जाडो छल्न गएनन् घुन्सावासी

जाडो छल्न गएनन् घुन्सावासी

ताप्लेजुङ : हिमालको फेदमा पर्ने घुन्साका तेन्जिङ शेर्पा विगतमा हिउँद लागेसँगै गाउँ छाड्ने सुरसार गर्थे। घरका सरसामान थन्क्याउँथे। ढोकामा ताला ठोक्थे। पशु–चौपाया र परिवारसहित मंसिर पहिलो साता नै जाडो छल्न उनी फलेमा झर्थे। फले घुन्सानजिकको चिसो कम हुने गाउँ हो।

अर्का नुपु शेर्पाको परिवार पनि यति बेला फलेमा झरिसकेका हुन्थे। चार वर्षअघि प्रत्येक घरमा ताला लागेको हुन्थ्यो। जाडो सुरु हुनासाथ बस्ती नै सुनसान बन्थ्यो। तर, तेन्जिङ र नुपुसहित अधिकांश घुन्सावासी यस वर्ष गाउँमै छन्। स्थानीयले प्रत्येक वर्ष हिउँदमा चिसो छल्न घुन्सा छाड्थे।

चिसो कम हुने ठाउँतिर झर्नुलाई कविला झरेको भन्ने चलन छ। ‘चिसो छल्नकै लागि यो वर्ष कोही बाहिर गएका छैनौं’, नुपुले भने, ‘आफन्तसँग भेटघाट र घुमफिरका लागि गएका केहीबाहेक सबै गाउँमै छौं।’ हिमाली बस्तीमा मौसमको भर नहुने भएकाले सचेत भएर बसेको उनले सुनाए। ‘हिमालको फेदमा जोखिम मोलेरै बस्ने निधो गर्‍यौं’, उनले भने, ‘ठूलो हिमपात हुन सक्छ, त्यसैले खाद्यान्न, कपडा र पशु–चौपायाका लागि राम्रै व्यवस्था गरिएको छ।’

घुन्सा फक्ताङलुङ गाउँपालिका–६ मा पर्छ। यो ३ हजार १ सय मिटर उचाइमा रहेको पर्यटकीय गाउँ हो। वरिपरि डाँडा छ, बीचमा गाउँ। कञ्चनजंघा हिमाल जाने पदमार्गले छोएको छ। हिमाल आरोहण गर्न र आधारशिविर घुम्न जाने पर्यटकको उपस्थितिले अरू बेला बाक्लै चहलपहल हुन्छ। यहाँ ६१ वटा घर छन्। जसमा ३२ परिवार र प्रहरी बस्छन्। हिउँदमा सबै हिँडेपछि बन्द हुने स्वास्थ्य चौकीमा पनि कर्मचारी बस्न थालेका छन्। ‘हिउँ बाक्लै पर्ने, पर्यटक नआउने र विद्यालयसमेत बिदा हुने भएकाले गाउँमा बस्न सकिँदैनथ्यो’, तेन्जिङले भने, ‘पछिल्लो वर्ष हिउँ कम पर्न थालेको हुँदा चिसो थेग्न थाल्यौं।’

च्युमे शेर्पा, हिमाली चुङदा, एलएन प्रसाईं, ङिमा शेर्पा र टासी तेन्जिङका परिवार मात्र बाहिरिएका छन्। डण्डु शेर्पा आफन्त भेट्न भन्दै काठमाडौं गएका छन्। ‘चिसो छल्न हिँडेको होइन’, उनले भने। स्थानीयले अरू समय पर्यटकको चाप हुने भएकाले यो समय घुमफिरका रूपमा सदुपयोग गर्ने गरेका छन्। गाउँमा सडक पुगेको छैन। गाउँपालिका केन्द्र तापेथोकबाट सदरमुकाम फुङलिङसम्म गाडी चल्छन्। सदरमुकाम पुग्न तीन दिन लाग्छ।

चार वर्षअघि गाउँमा प्रहरी मात्र थिए। २०७३ कोे हिउँदमा आधाभन्दा बढी परिवारले गाउँ छाडेको च्युमेको भनाइ छ। ‘चिसो थेग्न सकिन्छ कि सकिँदैन भनेर परीक्षणकै लागि आधा मान्छे गाउँमै बस्ने निर्णय भएको थियो’, उनले सम्झिए, ‘गाउँ नछाडेकालाई समस्या नभएपछि चिसोमा पनि घुन्सामै बस्ने निर्णय ग¥यौं।’ स्थानीय हिमाली चुङ्दाका अुनसार एक दशकयता हिउ“ कम पर्न थालेको छ। ‘पहिले गाउँ नै छोप्ने गरी हिउ“ पथ्र्यो’, उनले भने, ‘पछिल्ला वर्ष त्यति धेरै परेको छैन।’

फले लेक भए पनि पारिलो गाउँ हो। त्यहाँ तिब्बती शरणार्थीको बसोबास छ। त्यहाँको खाली जमिनमा घुन्साका प्रत्येकले टहरा बनाएका छन्। चिसो छल्न झरेपछि घुन्सावासी फागुन दोस्रो साता फर्किन्थे। हिउँदमा घुन्सामा घाम देख्नै मुस्किल पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.