जातिले ल्होछारलाई ल्होसार नै भन्छ। अन्य जातिले पनि हिजोआज ल्होछारलाई कतै ल्होछार त कतै ल्होसार भनेको पाइन्छ। ल्होछार र ल्होसार जे भने पनि यसको अर्थ नयाँ वर्ष नै हो।
तमु ची (ज्योतिषशास्त्र) अनुसार एउटा ल्होकोर (वर्ष चक्र) मा १२ वटा वर्षहरू हुन्छन्। तिनलाई विभिन्न पशुपक्षी र जीवजन्तुहरूको नामबाट नामाकरण गरिएको हुन्छ। यही ल्होकोरका अनुसार गुरुङहरूले तमु ल्होछार प्रत्येक वर्षको पुस १५ मा मनाउँछन्।
यस दिनमा चालु वर्षको अन्त्य र नयाँ वर्षको सुरुवात भएको हुन्छ। अहिले चालु वर्ष कुकुर वर्ष हो भने अब आउने मृग वर्ष हो। यसै दिनलाई गुरुङहरू चालु वर्षलाई बिदाइ र नयाँ वर्षको आगमनलाई स्वागत गर्दै तमु ल्होछार मनाउँछन्।
आजको दिन तमुहरू आपासमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएकोे पहेंलो धागो) गाँठो पारेर लगाउँछन्। साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन्। यही ल्होछार अवसरमा राजधानीमा मनाउँदै तमुहरू।
फोटोमा हेर्नुस् :