सुक्यो सुन्तलाको बगैंचा
ताप्लेजुङ : फुङलिङ नगरपालिका–८ को कोदारगाउँका इन्द्र सुनुवार घरनजिकैको सुन्तलाबारी हेर्दा विरक्त लागेको अनुभव सुनाउँछन्। केही वर्षअघि यतिबेला लटरम्म सुन्तला फल्ने बोटमा झिक्राबाहेक छैन। कोदार गाउँ सुन्तलाका लागि चर्चित थियो। कोदारगाउँको नाम त छ तर सुन्तलाको परिचय बिस्तारै गुम्दै गएको छ। सुनावरझै अरु किसानलाई पनि सुन्तला नफल्दाको चिन्ताले सताएको छ।
सुन्तला खान आसपासका गाउँबाट मानिस पुग्थे। मेची राजमार्गले दुवैतर्फबाट बीचमा पारेको पारिलो ठाउँमा फलेका रसिला सुन्तला जिल्लामै नामि थिए। गाउँ चिनाउने सुन्तलाका बोट सुकेर मर्दैछन्। चार वर्षयता बाँचेका बोटमा पनि फल लाग्न छोडेको छ। ‘यहाँ पनि सुन्तला फल्थ्यो र ! भन्ने अवस्था आयो,’ केही वर्षअघिसम्म लटरम्म फल्ने बोट देखाउँदै सुनुवार भन्छन्, ‘कोदारगाउँमा सुन्तला फल्ने कुरा कथामै सीमित हुने भयो।’ इन्द्रका बगानमा रहेका दुई सय ५० भन्दा बढी बोटमध्ये अधिकांश मरिसकेका छन्। ‘यसपालि १०–१२ बोटमा अलिअलि मसिना दाना फले, त्यही पनि खाइनसक्नु अमिला छन्’, इन्द्रले भने।
डोकाभरी सुन्तला बोकेर फुङलिङ बजार जाने स्थानीय मनकुमारी सुनुवार दिनचर्या पनि बदलिएको सुनाउछिन्। ‘१५ वर्षभन्दा बढी समय तोक्मेडाँडामा लगेर सुन्तला बेचें,’ मनकुमारी भन्छिन्,‘मलाई बुढेसकालले छोएसँगै सुन्तला पनि मरेर गए।’ कातिकदेखि वैशाखसम्म खेताला खोजेरै सुन्तला बोकाएर बजार लगेको उनी सम्झन्छिन्। भन्छिन्,‘उबेला फुङलिङ बजारमा कोदारगाउँदेखि बाहेक अरु ठाउँको सुन्तला आउँदैनथ्यो, कातिकबाटै टिप्न सुरु गरिन्थ्यो, पुससम्ममा बोटबाट टिपी सकेर परालभित्र राख्ने चलन थियो र त्यो बेचिसक्न वैशाखसम्म लाग्थ्यो, अब त सम्झना मात्रै रह्यो।’ सुन्तला बेचेरै घर व्यवहार चलाइ जग्गा जमिनसमेत जोडिन्। बगानका चार सय बढी बोटमध्ये यसवर्षमात्रै ५० वटा जति सुकेका सुन्तलाबाट बोट काटेर दाउरा बालेको मनकुमारीले बताइन्।
कोदारगाउँकै कृष्ण बरालका बगानमा पनि तीन सय हाराहारी सुन्तलाका बोट छन्। ती मध्ये आधा बोटमा फल लाग्न छोडेको दुई वर्ष भयो। ‘उत्तरतर्फ फर्केका बोटमा अलिअलि फल्दैछन्’, बरालले भने,‘दक्षिण फर्केका बोट सुकेर उराठलाग्दा छन्।’ बुढेसकालमा बसेर खान पाइन्छ भनेर रोपेका सुन्तलाले निरास बनाएपछि अब गाउँनै छाडेर हिड्ने अवस्थामा पुगेको बरालको भनाइ छ।
ताप्लेजुङका मेदिबुङ, तारिबुङ, तेल्लाबुङ, चाँगे सुन्तला बढी फल्ने क्षेत्र हुन्।
२०१७ सालमा पहिलोपल्ट कृष्णका बुबा मनरथ बरालले सुन्तला ल्याएर रोपेका बताइन्छ। त्यहींबाट गाउँमा फैलिएको स्थानीय भनाइ छ। यहाँका कृषकले व्यावसायिक रूपमा भने २०४२ सालदेखि सुन्तलाखेती सुरु गरेका हुन्। कृष्णले २०४५ सालमा ५६ हजारको सुन्तला बेचेका थिए। झापा, सुनसरीलगायत तराईका जिल्लाबाट व्यापारी सुन्तला खरिद गर्न आउँथे। ट्रकमा लोड गरेर लैजान्थे। ‘बजारको कुनै समस्या थिएन, नजिकै सदरमुकाम भएकाले अधिकांश त्यही बिक्री हुन्थ्यो’, कृष्ण सम्झन्छन्,‘धेरै फलेको साल स्थानीय बजारमा खपत नभए बाहिरका व्यापारीलाई झिकाउँथ्यौ, कातिकदेखि पुससम्म त गाउँ नै पँहेलपुर देखिन्थ्यो।’ २०७० सालयता यहाँका कृषकले नयाँ बिरुवा नै रोपेका छैनन्। ‘नहुने रहेछ भनेर छोडेँ’, स्थानीय अमर सुनुवारले भने। उनका अनुसार सुरुमा पुप्पोबाट पात पहेंलो हुने र विस्तारै झर्ने गरेको छ। दुई वर्षसम्म त्यस्तो समस्या भएपछि बोट नै मर्ने गरेको अमरले बताए। उनले भने, ‘पुराना बोट मात्रै होइन, नयाँमा पनि त्यही समस्या देखियो, कुनै बोटमा पातलो फले पनि समयमा नपाक्ने र अमिलो हुने अर्को समस्या छ।’
मौसम परिवर्तनकै कारण सुन्तला मासिँदै भएको कृषकको अनुमान छ। पहिले फल्ने ठाउँमा नफल्ने र त्योभन्दा माथिल्लो उचाईमा फल्न थालेको कृष्ण बराल बताउँछन्। ‘यहाँका मरेर सकिए, पहिले नफल्ने माथिल्लो गाउँ नाम्लेपाटी, चारपाटे र सुकेटारसम्मै पनि अहिले फल्न थालेको छ’, उनले भने। कृषकले नियमित हेरचाह नगरेर सुन्तलामा समस्या आएको विज्ञको दाबी छ। ‘सुन्तलालाई नियमित मल लगाउने, सिँचाइ गर्ने गर्नुपर्छ’, सुन्तला विज्ञसमेत रहेका राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाका प्रमुख हरिकृष्ण श्रेष्ठ भन्छन्,‘मल र खाद्यतत्व नपुगेर यस्तो समस्या आएको हुनसक्छ।’ श्रेष्ठका अनुसार यो एक प्रकारको मरुवा रोग (सिड्रस डिप्लाइन) हो। माटोको खाद्य तत्व सकिँदै गएपछि यस्तो समस्या देखापर्छ। ताप्लेजुङमा मात्रै नभइ लमजुङ, कास्की जस्ता सुन्तला बढी फल्ने जिल्लामा पनि मरुवा रोगको समस्या रहेको श्रेष्ठले बताए।
भण्डारण गर्ने ठाउँ छैन
सुन्तलामा यस्तो समस्या भयो भनेर राख्ने ठाउँसमेत कृषकले पाएका छैनन्। पहिले समस्या पर्दा मनकुमारीले कृषि कार्यालयमा गएर सुनाउँथिन्। ‘कृषिका सर घरमै आएर सल्लाह सुझाव दिनुहुन्थ्यो’, मनकुमारी भन्छिन्,‘अहिले त्यो कार्यालय पनि रहेनछ, यस्तो भयो भन्दै कहाँ जानु ? ’ मुलुकमा तीन तहको सरकार भए पनि कृषकका लागि सरकार नै छैन जस्तो आभास भएको कृष्ण बताउँछन्। भन्छन्,‘टाढाको सरकारले त देखेन, यहींको स्थानीय सरकारको पनि कृषकलाई हेर्ने आँखा बन्द भएछ।’
तत्कालीन जिल्ला कृषि विकास कार्यालयद्वारा प्रकाशित पुस्तकमा आठ सय देखि १५ सय मिटर उचाइसम्म सुन्तला फल्ने उल्लेख छ। सोही पुस्तक अनुसार १६ सय ५० हेक्टर क्षेत्रफलमा लगाइने सुन्तला नौ हजार नौ सय टनसम्म उत्पादन हुँदै आएको छ। ताप्लेजुङका मेदिबुङ, तारिबुङ, तेल्लाबुङ, चाँगे सुन्तला बढी फल्ने क्षेत्र हुन्।
विकल्प खोज्दै किसान
सुन्तला फल्न छोडेपछि यहाँका केही कृषक विकल्पको खोजी गर्न थालेका छन्। केरा, लिची, आँप जस्ता औलमा फल्ने बाली लगाउन सुरु गरेको कृषक इन्द्रले बताए। बाँकी रहेको जमिनमा उन्नत घाँस रोप्ने र बोयर जातको बढी आम्दानी दिने बाख्रापालन गर्ने योजना उनको छ। मान्छे खोजेरै तरकारीखेती गर्न लगाउने सोचमा रहेको कृष्ण बराल बताउँछन्।