ढाेंगी बाबाकाे यथार्थ कथा,'जय श्री दाम'

ढाेंगी बाबाकाे यथार्थ कथा,'जय श्री दाम'

‘धन सम्पती, माया मोह परिवार भन्नु सबै भ्रम हो। सुखका लागि त भगवान्को साधना गर्नुपर्छ। गुरुहरुलाई दान दिनुपर्छ’ एउटा अतिविशिष्ट आश्रममा बसेर बिजोगी बाबा प्रवचन दिइरहेका छन्। 

एक जोडी युवायुवती कतै घुम्न निस्किएका छन्। युवती लगातार बमिट गरिरहन्छे। युवक उसलाई सम्हाल्ने कोसिसमा छ। युवतीलाई के भएको हो उसलाई थाहा हुँदैन। युवतीले आफू आमा बन्न लागेको जानकारी दिन्छे। अल्लारे उमेरका उनीहरु अविवाहित छन्। युवती आमा बन्ने भएपछि युवक ‘कमल’ लाई विवाह गर्ने दवाव दिन्छे। 

शुक्रबारदेखि एकैपटक ५० हलमा प्रदर्शनमा आएको फिल्म ‘जय श्री दाम’को सुरुवाती दृष्य हो यो। नेपाली फिल्ममा देखिँदै आएको कथाभन्दा थोरै फरक प्रस्तुति पस्कने होडमा फिल्म निर्माता टोली लागिपरेको छ। 

मानिसले आफूले मान्दै आएको धर्म र संस्कृतिलाई अत्यन्तै सम्मान गर्छन्। धार्मिक गुरुहरुप्रति पनि श्रद्धा र विश्वास राख्छन्। तर धर्मकै नाममा विभिन्न अपराधहरु पनि समाजका घटेको देखिन्छ। यो फिल्ममा धर्मको नाममा गलत कार्य गर्ने, युवतीहरुलाई यौन हिंसा गर्ने ‘विजोगी बाबा’ को ढोंगी चरित्र  देखाउन खोजिएको छ। 

रंगमञ्चमा लामो समय अभिनय गरेका र दर्जनौ नाटक निर्देशन पनि गरेका  कलाकार राजन खतिवडा विजोगी बाबाको भूमिकामा छन्। उनले बाबाजीको रवाफिलो भूमिकामा गरेको अभिनय बास्तवमै प्रशंसा योग्य छ। उनको अभिनयमा दर्शकले फरक स्वाद भेट्छन्। धर्मलाई मानिसले कसरी गलत प्रयोग गरेर आफूअनुकुल व्याख्या गर्न सक्छ भन्ने बुझ्न सक्छन्। 

पैसा कमाउनको लागि कमल गाउँबाट भागेर सहर पस्छ। आफ्नी प्रेमीकालाई तत्कालै विवाह गर्नुपर्ने बाध्यता छ उसलाई। बाटोमा उसले एउटा कच्याककुचुक भएर फुटेको मोबाइल भेट्छ। उक्त मोबाइले झोलामा राखेर लैजान्छ।  आफन्तको कोठा खोज्दै काठमाडाैँमा भौतारिएको कमलले भेट बेराेजगार जीवसँग हुन्छ।

जीवनले जिन्दगी चलाउनको लागि कहिले अरुसँग ऋण लिएको हुन्छ त कहिले युवाहरुलाई बिदेश पठाउने काम गर्छ। उसैले कमलको लागि कोठा र होटलमा भुईँ पुछ्ने काम खोजिदिन्छ। उनीहरुको छेउमै छ बिजोगी बाबाको आश्रम। 

आश्रममा बाबाजी हरेक दिन प्रवचन दिन्छन्। ‘माया ममता र परिवार भनेको भ्रम हो। बाबालाई दान गर्यो‍ भने सुख प्राप्त हुन्छ’ बिजोगीले दानमा जोड दिँदै अनेकलाई भ्रम छर्न सफल भएका छन्। 

पुलिसका अफिसरदेखि समाजका गन्ने मान्ने, गरिब दुःखी सबै बाबाको भक्त हुन्छन्। घरघरमा बाबाजीकोे फोटो टासेर पुजा गर्छन्। महिलाहरुले विशेष श्रद्धा गर्छन् बाबाजीलाई। बाबाजीले दानकै माध्यमबाट अनगिन्ती पैसा कमाएका छन्। बाहिर धर्मात्मा देखिने बाबाको चरित्र भने गलत छ। 

