औपचारिकताका नाममा फजुल खर्च

औपचारिकताका नाममा फजुल खर्च

एकपटक गम्भीर भएर सोचौं त। कुनैै पनि कार्यक्रम उद्घाटन गर्न प्रमुख अतिथिलाई कति घन्टा कुर्ने गरेका छौं ? संघसंस्थाहरूको मिटिङ हुँदा गणपूरक संख्या नपुगेर पछाडि सारिएका छन् ? सानो कार्यक्रम गर्दा पनि ठूलो र चर्चित स्थान अनि भीआईपी प्रमुख अतिथि खोज्दा लागत के–कति लागेको छ ? कतिवटा कार्यक्रमको उपलब्धि स्वागत, आसन ग्रहण र चियापान मात्र भएको छ ? उपलब्धि जिरो भएर पनि स्वागत सत्कारमै हिरो हुनेहरूको जमात कति छ ? जति खोतल्दै जान्छौं उति भेटिन्छन् यस्ता तमाम प्रश्नहरू।

फलानो भीआईपीको स्वागतमा तीन सय केजीको माला ! कठै बरा ६० केजीको मान्छेले तीन सय केजीको माला कसरी लगाउने हो ? किन सोच्दैनौं हामी त्यो माला बनाउने फूल कुन देशबाट कति पैसा तिरेर आउने हो ? चर्चा कमाउनकै लागि किन गरिन्छ, यस्तो फजुल खर्च ?

विशिष्ट तहका जुनसुकै क्षेत्रका व्यक्तिलाई नियुक्ति, बढुवा, सरुवा र बिदाइमा धानिनसक्नुको सत्कार, सम्मान गरिन्छ। एउटै गलामा १५ रुपैयाँदेखि पाँच हजार रुपैयाभन्दा बढीका खादा ओढाइन्छ। एकपटक घाँटीमा भरिएपछि निकालेर आफ्ना सहयोगीलाई बोक्न लगाइन्छ। घाँटी खाली हुन नपाउँदै पुन लगातार लगाइरहन्छ। फेरि अरू नयाँनयाँ खादाले घाँटी भरिन्छ। कसलाई के भन्ने खै ? लाउनेले लाएकै छ, लगाइदिनेले लगाइदिएकै छ। विचित्रको छ हाम्रो रहर, सोच, चिन्तन र मान्यता। पसलमा उधारो खादा मागेर विशिष्ट भनाउँदाको सम्मान गर्छौँ। दिनहुँ प्रयोग हुने सबैखाले खादा कहींकतै प्रयोगमा आउँदैन। यसको उपयोगिता मूल्य शूून्य भए पनि प्रयोग भने दिनहुँ बढिरहेको छ।

आर्थिक प्रगतिका लागि खर्चभन्दा आम्दानी बढी हुनुपर्छ। मुलुकको समृृद्धिका लागि आयातभन्दा बढी निर्यात गर्न सक्नुपर्छ। मेहनत नगर्ने, परि श्रम नगर्ने अनि मीठो, चोखो खानकै लागि ऋण खोज्ने वा लाजै नमानी हात थाप्ने प्रवृत्तिले कसैको पनि प्रगति हुन सक्दैन। हामी नेपालीका काम, कुरा, संस्कार, पद्धति र परम्परा बढी मात्रामा औपचारिकतामा अल्झिएका छन्। यसले अनावश्यक फजुल खर्च बढाएको छ। जतिसुकै खर्च गरेर पनि किन्न नमिल्ने समयको बर्बाद भएको छ।

कुनै विशेष कार्यक्रम, सेमीनार, गोष्ठीहरूको आयोजना गर्दा विषयमा केन्द्रित नभई औपचारिकतामा नै घोत्लिने गर्छौं। अध्यक्ष कसलाई बनाउने ? प्रमुख अतिथि कुनलाई बोलाउने ? ब्याज, खादा र माला कति ल्याउने ? शुभकामना मन्तव्य सबै दलका प्रतिनिधिलाई दिने कि नदिने ? यस्तैयस्तै प्रश्नहरूमा केन्द्रित हुन्छन् हाम्रा धेरै कार्यक्रम।

दस बजे सुरु गर्ने कार्यक्रममा प्रमुख अतिथिलाई कुर्दाकुर्दा चारपाँच घन्टा ढिलो हुन्छ। बोल्ने वक्ताहरूले विषयवस्तुमा केन्द्रित भएर कुरा राख्न सक्दैनन्। जुन दलबाट वा जुन संघसंस्थाको प्रतिनिधि भएर आएका हुन्छन्, तिनै दल र संघसंस्थाका कामकुरा मिलेसम्म धेरै बताएर उत्कृष्ट वक्ता बन्न खोज्ने परिपाटी छ। कार्यक्रमपछिको उपलब्धि के–कस्तो भयो, कति भयो भनेर यथार्थ मूल्यांकन गर्ने गरिँदैन। उद्देश्य र उपलब्धिविना बजेट खर्च गर्नकै लागि कार्यक्रम गर्ने परिपाटी छ। चाहे सरकारी होस् वा गैरसरकारी उपलब्धि हासिल गर्न नयाँ ढंगले काम गर्नुको सट्टा औपचारिकता निभाउने नाममा फजुल खर्च गर्ने गर्छन्। सूचना र सञ्चार प्रविधिको विकासले गति लिन थालिसक्दा पनि बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटी अन्त्य हुन सकेको छैन।

आफ्नो देशको आर्थिक अवस्था हेरेर, आफ्नो घरको आर्थिक अवस्थाको मूल्यांकन गरेर मात्र त्यहीअनुसारको खर्च गर्न सक्नुपर्छ। अरूलाई देखाउन सकिनसकी ऋण खोजेर खर्च गर्ने प्रवृत्ति सबैले छोड्न जरुरी छ।

