ताप्लेजुङको तापेथोक बगरमा आगलागी, ३ घर जले
ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोक बगरमा आगलागी भएको छ। शनिबार साँझ ५ बजे लागेको आगोले ३ वटा घर जलाएको हो।
प्रहरी र स्थानीयको सक्रियतामा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको स्थानीय रोसन ताप्मादेनले टेलिफोनमा जानकारी दिए। ताप्मादेनका अनुसार नजिकमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको चेकपोष्ट र स्वास्थ्य चौकीको भवन भने आयोबाट बनेको छ।
आगलागी भएको एउटा घरमा ठूलो पसल र गोदाम थियो भने अर्कोमा गाउँपालिका तथा बैंकका कर्मचारी बस्ने कोठा थियो। एक्कासी आगो लागेकाले घरबाट कुनै पनि सामान निकाल्न नसकिएको स्थानीय सर्मिला ताप्मादेनले बताइन्।
आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। आगलागी भएको स्थान फक्ताङलुङ गाउँपालिकाकै ठूलो व्यापारिक केन्द्र हो। गाउँपालिकाका कर्मचारी, लेलेप, ओलाङलुङगोला, हेल्लोक र इखाबुका यात्रु र कञ्चनजंघा हिमाल जाने पर्यटक बस्ने केन्द्र समेत यस बजारलाई मानिन्छ।