उनी बन्दुक बोकेर हिँड्छन्। पैसा कमाउन जस्तो सुकै कुकर्म पनि गर्छन्। आफ्ना बिरोधीलाई मारिदिन्छन्। रातदिन युवतीसँगको यौनसम्बन्धमा लिप्त देखिन्छन् उनी। आफ्नै आश्रमकी सेविका आशा डंगोललाई बलात्कारपछि हत्या गरेर फालिदिन्छन्। 

आशा डंगोलको हत्या प्रहरी प्रशासनको लागि टाउको दुखाइको विषय बनेको छ। उता कमलले बाटोमा भेटाएको मोबाइल आशा डंगोलको हुन्छ। जहाँ बाबाजीले उनलाई गरेको कर्तुतकाे भिडियो पनि छ। 

यो भिडियो देखाएर कमल र जीवनले बाबाजीसँग बीस लाख माग्छन्। उनीहरुले आफ्नो गरिबीले निम्त्याएको समस्या हटाउन भिडियोको दुरुपयोग गर्छन्। अनेक हण्डर,ठक्करका बीच उनीहरु पैसा पाउन सफल हुन्छन्। यस्तै घटनाक्रम बीच चलचित्र ‘ जय श्री दाम’ अगाडि बढेको छ। विभिन्न दृष्यहरुलाई देखाउन बिचबिचमा उपकथाहरु पनि जोडिएको छ। 

बाबाजीलाई धम्काएर पैसा हात पार्न जीवन र कमलले गरेको संघर्ष र दुखका दृष्य हेर्न लायकको छ। समग्ररुपमा फिल्म मध्यमस्तरको छ। नेपाली फिल्ममा प्रयोग हुँदै आएको कमेडीमा केही फरक प्रस्तुति देख्न पाइन्छ। 

लिटिल बुद्दको नामले चिनिएका रामबहादुर बमजमको आश्रममा अनेक आनीहरुलाई यौनशोषण गरेर मारेको आरोप लागेको घटना चर्चामा छ। छिमेकी देश भारतमा पनि बेलाबेलामा धार्मिक गुरुहरुले यौनशोषण गरेको खबर सुनिँदै आएको छ। यस्तै एउटा प्रतिनिधि घटनालाई चित्रण गर्न फिल्म सफल भएको छ। नेपाली फिल्ममा एक फरक कथा पस्कने कोसिससहितको ‘जय श्री दाम’ चलचित्र कम लगानीमा बनेको हो। 

फिल्ममा कलाकारहरुको अभिनय सशक्त नै छ। केहि दृष्यहरु अशोभनीय देखिन्छ। कथालाई अगाडि बढाउने क्रममा पात्रहरुको संवाद र घटनाहरुको तालमेल राम्रोसँग हुन सकेको छैन। पुलिस र बाबाजीको  हत्याराबीचको भागदौड अनावश्यक लामो देखिन्छ। केहि कमजोरीका बीचमा पनि फिल्मले दर्शकलाई तानेर राख्छ। बेरोजगार युवाहरुको मनोदशालाई समेट्न फिल्म सफल भएको छ। पहिलो पटक कामको खोजीमा सहर पस्ने हरेक युवाको प्रतिनिधित्व कमलले गरेको छ। 

विप्लव उप्रेतीको निर्देशनमा बनेको फिल्ममा जेबिका कार्की, अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, विष्णु सापकोटालगायत लिड रोलमा छन्।
लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका मित्र डी गुरुङ यो फिल्मबाट निर्माता बनेका छन्। मित्रसँगै सिनेमाटोग्राफर रविन आचार्य पनि सहनिर्माता छन्।

निर्देशक उप्रेतीसँगै अमरद्वीप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा संगीत सुशान्त गौतमको छ। नेसनल मिडिया प्रोडक्सन, मंकी टेम्पल प्रोडक्सन र क्रेजी ह्यान्डस् प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता पृथ्वी उप्रेती र मनोज उप्रेती छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.