एउटा फूलको थुंगाले गर्ने स्वागत र तीन सय किलोको फूलको मालाले गर्ने स्वागतमा अन्तर के होला ? अनावश्यक खर्च गरेर सामान्य कामकुराको चर्चा–परिचर्चा ठूला–ठूला पोस्टरहरूमा टाँस्नुले उपलब्धि कति मिल्ला ? दस औंला जोडेर नमस्कार गर्नुको आदर–सत्कार छोडी तँछाडमछाड भीडभित्र पसेर महँगो खादा ओढाउँदा आधुनिक भइने हो र ? जुनसुकै कार्यक्रममा श्रोता, दर्शक, सहभागीभन्दा मञ्चतिर नै अतिथि बढी हुनुको प्रमुख कारण के होला ? जति सोच्दै जान्छौं उति प्रश्न नै प्रश्न जन्मन्छ हाम्रो मस्तिष्कमा।

केही काम गर्ने सवालमा, केही उपलब्धि हासिल गर्नुभन्दा पहिला त्यसका लागि बल्लबल्ल प्राप्त गरेको रकम स्वागतका लागि ब्याज, फूलमाला र खादामै खर्च गर्ने बानी धेरैमा छ। जे कामका लागि ल्याइएको बजेट हो, नितान्त त्यही काममा खर्च गर्न किन सक्दैनौं हामी ? अब पनि नगरे कहिले गर्ने ? आजका मानिस जतिसुकै आधुनिक भए पनि हाम्रा सोच, विचार, चिन्तन र संस्कार भने आधुनिक बन्न सकेको छैन। विवाह, व्रतबन्ध, जन्मदिनलगायतका अन्य पर्वमा एक दिनको इज्जत राख्ने सवालमा थुप्रै खर्च गरिरहेका हुन्छौं। यसले सम्पन्न वर्गलाई त केही अप्ठ्यारो नपार्ला, तर गाँसवासकै समस्यामा पिरोलिनेहरूको त ढाड नै सेक्ने गरेको छ।

एक दिनको मान र सम्मान भन्दाभन्दै दाइजो प्रथाले पनि वि श्राम लिनुको सट्टा झन् उचाइ प्राप्त गरेको छ। बिहेमा दिने दाइजो भएजस्तै अन्य पार्टीमा पनि त्यहीअनुसारको गिफ्ट आइटमले हाम्रो मन र मस्तिष्कमा घर बनाउँदै जान थालेको छ। जसले बढी अनावश्यक फजुल खर्च गर्न सक्छ, उसैलाई निकै आदर र सत्कार गर्ने गरिन्छ। यसैको कारणले सबैमा एकैपटक धनी बन्ने चाहना बढाएको छ। भ्रष्टाचारलाई संस्थागत मान्यता दिन हामी नै अगाडि परिरहेका छौं।

अबको समय उपलब्धिको हुनुपर्छ। परिणाममुखी, नतिजामूलक, गुणात्मक विशिष्टताले भरिपूर्ण कार्यक्रम बनाउन सक्नुपर्छ। औपचारिकताका नाममा हुने गरेका सबै किसिमका फजुल खर्चहरू रोक्न सबैले अभियान नै चलाउनुपर्ने हुन्छ। अतिथि सत्कार, आसन ग्रहणमा नै अमूल्य समयको बर्बाद गर्नुहुन्न। जे–कार्यक्रम हो, त्यसमै केन्द्रित हुनुपर्छ। सम्बन्धित विषयका जानकार र विशेषज्ञहरूलाई बोल्ने समय दिनुपर्छ। सम्बन्धित विषयवस्तुमा बोल्न नसक्नेलाई ठूलाबडा भन्दै वक्ताका रूपमा राख्न जरुरी छैन।

एउटा राम्रो कोष खडा गर्दैमा र एउटा राम्रो ऐन, कानुन बनाउँदैमा नयाँ युगको सुरुवात भन्दै भित्ता र खम्बाहरू पोस्टरले रंगाउन जरुरी छैन। काम केही नगर्ने औपचारिकतामै चिल्लो घसेर नाम कमाउने चलन अन्त्य हुनुपर्छ। रित्तो आनेमा हात पुछेर खान्दानी हुँ भन्ने चलन अन्त्य गर्न सक्नुपर्छ। आफ्नो देशको आर्थिक अवस्था हेरेर, आफ्नो घरको आर्थिक अवस्थाको मूल्यांकन गरेर मात्र त्यहीअनुसारको खर्च गर्न सक्नुपर्छ। अरूलाई देखाउन सकिनसकी ऋण खोजेर खर्च गर्ने प्रवृत्ति सबैले छोड्न जरुरी छ।

मेचको प्रयोजन आरामसँग बस्नका लागि हो। महँगो मेचमा बसेर ठूलो मान्छे भइन्छ, गतिलो मान्छे भइन्छ भन्ने सोच छोड्न जरुरी छ। हाम्रा आलिशान महल र निकै महँगा सामान प्रयोग गर्ने रहरले कुनै दिन नामी भ्रष्टाचारीमा पर्न नपरोस्। हामीले गरेका नराम्रा कामले गर्दा आफ्नै सन्तानले धिक्कार्न नपरोस्। भोजनभन्दा भोक मीठो र बिछ्यौनाभन्दा निद्रा राम्रो हो भन्ने बुझ्नु र बुझाउनु जरुरी छ। औपचारिकताका नाममा हुने फजुल खर्चबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.